जाजरकोट — सुशासनका लागि नागरिक सरोकार समितिले भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती समक्ष विभिन्न जनसरोकारका विषयमा ध्यानाकर्षण गराएको छ।
समितिका अध्यक्ष विर्खबहादुर कार्कीले बैशाख १५ गते बुझाएको ध्यानाकर्षण पत्रमार्फत नगर क्षेत्रमा देखिएका समस्या तथा सुधार गर्नुपर्ने विषयहरू औंल्याएका हुन्।
समितिले नगरको समग्र विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन पुनर्निर्माण, बजार सरसफाइ तथा फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्न माग गरेको छ। यस्तै, विकास निर्माणका काममा समयमै सम्झौता र भुक्तानी, अनुगमनमा कडाइ तथा सार्वजनिक शौचालय र धारा व्यवस्थापनलाई समेत जोड दिइएको छ।
पत्रमा युवालाई लक्षित रोजगार कार्यक्रम सञ्चालन, सब्जी मण्डी व्यवस्थापन, कुलतमा लागेका युवाको पहिचान तथा सुधार कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, बालविवाह न्यूनीकरण, सवारी साधनको व्यवस्थित पार्किङ तथा बसपार्क निर्माण, बजार तथा चोकहरूमा सडक बत्ती जडान गर्नुपर्ने माग पनि गरिएको छ।
यसैगरी, अतिक्रमित सार्वजनिक जग्गा व्यवस्थापन, सडक, विद्युत, पुल तथा टेलिकम टावर निर्माणमा पहल गर्नुपर्ने विषयहरू पनि समेटिएका छन्।
समितिले उठाएका यी मुद्दाहरूलाई गम्भीरतापूर्वक लिँदै आज बस्ने कार्यपालिका बैठकमा आवश्यक छलफल गरी ठोस निर्णय हुने अपेक्षा गरिएको छ।
स्थानीयवासीले समेत यस्ता पहलले नगरको विकास र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
















































हाम्रो पहुँच संवाददाता । १६ बैशाख २०८३, बुधबार