
प्रेम विश्वकर्मा
खलंगा, ४ जेठ । जिल्लाको भेरी नगरपालिका वडा नं १ का ७१ जनालाई कोरोना पुष्टि भएकोे छ । गएको बैशाख २६ गते वडाका १ सय ६ जनाको स्वाव संकलन गरी परिक्षणको लागि कर्णाली अस्पताल सुर्खेतमा पठाइएको थियो । उक्त स्वावको पी.सी.आर. रिपोर्ट जेष्ठ ३ गते राति आएको हो ।
उक्त रिपोर्टमा ७१ जनालाई कोरोना पोजेटिभ देखिएको र वाँकी ३५ जनामा कोरोना नेगेटिभ देखिएको वडाका स्वास्थ्य चौकी इन्चार्ज दल बहादुर बिकले जानकारी दिए । संक्रमित भएका मध्ये २ जनालाई लक्ष्यण देखिएकोले वडा अध्यक्षको पहलमा एम्वुलेन्स बोलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा पठाइएको वडा अध्यक्ष दिपक रानाले बताए ।
त्यसमध्ये पनि एकजनाको डिस्चार्ज भएको र एकजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष रानाको भनाई छ । बाँकी संक्रमितहरुको अवस्था समान्य रहेको र सबैजना होम इसोलेशनमा बसेको पनि रानाले जानकारी दिए ।
त्यसै गरी भेरी नगरपालिका १ निवासी नेपाल कम्युनिष्ठ पार्टी माओवादी केन्द्रका जाजरकोट जिल्ला अध्यक्ष ढकविर रानालाई कोरोना पुष्टि भएको छ । ३ गते राति आएको पि सि आर रिपोेर्टमा अध्यक्ष रानालाई पनि पोजेटिभ देखाएको हो । त्यस्तै, वडाका स्वास्थ्य चौकी इन्चार्ज दल बहादुर वि क, सोही वडा निवासी पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष सहदेब बस्नेत गरि ७१ जनामा कोरोना पुष्टि भएको वडा अध्यक्ष रानाले जानकारी दिए ।
यस्तै, कोरोना संक्रमण देखिएका व्यक्तिहरु गाउँमा खुलेयाम हिडेको जनगुनासो आएको छ । अहिले कोरोनाले विश्वमा विकराल रुप लिएको र गाउँमा पनि ५० प्रतिशत भन्दा धेरैलाई देखिएता पनि सङ्क्रमितहरु गाउँमा खुले हिड्दा पनि वडा सरकारले कुनै पनि चासो नदेखाएको स्थानिय यूवा श्रवन वादीले बताए ।
आफुले वडा वासीहरुलाई भयानक भाइरस कोभिडबाट बच्न अनुरोध गरेको तर जनताले यसलाई सामान्य रुपमा लिएको वडा अध्यक्षको दावी छ । कोरोना सम्बन्धी सम्पूर्ण अधिकार नगर सँग रहेको र आफूले सक्दो जनचेतना वडा वासीहरुलाई दिएता पनि नगर सरकारले खासै चासो नदेखाएको अध्यक्षको आरोप छ ।
कोरोना नियन्त्रणका लागि आफूले आफ्नो तर्फबाट लागिरहेको र अझै पनि हर तवर बाट लागि पर्ने अध्यक्षले प्रतिबद्धता व्यक्त गरे ।
















































। ४ जेष्ठ २०७८, मंगलवार