जाजरकोट । नलगाड नगरपालिका– ११ बाँनियागाउँ र पुदुका बासिन्दाले आफ्नै खर्चमा करिव डेढ किलोमिटर सडक निर्माण गरेका छन् ।
दुई गाउँका हरेक घरधुरीले आफ्नो क्षमता अनुसारको पैसा उठाएर गाउँ जोड्ने सडक निर्माण गरेका हुन ।
सडक निर्माणको पहल र अगुवाई गरेका वडाध्यक्ष लालबहादुर बाँनिया कुशलले आवतजावत गर्न निकै कठिन भएपछि जनता आफैले रकम संकलन गरेर सडक बनाएको बताए ।
उनले भने, ‘सडक निर्माणको लागि तीनै तहका सरकारसँग पटक पटक आग्रह गरियो । तर कतैबाट हाम्रो मागको सुनुवाई भएन । त्यसैले आफ्नो गाउँको सडक बनाउन गाउँले आफै जुटे ।’

सडक निर्माणको लागि बाँनियागाँउका ३५ घर परिवारले २०⁄२० हजारको दरले, २० घरले १०⁄१० हजारको दरले, पुदुका २९ घर एक –एक हजारको दरले, युवा वर्ष प्राथमिक विद्यालय बाँनियागाउँमा कार्यरत दुई जना शिक्षकले १०⁄१० हजार रुपैयाँ र एकजना रुकुमका व्यापारीले दुई हजार सहयोग गरेका छन् ।
चिउराको पाटादेखि नचाक्चा सम्मको उक्त सडक गत असार महिनाको २८ गतेवाट निर्माण थालेर यही भदौँ महिनाको ३ गते निर्माण सम्पन्न भएको थियो ।
सडक निर्माणको लागि विद्यालयका शिक्षक, गाउँवासीहरुले आफ्नो क्षमता अनुसार एक हजारदेखि हजारदेखि २० हजार रुपैयाँसम्म सहयोग गरेका छन् ।

गाउँलेहरुबाट संकलन भएको १२ लाख र नगरपालिकाले दिएको ४ लाख रुपैयाँबाट नलाक्चाको भीर काटेर सडक सजिलो ठाउँमा पुर्याइएको वडाध्यक्ष बाँनियाले बताए ।
वडाध्यक्ष बाँनियाले भने, ‘नलाक्चाको भीर एकदमै अप्ठ्यारो भएकोले गाउँलेलाई हिड्न एकदमै समस्या थियो । बर्षाको समयमा चिप्लिएर तासुगाड खोलामा पर्ने अवस्था छ । विरामीलाई अस्पताल लैजान, खाध सामाग्री ल्याउन लैजान, गाउँमा उत्पादन हुने फलफुल र अन्वाली लैजान पनि कठिन थियो । त्यसैले सडक निर्माण भएपछि अव सजिलो हुने भएको छ ।’

‘संघ र प्रदेश सरकारबाट बजेट आउँछ भन्ने कुरामा म ढुक्क थिए । बजेट आएन । पहिलेको रकमले खनेको सडक अप्ठ्यारो ठाउँमै गएर रोकिदा गाउँलेलाई आवतजावतमा समस्या थियो । यो कुरा गाउँ भेला गराएर राखे । अर्को बर्षपनि बजेट आउने नआउने ठेगान नभएपछि आफैले रकम संकलन गरेर भएपनि सडक बनाउन गाउँलेलाई मनाए । अनि सडक निर्माण गर्न सम्भव भयो, वडाध्यक्ष लालबहादुर बाँनियाले भने ।
अहिले नलाक्चासम्म पुगेको सडक बाँनियागाँउमा पुग्न अझै ४ किलोमिटर र पुदुमा पुग्न करिव ३ किलोमिटर निर्माण गर्नु पर्ने देखिन्छ ।

सडक निर्माण गर्न १६ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ ।
सडक निर्माण भएपछि गाउँलेहरुले खुशी हुँदै सडक खन्न प्रयोग भएको स्काइवभेटरका चालकलाई फुलमाला र अभिरले सम्मान गर्दै नगद ५ हजार रुपैयाँ समेत पुरस्कार दिएका थिए ।
स्वतन्त्रको प्यानलै बनाएर बाँनिया २०७९ सालको निर्वाचनमा चुनाव जितेका थिए । उनीसगै उनका प्यानलका सबै जनाले चुनाव जितेका थिए ।
















































हाम्रो पहुँच संवाददाता । १० भाद्र २०८२, मंगलवार