जाजरकोटका दिपक रावतलाई ‘पब्लिक स्पिच नेपाल अवार्ड’


जाजरकोट । बास नेपालले आयोजना गरेको पब्लिक स्पिच नेपाल २०८२ को उपाधि जाजरकोटका दिपक रावतले जितेका छन् । राजधानी काठमाडौंमा शनिवार आयोजित यो आयोजनाले देशभरका युवाको वाककला र बौद्धिक क्षमतालाई उजागरमात्र गरेन उनीहरूलाई सशक्त मञ्च प्रदान पनि गरेको हो ।

आयोजनामा जाजरकोटका दिपक रावत विजयी बन्दै प्रतियोगिताको प्रथम स्थान हासिल गरी ५० हजार पुरस्कार प्राप्त गरेका छन् । भने काठमाडौंकी मेलिसा कार्की द्वितीय र जाजरकोटकै दिपक परियार तृतीय बनेका छन् । प्रतियोगिताको आयोजक बास नेपालले दिएको जानकारी अनुसार, यस पटकको फाइनल राउण्डमा १४ जना प्रतियोगीले सुशासन, समावेशिता, भ्रष्टाचार नियन्त्रण, बौद्धिक पलायन रोकथाम र प्राकृतिक सम्पदा संरक्षणजस्ता विषयमा प्रभावशाली मन्तव्य प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा शीर्षक अन्तर्गत पुरस्कारहरू पनि वितरण गरियो । पब्लिक च्वाइस अवार्ड दोलखाकी उमा कार्कीले जितिन् भने डोटीकी तोरिशा भण्डारीले सान्त्वना पुरस्कार, पर्साकी प्रार्थना अधिकारीले प्रोत्साहन पुरस्कार प्राप्त गरे ।

विजेताहरूलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो । उमा कार्कीलाई २० हजार, तोरिशा भण्डारीलाई ५ हजार र प्रार्थना अधिकारीलाई पनि ५ हजार रूपैयाँसहित सम्मान गरिएको थियो ।

पुरस्कार वितरणमा निर्णायक समिति संयोजक तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, द आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, प्रेरक वक्ता डा. तारा बहादुर गिरी (तारा जी), वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेत लगायत प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए ।

युवाको वक्तृत्व क्षमता अभिवृद्धि गर्ने र सार्वजनिक भाषणकलामा नयाँ पुस्तालाई प्रोत्साहित गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान तीन चरणमा सम्पन्न गरिएको थियो अडिसन, सेमिफाइनल र फाइनल बास नेपालका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए । अडिसन राउण्डमा देशभरबाट १३७ जना सहभागी भएका थिए, जसबाट छनोट हुँदै अन्तिम चरणसम्म पुग्दा १४ जनाले फाइनलमा आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालका पूर्व अध्यक्षदेखि लिएर सफाइ अभियन्ता, गैरसरकारी संस्था महासंघका प्रतिनिधि, युवा परिषदका सदस्यहरू सम्मको उल्लेख्य उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया