स्थानिय सरकारको बजेट बिहीबार प्रस्तुत

खलंगा, १० असार । स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् भने केहीले आज पेस गर्न लागेका हुन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले संघ, प्रदेश र स्थानीय तहले आफ्नै स्रोतको आधारमा नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने बताए ।

नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले कोभिडको महामारीबाट नागरिकको जीवन उत्थान गर्ने, अर्थतन्त्रको शीघ्र पुनरुत्थानका गतिविधि सञ्चालन गर्ने विषयलाई प्राथमिकतामा राखेर स्थानीय तहले बजेटको तयारी गरेको जानकारी दिए ।

स्थानीय तहका जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष हो । त्यसैले विगतको चुनावमा गरेको वाचा पूरा गर्ने र आगामी चुनावमा जनतालाई प्रभावित बनाउने खालको बजेट आउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया