कहिले जोडिन्छ अस्पतालमा अक्सिजन प्लान्ट ?

ठेकेदार सुन्दैनन्, अक्सिजन भर्न नेपालगञ्ज सिलिण्डर

खलंगा २७ वैशाख । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानमा ढिलाइ हुँदा कोरोना संक्रमण भएका विरामीको उपचारमा समस्या परेको छ । समयमा अक्सिजन प्लान्ट जडान नगर्दा कोरोना संक्रमण भई अक्सिजन दिनुपर्ने विरामीलाई समस्या भएको हो । नेपालगञ्जमै अक्सिजनको अभाव भएको वेला जाजरकोट अस्पतालले पनि अक्सिजन भर्नका लागि खाली सिलिन्डर नेपालगञ्ज नै पठाउनु पर्ने बाध्यता छ । जिल्लामा अक्सिजनको अभाव हुन थालेको र अहिले सम्म अक्सिजन प्लान्ट स्थापना नभएपछि स्वास्थ्य सेवा कार्यालयले ठेकेदार कम्पनीलाई दोष दिन थालेको छ भने ठेकेदार कम्पनीले कार्यालयले ढिलो टेन्डर खोलेकाले ढिलाई भएको दावी गरेको छ ।

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको जिम्मा लिएको सप्लायर्सको ढिलासुस्तीले गर्दा समस्या भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टिकाराम जैसीले बताए । ४५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्ने जिम्मा लिएको नेपटेक मेडिकल सप्लायर्स काठमान्डौ –२ ले ३० दिन वितिसक्दा पनि काम सुरु नगरेको कार्यालय प्रमुख जैसीले बताए । ‘बारम्बार ताकेता गरिरहेका छौ तर अहिले सम्म अक्सिजन प्लान्ट जडानको कुनै सुरसार छैन’ उनले भने–‘अक्सिजन प्लान्ट जडान नहुँदा खाली सिलिन्डर नेपालगञ्ज पठाउनु पर्ने बाध्यता छ । सिलिन्डर पठाउन, भर्न र ल्याउन पनि उत्तिकै समस्या छ ।’

जिल्लाभरका स्वास्थ्य संस्था मध्य अक्सिजनको ब्यवस्था भएको जाजरकोट अस्पतालमा पनि ३८ सिलिन्डर मात्र छन् । ति सवै नेपालगञ्ज भरेर जाजरकोट ल्याउनु पर्ने बाध्यता छ । विरामीको चाप बढ्दै जाँदा एकै दिनमा १५÷२० सिलिन्डर सकिन थालेको छ । प्रत्येक दिन पठाउन समस्या छ । विरामी बढ्दै गए निकै समस्या हुने भएकोले जिल्लामा सिलिन्डर भर्न मिल्ने गरि स्थापना गर्न थालिएको अक्सिजन प्लान्ट जडान ढिलाईले थप समस्या परेको अस्पतालका मेडिकल अधिकृत डा. अमिन शाहले बताए । उनले भने–‘जिल्लामै अक्सिजन प्लान्ट भएको भए उपचारमा निकै सहज हुने थियो ।’

अक्सिजन प्लान्ट जडानको जिम्मा लिएको नेपटेक मेडिकल सप्लायर्सका प्रोपराइटर रामराज कोइरालाले नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दोस्रो लहर तिव्र गतिमा बढ्दै गएकोले काम गर्न असहज अवस्था आएको बताए । भारतमा समानको अर्डर भैसकेको छ । समान ल्याउन सक्ने अवस्था भए १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गरिसक्ने लक्ष्य रहेको कोइरालाले बताए । कार्यालयका अनुसार चैत्रको अन्तिम साता करीव ३६ लाख रुपैयामा ४५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्ने गरि सम्झौता भएको हो । सम्झौता अनुसार उनले ४५ दिन भित्र काम सक्नु पर्नेछ । महिना दिन विति सक्यो अहिले सम्म कामको सुरसार समेत भएको छैन । अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक बर्षको शुरु भएको केही महिनामै बजेट आईपुगेको भएपनि टेण्डर खोल्न कार्यालयले ढिलाई गरेको हो । पश्चिम रुकुम लगायतका अन्य जिल्लामा भने यस अघि नै अक्सिजन प्लान्ट स्थापना भैसकेको छ ।

साधनस्रोतको अभाव

सात ओटा स्थानिय तह भएपनि कोरोना संक्रमितको उपचारका लागि कुनै पनि स्थानिय सरकारले अक्सिजन सहितको आइसोलेशन बनाएका छैनन् । स्थानिय सरकारले गाँउमै अक्सिजन सहितको आइसोलेशन बनाएको भए जिल्ला अस्पतालमा उपचारको भार कम हुन्थ्यो डा. शाहले भने– ‘पूर्वतयारी र सचेतताका दृष्ट्रिकोणले सरोकारवाला निकाय महामारी नियन्त्रणमा गंभिर भएको पाइएन ।’

जिल्लामा परिक्षण गरिएका नौ सय ४४ मध्य तीन सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना परिक्षणका लागि पिसिआर मेसिन नहुँदा एन्टिजेनकै भरमा परिक्षण गरिदै आएको छ । त्यो पनि सकिन थाल्यो स्वास्थ्य सेवा कार्यालयका प्रमुख जैसीले भने–‘स्रोत, साधन र जनशक्ति अभावमा महामारी विरुद्धको लडाइ लड्न निकै समस्या भैरहेको छ ।’ एन्टिजेनको विश्वसनियता ७० प्रतिशत मात्र रहेको चिकित्सकको भनाई छ । #प्रवाह अनलाईन#

तपाईको प्रतिक्रिया