
जाजरकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाजरकोटको जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि दिनभर भएका छलफल र सहमतिको प्रयास निष्कर्षमा पुग्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिने भएको छ।
आइतबार दिनभर विभिन्न चरणमा भएको संवाद, परामर्श तथा सहमतिको प्रयास असफल भएपछि जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने निर्णय गरिएको अधिवेशन स्रोतले जनाएको छ।
जिल्ला सभापति पदका लागि महेश सिंह, राघव कार्की, दीपेन्द्र शाही (डिएन) र रमेश केसी ले उम्मेदवारी दर्ता गराएका छन्। चार जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएपछि अधिवेशनको माहोल थप रोचक बनेको छ।
उम्मेदवारमध्ये महेश सिंह यसअघिका जिल्ला सभापति हुन् भने राघव कार्की गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए। यस्तै रमेश केसी नेपाली कांग्रेस परित्याग गरी केही समयअघि मात्रै रास्वपामा प्रवेश गरेका नेता हुन्। दीपेन्द्र शाही (डिएन) युवा पुस्तामाझ लोकप्रिय तथा संगठन विस्तारमा सक्रिय नेताका रूपमा परिचित छन्।

पार्टीभित्र सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास अन्तिम समयसम्म जारी रहे पनि सफल हुन नसकेपछि लोकतान्त्रिक अभ्यासअनुसार निर्वाचनमार्फत नेतृत्व चयन गर्ने निर्णय गरिएको हो।
निर्वाचन समितिका अनुसार मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। सोमबार बिहानदेखि मतदान सुरु हुने र मतगणना सम्पन्न भएपछि नयाँ जिल्ला नेतृत्वको टुंगो लाग्ने जनाइएको छ।
रास्वपा जाजरकोटको नयाँ नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा कार्यकर्ता र शुभेच्छुकहरूबीच ठूलो चासो देखिएको छ। चार जना उम्मेदवार चुनावी मैदानमा उत्रिएसँगै अधिवेशनले जिल्लाको आगामी राजनीतिक दिशालाई समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।
















































हाम्रो पहुँच संवाददाता । २४ जेष्ठ २०८३, आईतवार