सरकारविरुद्ध सडक आन्दोलन गर्ने विपक्षी गठबन्धनमा तयारी

काठमाडौं : विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार राति बसेको गठबन्धनको बैठकले भौतिक दूरी कायम गर्दै देशका प्रमुख शहरहरुमा सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

सडक आन्दोलनका लागि केन्द्रमा संयोजन समिति बनाउने र भ्रातृ संस्थाहरुलाई परिचालन गर्ने विषयमा पनि छलफल भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत उपस्थित बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा भएको थियो ।

बैठकले प्रदेश सरकारमा भएको सहकार्य निरन्तर राख्ने र अपूर्ण मन्त्रिपरिषदलाई तत्काल पूर्णता दिने सहमति पनि गरेको छ ।

तपाईको प्रतिक्रिया