जाजरकोटमा साँच्चिकै रास्वपा विकल्प बन्ला त ?

२०७९ सालको निर्वाचनमा जाजरकोटबाट रास्वपाले पाएको समानुपातिक मत ५९४ मात्रै थियो । तर राजनीति सधैं अंकगणितले मात्र चल्दैन, कहिलेकाहीँ जनभावनाले इतिहास मोड्छ । त्यो बेला रास्वपा नयाँ थियो, अपरिचित थियो, संरचनाहीन थियो । आज परिस्थिति उल्टो छ—पुराना दलहरू थाकेका छन्, जनताको विश्वास गुमाइसकेका छन् र विकल्प खोज्ने मनस्थिति तीव्र बनेको छ ।


जाजरकोटको राजनीतिमा यसपटक एउटा मौन तर गहिरो परिवर्तन देखिँदैछ । यो परिवर्तन न नारामा सीमित छ, न कुनै शक्तिशाली संरचनामा टिकेको छ । यो परिवर्तन जनताको मनमा पलाएको प्रश्नबाट सुरु भएको छ—अब पनि उही राजनीति ?
देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लिएर चर्को बहस चलिरहेको छ ।

यही बहसको तरंग अब जाजरकोटका गाउँ–बस्तीको चौतारो, चिया पसल र घरदैलो छलफल सम्म आइपुगेको छ । ‘घण्टी’ चुनाव चिह्न अब केवल एउटा प्रतीक रहेन, यो पुरानो राजनीतिक संस्कारविरुद्धको असन्तुष्टिको आवाज बन्दै गएको छ ।

२०७९ सालको निर्वाचनमा जाजरकोटबाट रास्वपाले पाएको समानुपातिक मत ५९४ मात्रै थियो । तर राजनीति सधैं अंकगणितले मात्र चल्दैन, कहिलेकाहीँ जनभावनाले इतिहास मोड्छ । त्यो बेला रास्वपा नयाँ थियो, अपरिचित थियो, संरचनाहीन थियो । आज परिस्थिति उल्टो छ—पुराना दलहरू थाकेका छन्, जनताको विश्वास गुमाइसकेका छन् र विकल्प खोज्ने मनस्थिति तीव्र बनेको छ ।
यसपटक रास्वपाबाट उम्मेदवार बनेका राधव कार्की त्यो विकल्पको अनुहारका रूपमा अगाडि आएका छन् । कानुनमा स्नातक, पेशाले अधिवक्ता र जनप्रशासनमा एमए गरेका कार्की केवल ‘शिक्षित उम्मेदवार’ मात्र होइनन्, उनी व्यवस्थाभित्रका विकृति बुझ्ने र त्यसलाई कानुनी तथा प्रशासनिक बाटोबाट चुनौती दिन सक्ने क्षमता बोकेका पात्र हुन् ।

यहाँका जनताले लामो समयदेखि एउटै प्रश्न सोधिरहेका छन्—नेता धेरै भए, तर न्याय किन आएन ? योजना धेरै आए, तर गाउँ किन उस्तै रह्यो ? यही प्रश्नको उत्तर खोज्दै मतदाता यसपटक रास्वपातर्फ हेर्न थालेका छन् । पार्टीभन्दा पनि एजेन्डा, अनुहारभन्दा पनि इमानदारी र भाषणभन्दा पनि जवाफदेहिता खोज्ने मनोविज्ञान अहिले बलियो देखिन्छ ।

रास्वपाको सबल पक्ष यही हो—यो दल पुराना सत्ता साझेदारीको बोझले थिचिएको छैन । न भ्रष्टाचारको आरोपले थला परेको छ, न दशकौँदेखिको असफलताको हिसाबकिताब दिनुपर्ने बाध्यता छ । त्यसैले घण्टी बज्दा धेरैलाई डर लागिरहेको छ, किनकि त्यो घण्टीले पुरानो सत्ताको निद्रा भङ्ग गरिदिन सक्छ ।

यसपटक देखिएको रास्वपामय माहोल संयोग होइन । यो असन्तुष्टि, आक्रोश र आशाको संगम हो । समानुपातिक मत विगतमा कम हुनु कमजोरी होइन, त्यो चेतनाको प्रारम्भिक अवस्था थियो । अब त्यो चेतना विस्तार हुँदैछ, संगठित हुँदैछ र निर्णायक बन्ने बाटोमा छ ।

यसपटकको चुनाव केवल उम्मेदवार जित्ने–हार्ने प्रतिस्पर्धा होइन् । यो पुरानो राजनीतिलाई निरन्तरता दिने कि नयाँ राजनीतिक संस्कार सुरु गर्ने भन्ने जनमत संग्रहजस्तै बन्दै गएको छ । जाजरकोटमा बज्न थालेको घण्टीले एउटा कुरा स्पष्ट संकेत गरिसकेको छ—अब राजनीति बदलिनै पर्छ ।

May be an image of one or more people

अलपत्र विकास र आक्रोशित जनता
जाजरकोट आज प्रश्नहरूको थुप्रोमा उभिएको जिल्ला हो । विकासका नाममा सुरु गरिएका योजना अलपत्र छन्, बजेट कार्यकर्तामै सीमित छ, भूकम्पले थिलथिलो बनाएको जीवन अझै टहरामै अड्किएको छ । यही यथार्थले यसपटक जाजरकोटको राजनीतिमा गहिरो असन्तुष्टि र परिवर्तनको चाहना जन्माएको छ ।

महत्वपूर्ण आयोजना अलपत्र पार्ने परम्परा जाजरकोटमा नयाँ होइन । मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा राजमार्ग, छेडा–जुनी सडकजस्ता गौरवका योजना कागज र उद्घाटनमा सीमित छन् । सडकले गति नपाउँदा बजार चल्दैन, रोजगारी सिर्जना हुँदैन र युवाहरू गाउँ छोड्न बाध्य हुन्छन् । तर यी योजनाको ढिलाइ कसैको राजनीतिक एजेन्डा बनेन्—किनकी सत्तामा बसेकाहरू स्वयं जिम्मेवार थिए ।

२०८० को भूकम्पपछि त जनताको पीडा झनै चर्किएको छ । हजारौँ भूकम्पपीडित आज पनि टहरामै बस्न बाध्य छन् । पुनर्निर्माणको नाममा बजेट आयो, कार्यालय खुले, भाषण भए—तर घर बनेनन् । जनताले अनुभूति गर्ने गरी राज्य कहिल्यै गाउँमा पुगेन् । यही असफल पुनर्निर्माणले जनताको मनमा राज्यप्रति गहिरो अविश्वास जन्माएको छ ।

नलगाड हाइड्रोपावरजस्तो सम्भावनायुक्त आयोजनाले गति लिन नसक्नु जाजरकोटका लागि अर्को ठूलो निराशा हो । उर्जा, रोजगारी र समग्र आर्थिक विकाससँग जोडिएको यो आयोजना वर्षौँदेखि अन्योलमै छ । राजनीतिक इच्छाशक्ति र जवाफदेहिता नहुँदा जाजरकोटले आफ्नै स्रोतबाट लाभ लिन सकेन।

यी सबैको साझा कारण के हो ?
जनताले अब खुलेर भन्न थालेका छन् —नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (विभिन्न नाम र झण्डामा) सधैँ सत्तामा गए, तर काम गरेनन् । चुनावका बेला गाउँ छिरे, जितेपछि सिंहदरबारमै हराए । बजेट आयो, तर कार्यकर्तामुखी भयो । विकास आयो, तर पहुँचवालाको आँगनसम्म मात्रै सीमित रह्यो ।

यही पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाजरकोटमा विकल्पका रूपमा उभिएको छ । रास्वपा कुनै चमत्कारको दाबी गर्दैन, तर पुरानो असफल राजनीतिसँग यसको बोझ छैन । यसले जनताको पीडालाई ‘राजनीतिक एजेन्डा’ बनाउने साहस देखाएको छ । यही कारण गाउँको तल्लो तहसम्म रास्वपाप्रति चासो बढ्दै गएको छ ।

राधव कार्की जस्ता शिक्षित, कानुन र जनप्रशासन बुझ्ने उम्मेदवारले यो असन्तुष्टिलाई प्रतिनिधित्व गरिरहेका छन् । जनता अब भाषण होइन, उत्तर खोजिरहेका छन् —अलपत्र योजना कहिले सम्पन्न हुन्छ ? भूकम्पपीडित कहिले घरभित्र पस्छन् ? जाजरकोट कहिले विकासको मूलधारमा जोडिन्छ ?

यी प्रश्नको उत्तर दिन नसक्ने पुराना दलहरूप्रति जनताको भरोसा टुट्दै गएको छ । त्यसैले यसपटक रास्वपालाई फाइदा हुने सम्भावना केवल अनुमान होइन, जाजरकोटका गाउँ–बस्तीमा देखिएको यथार्थ हो ।

यो चुनाव पार्टी बदल्ने मात्र होइन, राजनीति गर्ने तरिका बदल्ने अवसर बनेको छ । र, अलपत्र विकासको पीडाबाट गुज्रिएको जाजरकोटमा परिवर्तनको घण्टी बज्न थालेको छ—जसको प्रतिध्वनि यसपटक मतपेटिकासम्म पुग्ने संकेत स्पष्ट देखिन्छ ।

 साँच्चिकै रास्वपा विकल्प बन्ला त ?
दुई वर्ष चार महिना बितिसक्दा पनि भूकम्पपीडित घर फर्कन सकेका छैनन् । टहरामै बितेका हिउँद, वर्षा र गर्मीका पीडा शब्दमा बयान गर्न कठिन छन् । सरकार फेरिए, मन्त्री फेरिए, प्रतिनिधि फेरिए—तर पीडितको जीवन फेरिएन । कार्यविधि, नियम र प्रक्रियाको नाममा जनतालाई झुलाउने र अल्झाउने बाहेक यो अवधिमा ठोस प्रगति देखिएन ।
यही राज्य असफलताको अर्को रूप स्वास्थ्य क्षेत्रमा पनि उस्तै पीडादायी छ । गाडी भाडा नपाएर अस्पताल पुग्न नसक्ने, उपचार खर्च नपुगेर अकालमै ज्यान गुमाउनुपर्ने विपन्न जाजरकोटीको कथा अझै समाप्त भएको छैन । गरिब हुनु नै अपराध जस्तै बनेको छ । यही यथार्थका बीच फागुन २१ को चुनाव आइपुगेको छ, जहाँ जनता विवश भएर फेरि ‘कम खराब’ खोज्न बाध्य छन् ।

बेरोजगारीले गाउँ रित्तिँदैछ । युवा विदेशिँदैछन् —कोही फर्किन्छन्, कोही बाकसमा । कृषि, पर्यटन, वन, खनिज, जलविद्युत् जस्ता सम्भावनाले भरिएको जाजरकोट नेतृत्वको अकर्मण्यताका कारण अवसरविहीन बनेको छ । धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरू बेवास्तामा छन् । जाजरकोट दरबारको बेहाल अवस्था र अधुरो संग्रहालय त्यसको प्रतीक हो ।

May be an image of one or more people and text

सडक, पुल, धारा, ट्यांकी—एक वर्ष नटिक्ने विकासले जनताको विश्वास भत्काएको छ । मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा राजमार्ग, छेडा–जुनी सडक, नलगाड हाइड्रोपावरजस्ता योजना अलपत्र छन् । खानी, कृषि, पर्यटन—सबै सम्भावना कागजमै सीमित छन् ।

यी सबैका लागि जिम्मेवार को ? जनताको उत्तर स्पष्ट छ—नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (विभिन्न नाम र रूप) दशकौँसम्म सत्तामा पुगे, तर जाजरकोटका आधारभूत समस्या समाधान गर्न असफल भए ।

यही असन्तुष्टि, आक्रोश र निराशाको बीच जनताले अब नयाँ प्रश्न सोध्न थालेका छन् —अब पनि उहीलाई भोट ? यही प्रश्नले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जाजरकोटमा सम्भावनाको केन्द्रमा ल्याएको हो । रास्वपा कुनै जादुई समाधान होइन, तर यसले पुराना असफलताबाट आफूलाई अलग राखेको छ । यसमाथि अहिलेसम्म भ्रष्टाचार, ठेक्का–बिचौलिया र सत्ता दुरुपयोगको भारी बोझ छैन ।

जनताले रास्वपाबाट तत्काल स्वर्ग खोजेका होइनन् । उनीहरू खोजिरहेका छन्—झुटो वाचा नगर्ने, सहज पहुँच दिने, काम नगरे जिम्मेवारी लिने र जनताको पीडालाई एजेन्डा बनाउने नेतृत्व । यही ठाउँमा रास्वपाले अवसर पाएको छ ।

तर अन्तिम सत्य के हो भने—रास्वपा विकल्प बन्छ कि बन्दैन भन्ने कुरा चुनाव जितेर होइन, चुनावपछि गर्ने व्यवहारले तय हुनेछ ।
यदि उसले पनि पुरानै शैली दोहो¥यायो भने, यो अवसर क्षणिक हुनेछ । तर यदि उसले जाजरकोटी सम्भावना बुझेको, जनताको पीडासँग इमानदार भएको र जवाफदेही राजनीतिलाई अभ्यासमा उतार्न सक्यो भने—यो चुनाव जाजरकोटका लागि ऐतिहासिक मोड बन्न सक्छ ।
आज जाजरकोटी जनता क्रोधित छन्, सचेत छन् र निर्णय खोजिरहेका छन् । नेताहरू दौडिरहेका छन्, जनता तौलिरहेका छन् ।
अब प्रश्न एउटै छ—घण्टीले केवल आवाज निकाल्छ कि साँच्चिकै परिवर्तनको संकेत दिन्छ ?

तपाईको प्रतिक्रिया