आन्तरिक मूल्यांकन बाट बार्षिक नतिजा प्रकाशनमा जुटे जाजरकोटका विद्यालय

त्रैमासिक र अर्धबार्षिक परीक्षाको आधारमा बार्षिक नतिजा

खलंगा, २० जेठ । जिल्लाका स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर बार्षिक नतिजा प्रकाशनको तयारी गरेका छन् ।

सामुदायिक तथा निजी विद्यालय बन्द भएको लामो समय भईसकेको र नयाँ शैक्षिक सत्र सुरु हुने समय भईसकेको भन्दै यहाँका स्थानीय तहहरुले यस्तो निर्णय गरेका हुन् ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट शुरु हुनुभन्दा अघि सम्म सबै स्थानीय तहमा नियमित पठनपाठन भएको थियो । जिल्लाका सात वटै स्थानीय तहका अधिकांश विद्यालयले करिव ८० प्रतिशत कोर्ष सकिसकेको बताएका छन् । नलगाड नगरपालिकाले शैक्षिक सत्र २०७७ मा सञ्चालित त्रैमासिक र अर्धबार्षिक परीक्षाको नतिजा तयार पारी सार्वजनिक गर्न मातहतका विद्यालयलाई निर्देशन दिईसकेको छ ।

नगर भित्रका सामुदायिक तथा निजी विद्यालयहरुलाई शैक्षिक सत्र २०७७ को नतिजा तयार पारी प्रकाशन गर्न निर्देशन दिईसकेको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । उनका अनुसार, कक्षा ५ र ८ को नतिजा तयार पारी एक हप्ता भित्र नगरपालिकालाई वुझाउन आग्रह गरिएको छ ।

जेठ २५ गते भित्र कक्षा १,२,३,४,६, ७ र ९ को नतिजा तयार पारी विद्यालयमा टाँस्न निर्देशन दिईएको प्रमुख रावले बताए । शिक्षा यूवा तथा खेलकुद शाखाका अनुसार नगरपालिकामा झन्डै ८५ देखि ९० प्रतिशत कोर्ष पुरा भएको छ ।

नगर प्रमुख रावलले भने, ‘अव पुरानै शैक्षिक सत्रको पठनपाठन सम्भव छैन, कोर्ष पनि करिव पुरा भईसकेको सन्दर्भमा पुरानो शैक्षिक सत्रको नतिजा तयार पारी नयाँ बर्षको सुरुवात गर्ने तयारी भईसकेको छ ।’

कोरोना महामारी कम हुने वितिकै नयाँ शैक्षिक सत्र असार बाट सुरु हुनेछ । यस्तै, जुनीचाँदे गाउँपालिकाले पनि आन्तरिक मूल्यांकन बाट नतिजा प्रकाशन गर्ने जनाएको छ ।

जेठ २५ भित्र मूल्यांकन गरी नतिजा प्रकाशन गरेको जानकारी गाउँपालिकामा दिन निर्देशन समेत दिईएको छ । भेरी नगरपालिकामा रहेका निजी विद्यालयले पनि त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मुल्यांकन आधारमा नतिजा प्रकाशनको तयारीमा जुटेको छ ।

जिल्लाका अन्य स्थानीय तहहरु समेत आन्तरिक मुल्यांकन गरी नतिजा प्रकाशनको तयारीमा जुटिरहेका छन् ।

तपाईको प्रतिक्रिया