पत्रकार लोकेन्द्रराज शर्माले  गरे जाजरकोटबाट स्वतन्त्र उम्मेदवारी घोषणा

जाजरकोट — पत्रकार तथा सञ्चारकर्मी लोकेन्द्रराज शर्माले प्रतिनिधि सभा सदस्य पदका लागि जाजरकोट जिल्लाबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमार्फत शर्माले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

छेडागाड नगरपालिका–६, सुवानाउलीमा जन्मिएका शर्मा लामो समयदेखि पत्रकारिता र सामाजिक अभियन्ताको रूपमा सक्रिय छन्। उनी भेरी कर्णाली मिडियाका प्रबन्ध निर्देशकसमेत हुन्। पत्रकार सम्मेलनमा शर्माले दलगत राजनीतिले जनताको वास्तविक समस्या समाधान गर्न नसकेको निष्कर्षसहित स्वतन्त्र उम्मेदवारीको निर्णय लिएको बताए। “मेरो उम्मेदवारी कुनै दल, गुट वा स्वार्थ समूहको प्रभावमा होइन, जाजरकोटका आम नागरिकको भावना र आवश्यकताबाट प्रेरित छ,” उनले भने।

शर्माले जाजरकोटमा शिक्षा, स्वास्थ्य, सडक, रोजगारी र सञ्चार पहुँचजस्ता आधारभूत समस्या अझै समाधान हुन नसकेको उल्लेख गरे। उनले संसदमा पुगेपछि जाजरकोटका आवाजलाई राष्ट्रिय बहसमा पुर्‍याउने, विकास बजेटको न्यायोचित वितरणका लागि दबाब सिर्जना गर्ने र पारदर्शी तथा उत्तरदायी राजनीतिलाई स्थापित गर्ने प्रतिबद्धता जनाए।

“म पदका लागि होइन, जनताको भरोसाका लागि उम्मेदवार बनेको हुँ,” शर्माले भने, “अब जाजरकोटका युवाहरूले पनि नेतृत्व गर्न सक्छन् भन्ने सन्देश दिन चाहन्छु।” उनले युवाको सहभागिता, महिलाको सशक्तीकरण र स्थानीय स्रोत–साधनको सदुपयोगलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने बताए।

पत्रकार सम्मेलनमा सहभागी नागरिक तथा युवाहरूले स्वतन्त्र उम्मेदवारीले राजनीतिमा नयाँ विकल्प प्रस्तुत गर्ने अपेक्षा व्यक्त गरे। शर्माको उम्मेदवारी घोषणासँगै जाजरकोटको राजनीतिक माहोल थप चर्किएको छ। आगामी निर्वाचनमा मतदाताले नयाँ सोच र विकल्पलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने चासो बढेको छ।

तपाईको प्रतिक्रिया