जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन, अझै जडान भएन अक्सिजन प्लान्ट !

उपचार अभावमा बाटोमै ज्यान, सिलिण्डर भर्न पु¥याईन्छ नेपालगञ्ज

खलंगा, ३१ वैशाख । नलगाड नगरपालिका १२ का ६५ बर्षीय पुरुषको कोरोना संक्रमितले गत मंगलबार उपचार अभावमा ज्यान गयो । त्यसको दुई दिन अघि भेरी नगरपालिका ४ की ४५ बर्षिया महिला संक्रमितले पनि उचार अभावमै ज्यान गुमाईन । श्वासप्रश्वास जटिल समस्या आएपछि बाटामै ज्यान गुमाएका हुन् । जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थामा अक्सिजन र भेन्टिलेटर नहुँदा कोरोना संक्रमितको उपचार गर्न समस्या भएको छ ।

जिल्ला अस्पतालमा उपकरण,दक्ष जनशक्ति र पूर्वाधारको अभावमा कोरोना संक्रमितलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता हो । तालिम प्राप्त जनशक्ति नहुदाँ गत बर्ष २६ लाख रुपैयाँमा खरिद गरिएको भेन्टिलेटर सञ्चालनका लागि पटकपटक विशेषज्ञ चिकित्सक माग गरिए पनि वेवास्ता भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले बताए ।

अस्पतालमा भेन्टिलेटर सहितको उपचार सेवा नभएपछि कोरोना संक्रमितलाई जिल्ला बाहिर रेफर गर्नुको विकल्प नभएको उनको भनाई छ । वेहोस बनाउने एनेस्थेसियालोजिष्ट लगायत विशेषज्ञ चिकिस्तक नहुँदा भेन्टिलेटर गर्न समस्या भएको छ । ‘अक्सिजन लेभल ९२ भन्दा तल भएका, फोक्सोमा समस्या भएका र सास फेर्न गाह्रो हुने संक्रमितको उपचार यहाँ सम्भव छैन, उनले भने, ‘अहिले समान्य लक्षण देखिएका विरामीको मात्र उपचार गरिरहेका छौँ ।’

आईसीयू,आईसोलेसन वेड, अक्सिजन लगायतको अभाव हुदाँ संक्रमितको उपचार सहज नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । उपचार कक्षको समेत अभाव छ, स्वास्थ्य प्रमुख जैसीले भने, कोठा नहुदाँ १५ वटा वेड स्टोरमा थन्क्याएका छौँ । नयाँ भवन निर्माणधीन रहेको र पुरानो भवन भत्किसकेकोले उपचार कक्षको अभाव भएको उनले बताए ।

अस्पतालमा १२ वटा आईसोलेसन वेड र हाईडिफेन्डेसी यूनिटमा १० वटा वेड राखिएको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले प्रत्येक स्थानीय तहमा अक्सिजन सहितको २० शैयाको आईसोलेशन कक्ष निर्माण गर्ने निर्णय गरेको छ । तर स्थानीय तहहरुले त्यस बारे ध्यान नदिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरीप्रसाद देवकोटाले बताए । यस्तै, जाजरकोट अस्पतालमा एन्टिजेन किट र भिटीएम कम हुदाँ लक्षण देखिएका विरामीको कोरोना परिक्षण हुन सकेको छैन ।

जाजरकोटका लागि प्रदेश सरकारले अहिले सम्म १ हजार एन्टिजेन किट र पीसीआरका लागि ६ सय भिटीएम मात्र उपलब्ध भएको अस्पतालका कोरोना फोकल पर्सन कृष्ण खत्रीले बताए । उनका अनुसार प्रदेश सरकार संग ९ हजार किट माग गरिएकोमा ९ सय मात्र एन्टिजेन किट आएको थियो । २ हजार भिटीएम मागेकोमा ६ सय मात्र पुगेको छ ।

कार्यालयले गाउँपालिकालाई ५० र नगरपालिकालाई १ सयका दरले एन्टिजेन किट वितरण गरेको छ । जिल्लामा पिसीआर मेसिन नहुदाँ कोरोना परिक्षणका लागि स्वाव संकलन गरी सुर्खेत पठाउनुपर्ने बाध्यता छ । ‘स्वाव संकलन गरी पठाईएका नमुनाको एक हप्ता वित्दा समेत पालो आउँदैन, खत्रीले भने, परिक्षणमा ढिलाई हुदाँ पनि महामारी नियन्त्रणमा समस्या भएको छ ।’

अक्सिजन प्लान्ट जडान भएन
ठेकेदारको लाप्रवाहीले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानमा ढिलाई भएको छ । अक्सिजन प्लान्ट जडान नहुँदा अक्सिजनका सिलिण्डर भर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता रहेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न नेपटेक मेडिकल सल्लायर्स प्रा.लि. काठमाडौँले ४० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

तर सम्झौता भएको एक महिना वित्दा समेत सप्लायर्सका सञ्चालक नरबहादुर लिम्वूले काम सुरु गरेका छैनन् । उनले आगामी जेठ १५ गते भित्र प्लान्ट जडान गर्ने गरी ठेक्का सम्झौता गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । बारम्बार ताकेता गर्दा पनि ठेकेदारले काम सुरु नगरेको प्रमुख जैसीले बताए । अहिले अस्पतालमा ३८ वटा अक्सिजन सिलिण्डर छन् । ‘ती सिलिण्डर खाली हुने वित्तिकै नेपालगञ्ज पठाउँनुपर्छ , उनले भने, ‘सिलिण्डर पठाउन र ल्याउन निकै समस्या छ ।’ नेपालपोस्ट खबरको सहयोगको तयार पारिएको सामग्री

तपाईको प्रतिक्रिया