दुई महिना पुग्ने खाद्यान्न रहेको उद्योग वाणिज्य संघ सल्यानको घोषणा


सल्यान, २६ वैशाख । उद्योग वाणिज्य संघ सल्यानले दुई महिनासम्म खाद्यान्नको अभाव नहुने बताएको छ । निषेधाज्ञा घोषणा गरेसँगै खाद्यान्न अभाव हुने धेरैको शंका रहेका बेला संघ दुई महिनासम्म यथेष्ट पुग्ने बताएको हो ।

सल्यानमा अहिले दुई हजार १३५ क्विन्टल चामल, ८९५ क्विन्टल नुन, दुई हजार ४९० गत्था तेल, २३३ बोरी दाल रहेको संघका अध्यक्ष कुमार बुढाथोकीले जानकारी दिए । यस्तै, २६० बोरा मैदा, ४२५ क्विन्टल चिनी, १३५ बोरा चिउरा र एक हजार ३१० वटा ग्यास सिलिन्डर रहेको उनले बताए ।

दैनिक उपभोग्य बस्तुको अभाव नहुने भएकाले आवश्यकताभन्दा बढी बस्तु सञ्चय नगर्न संघले आग्रह गरेको छ । ‘निषेधाज्ञा थपिन्छ कि भनेर आवश्यकताभन्दा धेरै खाद्यबस्तु स्टक राख्दा अभाव बढ्छ,’ उनले भने, ‘त्यैसैले आफूलाई तत्काल चाहिने मात्र सामान लिँदा हुन्छ । खाद्यान्न अभाव हुँदैन ।’

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले खाद्यन्न आपूर्तिलाई सहज बनाउन पास दिने व्यवस्था गरिएको बताइन् । अहिले दैनिक उपभोग्य बस्तुको अभाव नरहेको र अभाव हुन नदिन उद्योग वाणिज्य संघसँग समन्वय भइरहेको उनको भनाइ छ। खाद्यान्न, निर्माण सामग्री, पशुपंक्षीको दाना, अण्डा, घाँसका लागि सहज रुपमा पास दिने व्यवस्था गरिएको होमागाईंले बताइन् ।

तपाईको प्रतिक्रिया