जनताको सुरक्षामा खटिने प्रहरी नै असुरक्षित

सदरमुकाम सहित गाउँगाउँमा पीडा उस्तै


खलंगा, ८ असार । नागरिकको जिउ धनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैं असुरक्षित भएको पाइएको छ । जाजरकोटका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा छन् । ती भवनमा हिउँदमा चिसो र वर्षामा पानी चुहिने भएकाले समस्या भएको प्रहरीहरुको गुनासो छ । यस्तै, बाथरुम, शौचालय र खानेपानीको समस्या पनि छ ।
आफ्नै भवन भएको ठाउँमा समेत छाना चुहिँदा समस्या छ । आफ्ना समस्याहरुबो पटक–पटक जानकारी गरे पनि सुनुवाइ नभएको उनीहरुको गुनासो छ ।

जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिका–४ स्थित जिल्ला प्रहरी कार्यालयसँगै रहेको भवन जीर्ण हुँदा कतिखेर भत्किन्छ भन्ने पीर रहेको त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरु बताउँछन् । वडा नम्बर १ रिम्नामा आफ्नै भवन भए पनि खानेपानीको अभाव रहेको डिएसपी मधु थापाले बताए ।

वडा नम्बर ११ जगतीपुर, वडा नम्बर १२ मटेला, वडा नम्बर १३ मा रहेको चौकीमा छानो चुहिने, खानेपानी र शौचालयको समस्या रहेको छ । वडा नम्बर ३ ठाँटीमा भवनको अभाव तथा पहिरोको जोखिम छ ।

वडा नम्बर ३ स्यालमा भाडा को घरमा बसेर सुरक्षा दिनु परेको छ । त्यस्तै, वडा नम्वर १ को रावतगाउँ होलुखोलमा भाडाको रहेका प्रहरी चौकीमा सेवा दिइरहेको बताएको छ । पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ गर्खाकोटमा भाडाको घर र वडा नम्बर ९ पन्चाला दहमा जीर्ण भवनमा बसेर काम सेवा दिइरहेका छन् । त्यहाँ शौचालयको समस्या भएको प्रहरीले बताएका छन् ।

बारेकोट गाउँपालिकाको वडा नम्बर १, २, ५ र ८ मा भाडाको भवनमा प्रहरी चौकी रहेको छ ।
त्यस्तै नलगाड नगरपालिका–८ मैदेमा भाडामा रहेको भवनमा शौचालयको समस्या छ । वडा नम्बर ११ मा समेत भाडामै घरमा प्रहरी चौकी रहेको छ । कुशे गाउँपलिका–३ अछार्नीमा रहेको प्रहरी चौकीमा बाथरुम नहुँदा समस्या भएको प्रहरी कर्मचारीहरु बताउँछन् । यस्तै, भान्सामा पानी चुहिँदा समस्या छ ।

छेडागाड नगरपालिका–३ दशेरामा रहेको प्रहरी चौकीको आफ्नै भवन रहे पनि चुहिने समस्या रहेको छ । शिवालय गाउँपालिका–१ छेडाचौरमा भान्सा घर चुहिँदा खाना पकाउन मुस्किल भएको बताउँछन् । यस्तै, त्यहाँ खानेपानीको अभावमा भेरी नदीको पानी पिउनुपर्ने बाध्यता छ । वडा नम्बर ५ को थालारैकरको भवन समेत भाडामा रहेको छ ।

गाउँमा रहेको प्रहरी चौकीमा बत्ती, खानेपानी लगायतको समस्या छ । यस्तै, जिल्ला कार्यालयबाट गाउँमा रहेका चौकीमा सम्पर्क गर्न नहुने समस्या समेत रहेको जाजरकोटका प्रहरी प्रमुख मधु थापा बताउँछन् । आकाशमा बादल लाग्न बितिकै प्रहरी चौकीहरुमा सम्पर्क टुट्ने गरेको प्रमुख थापाले बताए ।

प्रहरीको सञ्चार सेट तथा नेपाल टेलिकमका सेवाले काम नगर्दा दैनिक कामकारवाहीमा समस्य भोग्नु परेको उनीहरुको भनाइ छ । यस्तै, पर्याप्त दरबन्दी समेत नभएका कारण दैनिक काममा समेत बाधा पुग्दै आएको उनको भनाई छ ।

#थाहा खबर#

तपाईको प्रतिक्रिया