खानाको जोहो गरिदिन माग गर्दै राउटे मुखिया मुख्यमन्त्री कार्यालय


सुर्खेत । राउटको मुखिया तथा अगुवाहरु भोक लाग्यो खाना चाहियो भन्दै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेका छन् ।

शुक्रबार कर्णाली प्रदेशसँग खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु माग गर्न मुख्यमन्त्री कार्यालय पुगेका हुन् । ‘जंगलमा सिकार पाइन छोड्यो, मेरा जनताहरु भोक–भोकै छन् ।’ राउटे मुखिया सूर्यनारायण शाहीको भनाई उदृत गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले भने, ‘सरकारले हामीलाई तत्काल खाद्यान्न दिनुप¥यो ।’

उनीहरुले त्रिपाल, लगत्ता कपडालगायत वस्तुहरु माग गरेका छन् । वर्षादको समय सुरु हुन लागेका कारण त्रिपाल लगायतका बन्दोबस्तका सामग्री माग गरेका हुन् ।

राउटे अगुवासँगको भेटघाटपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खाद्यान्न, लत्ताकपडा, त्रिपाललगायत सामानहरु बन्दोबस्त गरिदिने आवश्वासन दिएका प्रेस सल्लाहकार बुढाथोकीले बताए ।

त्यस्तै सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले हप्ता दिनभित्र राउटे समुदायका माग सम्बोधन गर्ने बताए । फिरन्ते राउटे समुदाय हाल गुर्भाकोट–११ स्थित आँपसोतीमा बस्दै आएका छन् । यहाँ राउटे समुदायमा ३६ घरपरिवारका एकसय ४५ जना नागरिकहरु छन् ।

तपाईको प्रतिक्रिया