२६ जेष्ठ २०७८, बुधबार

जाजरकोटमा फौजी किराले मकै नष्ट, किसान चिन्तित

खलंगा, २६ जेठ । जाजरकोटमा फौजी किराले मकै खेती नष्ट पारेको छ । खेती नष्ट भएपछि यसवर्ष पनि किसान चिन्तित भएका छन् । गोड्ने भएका मकैमा फौजी किराले आक्रमण गरेपछि बाली उत्पादनमा ह्रास हुने चिन्ता बढेको छ । कोरोनाको संक्रमण बढि रहेका बेला भेरी नगरपालिका २ तिमेलेका लगायत केही ठाउँमा फौजी किरा देखा परेको छ ।

कोरोनाका कारण बजारमा गएर औषधी किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधी प्रयोग गर्दा रोग र किरा नियन्त्रणमा आउन नसकेको किसानले गुनासो गरेका छन् । भर्खरै उम्रिएका मकैमा किराको प्रकोप झन बढी देखिएको छ ।

मकैबाली फौजी किराले नष्ट गरिदिएपछि किसान दोहोरो रोगको चपेटामा परेका छन् । जाजरकोटमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौजी किराले नष्ट गर्न थालेपछि यहाँका किसान दोहोरो चिन्तामा परेका हुन् । प्राय ः किसानका मकै गोड्ने बेला भएको छ ।

कृषकहरुले केही मात्रामा संकलन गरेका किराहरु र खेतवारीको अवलोकन गर्दा यी र यस्ता लक्षण भएका किराहरुले यो समयमा न्यून देखि व्यापक रुपमा मकैवालीलाई नोक्सान पार्ने कृषि प्राविधिकहरु बताउँछन् ।

त्यसकारण यस्ता किराहरु आफ्नो बारीमा देख्ने बित्तिकै कृषि प्राविधिक हरुलाई सम्पर्क गर्ने, सुरक्षित विषादीको प्रयोग गर्ने र खेतवारीको नियमित अवलोकन गरेर क्षतिको आकंलन गरि नियन्त्रणको लागि उपाय अपनाउने तथा कृषि

विकास कार्यालय जाजरकोट, भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोट तथा नजिकैको एग्रोभेटहरुमा सम्पर्क गरि उक्त किराहरु नियन्त्रणको लागि विषादीहरु ईमामेक्टीन बेन्जोएट फौजी किराको लागि, क्लोरोपाईरीफस,साईपरमेथ्रिन, डेल्टामेथ्रिन तथा ईमिडाक्लोरोपिड गवारो र फेद कटुवाको लागि प्राविधिक को सिफारिस बमोजिम औषधी प्रयोग गर्न भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले किसानलाई सल्लाह दिएका छन् ।