सञ्जालमा उम्मेदवार घोषणा गर्न हतार नगरौं


जाजरकोट — नेपाली कांग्रेस जाजरकोटका स सचिव तथा प्रवक्ता छबि पन्तले आसन्न अधिवेशनलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्ने हतारो नगर्न आग्रह गरेका छन् ।

फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले सुसंस्कृत र समुन्नत समाज निर्माणका लागि कांग्रेसभित्र स्वस्थ राजनीतिक संस्कार स्थापित गर्नु अत्यावश्यक भएकाले पहिलो चरणमा संगठन सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने बताए ।

पन्तका अनुसार पात्र छान्ने वा बन्ने प्रक्रिया अझै सुरु नभइसकेको अवस्थामा सोसल मिडियामार्फत दाबी–दरखास्त मच्चाउने आवश्यक छैन । उनले भने, “प्रतिस्पर्धा हाम्रो भीत्र–भीत्रै हो । बिमति भए निर्वाचन अन्तिम विकल्प हो, तर अहिले नै विवाद र फेसवुक रंगाउनु जरुरी छैन ।”

सदस्यता व्यवस्थापन, जनमत निर्माण र नागरिकका प्रश्नको जिम्मेवारीपूर्वक जवाफ दिन सक्ने संरचना बनाउनु नै अहिलेको मुख्य दायित्व भएको उनले उल्लेख गरे ।

“सबैले भरोसा गर्ने पार्टी बनाऔं । पदमा पुग्नेले नेतृत्व गर्ने, नपुग्नेले सहयोग गर्ने दिन आउँछ,” पन्तले लेखेका छन् । उनले अभियान शुरु हुनु अघि वडास्तरमा क्रियाशील सदस्यता टुंग्याउने कार्यलाई प्राथमिकता दिन सबैलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया