
जाजरकाेट । हजारौं विद्यार्थीका लागि यो वर्षको सबैभन्दा ठूलो खुसीको खबर आएको छ। अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धाउनुपर्ने बाध्यता घट्दै गएको छ। जाजरकोट बहुप्राविधिक शिक्षालयले न्यूनतम शुल्कमै गुणस्तरीय प्राविधिक शिक्षा दिने घोषणा गर्दै भर्ना खुलाएको छ।
सबैभन्दा बढी चर्चा तीन वर्षे डिप्लोमा इन फार्मेसी जम्मा ५० हजार रुपैयाँमै पढ्न पाइने भएकाे छ। स्वास्थ्य क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थीका लागि यो अवसर असाधारण मानिएको छ। महँगा निजी कलेजहरूले लाखौं रुपैयाँ असुल्ने समयमा जाजरकोटमै यति कम शुल्कमा फार्मेसी पढ्न पाइने खबरले विद्यार्थी र अभिभावक दुवै उत्साहित भएका छन्।
त्यति मात्र होइन, डिप्लोमा इन फरेस्ट्री ३० हजार, सिभिल इन्जिनियरिङ ३६ हजार र एनिमल साइन्स ३५ हजार रुपैयाँमै अध्ययन गर्न पाइने भएपछि ग्रामीण भेगका विद्यार्थीहरूका लागि नयाँ आशा पलाएको छ।
पहिले आर्थिक अभावका कारण धेरै विद्यार्थीले SEE पछि पढाइ रोक्नुपर्ने अवस्था थियो। कतिपयले विदेश जाने सपना देख्थे, कतिपय बेरोजगार बस्थे। अब भने जाजरकोटमै सीप सिकेर रोजगारीतर्फ अघि बढ्ने बाटो खुलेको छ।
भर्ना खुलेसँगै जाजरकोट, रुकुम, सल्यान, दैलेख, डोल्पालगायत जिल्लाका विद्यार्थीहरूमा चासो बढेको छ। सीमित सिट भएकाले समयमै आवेदन दिन शिक्षालयले आग्रह गरेको छ। अहिले पनि बाहिर जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको जनाइएको छ।
शिक्षालय प्रमुख इश्वरी चन्द्र देवकोटाका अनुसार जाजरकोट बहुप्राविधिक शिक्षालयलाई थप व्यवस्थित, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउने काम भइरहेको छ। देशभरकै न्यून शुल्कमा अध्ययनको अवसर उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो।
याे शिक्षालय सीटीईभीटीकाे आंगिक र सरकारी हो ।
“सीप हुन्छ हातमा, रोजगारी साथमा” भन्ने नाराले अब केवल नारा होइन, सम्भावना बोकेको सन्देश दिएको छ। अब भविष्य बनाउन शहर होइन, जाजरकोट नै गन्तव्य बन्न थालेको छ।
याे सूचना हेर्नुहाेस्

















































हाम्रो पहुँच संवाददाता । १८ बैशाख २०८३, शुक्रबार