जाजरकोटमा बजार अनुगमन : म्याद गुज्रिएका सामग्री नष्ट, मूल्यमा मनपरी


जाजरकोट — सदरमुकाम खलंगास्थित शान्तिचौतारा र गैरीखाली क्षेत्रमा रहेका ३४ वटा होटल तथा पसलहरूमा गरिएको संयुक्त बजार अनुगमनले बजार व्यवस्थापनको कमजोर अवस्था उजागर गरेको छ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटको आयोजनामा गरिएको अनुगमनका क्रममा करिब ५६ हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका पेय पदार्थ तथा खाद्यान्न सामग्री नष्ट गरिएको प्रशासकीय अधिकृत दिलीप कुमार सोनीले जानकारी दिए।

अनुगमन टोलीका अनुसार बजारमा अझै पनि उपभोक्ता अधिकारको खुलेआम उल्लंघन भइरहेको पाइएको छ। अधिकांश होटल तथा पसलहरूमा मूल्यसूची नराखिएको, सरसफाइमा गम्भीर कमी देखिएको तथा खाद्यान्न सामग्रीको व्यवस्थापन लापरवाहीपूर्ण रहेको भेटिएको छ।

अनुगमनका क्रममा केही आयल स्टोर (पेट्रोल पम्प) हरूमा समेत डिजेल र पेट्रोलको मूल्यमा असमानता देखिएको पाइएको छ। एउटै क्षेत्रमा फरक–फरक दरमा इन्धन बिक्री हुनु उपभोक्तामाथिको ठगी भएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रशासकीय अधिकृत सोनीका अनुसार अनुगमनपछि सम्बन्धित व्यवसायीहरूलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ।
उनले भने, “मूल्यसूची अनिवार्य राख्न, सरसफाइमा ध्यान दिन र म्याद गुज्रिएका सामग्री बिक्री नगर्न कडाइका साथ निर्देशन दिएका छौं।”

जिल्ला प्रशासन कार्यालयले बजार व्यवस्थापनलाई व्यवस्थित बनाउन यस्ता अनुगमनलाई आगामी दिनमा अझ सशक्त रूपमा निरन्तरता दिने जनाएको छ।

 

तपाईको प्रतिक्रिया