कर्णालीमा मन्त्रिपरिषद विस्तार :  नेपाली र शर्मा मन्त्रीमा नियुक्त

 

सुर्खेत, २ जेठ । कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद विस्तार गरेका छन् । विस्तार गरिएको मन्त्रिपरिषदमा सीता कुमारी नेपाली र गोपाल शर्मा मन्त्री बनेका छन् ।
नेपालीलाई आन्तरिक मामिला, कानुन युवा तथा खेलकुद मन्त्रालयको र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा दिइएको छ ।

आइतबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीसँगको भेटमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारको मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्य विभाजनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए र प्रदेश प्रमुख कलौनीले आइतबार नै सिफारिस बमोजिमको मन्त्रिपरिषद्को नियुक्ति, हेरफेर र कार्य विभाजन गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

भेटमा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखलाई प्रदेश सरकारले कोरोना महामारीको रोकथाम र नियन्त्रणको लागि चालेका थप कदमको बारेमा पनि जानकारी गराए ।

प्रदेश प्रमुखले जनताको जीवनरक्षाको कामलाई सबैभन्दा बढी प्राथमिकता दिएर काम गर्न र अपुग अक्सिजनको तत्काल व्यवस्था गर्न सुझाव दिएका सचिवालयले जानकारी दिएको छ।

त्यस्तै कर्णाली प्रदेश अस्पतालको वर्तमान क्षमता र अवस्थाको बारेमा समेत आइतबारको भेटमा छलफल भएको छ । भेटमा मुख्यमन्त्रीले प्रदेश अस्पतालमा ‘डेडीकेटेड कोरोना उपचार संयन्त्र’ को व्यवस्था गरी कर्णाली प्रदेशलाई पर्याप्त हुनेगरी अक्सिजन उत्पादनको काममा प्रदेश सरकार लागिसकेको जानकारी समेत गराएका थिए ।

तपाईको प्रतिक्रिया