
जाजरकोट – नलगाड नगरपालिका–३ पारिकरुवास्थित श्री नमुना प्राथमिक विद्यालयमा अध्यापनरत राहत शिक्षक दल बहादुर थापा हिरासतमा रहेका बेला पनि विद्यालयको हाजिरी रजिस्टरमा उनको उपस्थिति देखिएको तथ्य सार्वजनिक भएको छ।
कुटपिटको आरोपमा जेष्ठ १४ गतेदेखि असार २ गतेसम्म जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा रहेका थापाको जेष्ठ महिनाभर विद्यालयमा हाजिरी कायम रहेको पाइएको हो। स्रोतका अनुसार उनले हिरासतमा जानुअघि नै जेष्ठ २९ गतेसम्मको हाजिरी लगाएका थिए।
विद्यालयकी प्रधानाध्यापक लक्ष्मी थापाका अनुसार जेष्ठ १४ गतेपछि लगातार चार दिन सार्वजनिक बिदा परेकाले विद्यालय खुलेको जेष्ठ १८ गते मात्रै उक्त विषय थाहा भएको थियो। घटनाबारे जानकारी पाएपछि शिक्षक थापाविरुद्ध आवश्यक कारबाहीका लागि नलगाड नगरपालिकामा पत्राचार गरिएको उनले बताइन्।

नलगाड नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत पुनले घटनाको अध्ययन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।
स्थानीयका अनुसार शिक्षक थापा यसअघि लागुऔषध सम्बन्धी मुद्दामा पनि कारागार बसिसकेका व्यक्ति हुन्। कारागारबाट छुटेपछि पुनः सोही विद्यालयमा शिक्षकका रूपमा नियुक्त गरिएको थियो। पटक–पटक कानुनी विवादमा मुछिएका व्यक्तिलाई शिक्षक पदमा निरन्तरता दिन नहुने भन्दै अभिभावक तथा स्थानीयवासीले प्रश्न उठाएका छन्।
















































हाम्रो पहुँच संवाददाता । ३ असार २०८३, बुधबार