भेरीका नगरप्रमुख चढ्ने गाडी स्वाव संकलनमा प्रयोग !

जनप्रतिनिधी, शिक्षक र कर्मचारीको दुई दिनको तलव कोरोना नियन्त्रणमा

खलंगा, ३१ वैशाख । कोभिड महामारी नियन्त्रण गर्न भेरी नगरपालिकाले जनप्रतिनिधी, शिक्षक र मातहतका सवै कर्मचारीहरुको दुई दिनको तलब सुविधा कटाएर विपद ब्यवस्थापन कोषमा जम्मा गरेको छ । त्यसरी कटाईएको तलब रकम सात लाख भएको नगरपालिकाले जनाएको छ ।

उक्त रकम कोरोना नियन्त्रण तथा रोकथाममा खर्च गरिनेछ । नगरपालिकाले महमारीमा खटिने स्वास्थ्यकर्मीको भने तलब सुविधा कटाएको छैन । भेरी नगरपालिकाले कोभिड–१९ महामारी नियन्त्रण गर्न गरिएको ब्यवस्थापन बारे संञ्चारकर्मीलाई जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नयाँ भेरियन्ट सहित फैलिएको कोभिड महामारीको अवस्था, तयारी, कार्यप्रगति र पुर्वतयारीका बारेमा जानकारी गराईएको थियो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले कोभिड नियन्त्रणमा नगरले गर्न सक्ने जति काम गरिरहेको बताए । उनले बढ्दो जोखिम नियन्त्रण गर्न संक्रमितहरुका लागि अक्सिजन सिलिन्डर सहितको १४ वेडको आइसोलेशन कक्षको ब्यवस्था गरिएको, नौ थान सिलिन्डरको ब्यवस्था गरिएको, रेडक्रसको एम्बुलेन्स भाडामा लिएर संक्रमित ओसारपसार गर्ने ब्यवस्था मिलाईएको, औषधी ओसार पसार गर्न, स्वाव संकलन गर्न, कन्ट्याक ट्रसिङ्ग गर्न र कोभिडको समग्र ब्यवस्थापनका लागि नगरप्रमुख चढ्ने गाडी प्रयोग गरिएको बताए ।

गत बैशाख १३ यता भेरी नगरपालिकाले चार सय ३९ र तीन सय ९९ गरी आठ सय ३८ जनाको परिक्षण गरेकोमा दुई सय ६१ जना पोजेटिभ भएकोमा ५६ जनाले कोरोना जितेर गएको जनस्वास्थ्य निरीक्षक निशा थापाले बताइन ।

एक जनाको मृत्यु भएको र दुई जना जिल्ला बाहिर रिर्फर गरेपछि हाल नगरभित्र दुई सय दुइ जना सक्रिय संक्रमित रहेको उनले जानकारी दिईन । महामारी र संक्रमितहरुको अवस्थालाई ध्यानमा राखी आवश्यक औषधीहरु तथा सुरक्षणका सामग्री सेनिटाइजर, मास्क, पिपिसेट लगायतका सामग्री नगरपालिका मातहतका पाँच स्वास्थ्य चौकी र सात आधारभूत वडा स्वास्थ्य सेवा केन्द्रमा वितरण गरिएको नगरस्वास्थ्य शाखाकी सहसंयोजक समेत रहेकी जनस्वास्थ्य निरीक्षक थापाले बताइन ।

कार्यक्रममा पत्रकारहरुले परिक्षणको दायरा बढाउन सुझाव दिएका थिए । परिक्षण गर्ने किटको अभावमा दायरा बढाउन समस्या भएपनि पहल भैरहेको कावा नगरप्रमुख भावना भण्डारीले बताइन् । उनले सवैलाई मिलेर कोरोना विरुद्धको लडाइ जित्नुपर्ने बताइन् । नगरपालिकाका सात जना जनप्रतिनिधी र १० जना कर्मचारी कोरोना संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया