२१ बैशाख २०७८, मंगलवार

तीन जनाले कोरोना जिते, जाजरकोटमा जम्मा संक्रमितको संख्या २०९ पुग्यो


खलंगा, २१ वैशाख । जाजरकोटमा सोमबार गरिएको परिक्षणबाट १२ जनालाई कोरोना पुष्टी भएको छ भने, २ जना कोरोना मुक्त भएका छन् । कोरोना भाइरसको दोस्रो लहर चले पश्चात जिल्लामा संक्रमितहरुको संख्या २ सय ९ जना पुगेको छ भने, कोरोना मुक्त हुनेको संख्या तीन पुगेको छ ।

भेरी नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार जिल्ला सदरमुकामको शान्तिचौतारामा २६ जनालाई गरिएको परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी भएको नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य सहायक यज्ञ गौतमले जानकारी दिए । गौतमले दिएको जानकारी अनुसार कोरोना संक्रमित २ जनालाई सोमबार गरिएको परिक्षणबाट कोरोना मुक्त पुष्टी भएको छ ।

त्यसैगरी जुनीचाँदे गाउँपालिकामा सोमबार २२ जनालाई गरिएको परिक्षणबाट २ जना पुरुषलाई कोरोना पुष्टी भएको पत्रकार रेशम खड्काले जानकारी दिए । पत्रकार खड्काले दिएको जानकारी अनुसार कोरोना पुष्टी भएका २ जनामध्ये १ जना स्वास्थ्यकर्मी र एक जना कार्यालयका कर्मचारी रहेका छन् ।

त्यसैगरी बारेकोट गाउँपालिकाको लिम्सामा सोमबार ३ जनालाई गरिएको परिक्षणबाट २ जनालाई कोरोना पुष्टी भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत अनमी कल्पना रोकाय (घर्ती) ले जानकारी दिइन् । त्यसैगरी छेडागाड नगरपालिकाको मनघाटमा सोमबार १ जनालाई गरिएको परिक्षणबाट १ जनालाई नै कोरोना पुष्टी भएको छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक खत्रीले जानकारी दिएका छन् ।

जिल्लाका विभिन्न ठाउँमा ५२ जनालाई गरिएको परिक्षणबाट १२ जनालाई कोरोना पुष्टी भएको छ भने, यो भन्दा अगाडी एक जना र सोमबार २ जनागरी जिल्लामा तीन कोरोना मुक्त भएका छन् ।