
जाजरकोट । जाजरकोट जिल्लामा पहिलो पटक साइबेरियन मलसाँप्रो (Siberian Weasel) औपचारिक रूपमा सुचीकृत भएको छ। त्रिभुवन विश्वविद्यालय, काठमाडौंको केन्द्रीय जीव विज्ञान विभागद्वारा नियमित रूपमा प्रकाशित हुने ‘नेप्लिज जर्नल अफ जुलोजी’ मार्फत जाजरकोटमा यस दुर्लभ वन्यजन्तुको उपस्थिति पुष्टि गरिएको हो।
प्रकृति संरक्षण अभियान नेपालका कार्यक्रम संयोजक बद्री बरालका अनुसार जाजरकोटको नलगाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिकाको विभिन्न जंगलमा ट्रयाप क्यामेरा प्रयोग गरी गरिएको अध्ययनमा साइबेरियन मलसाँप्रो पहिलो पटक कैदमा परेको हो। उक्त अध्ययनमा जीवन राई, दिपकराज बस्नेतसहित स्थानीय सहभागीहरू जागृति शाही, दिनेश बस्नेत, गोविन्द बहादुर सिंह र धिरेन्द्र ध्यारको सक्रिय भूमिका रहेको थियो।
नेपालमा मस्टेलिड (Mustelidae) प्रजातिअन्तर्गत हालसम्म १३ प्रजातिका जनावरहरू सुचीकृत भइसकेका छन्। तीमध्ये जाजरकोटमा साइबेरियाली मलसाँप्रोसहित चार प्रजातिका मस्टेलिड जनावरहरू सुचीकृत भएको कार्यक्रम संयोजक बरालले जानकारी दिए। अन्य तीन प्रजातिमा पित्तोदार मलसाँप्रो, मलसाँप्रो र कालो ओत परेका छन्।
साइबेरियन मलसाँप्रोलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) तथा नेपाल सरकारद्वारा प्रकाशित स्तनधारी जीवहरूको राष्ट्रिय रेड लिस्टमा ‘कम चिन्ताजनक’ (Least Concern) श्रेणीमा वर्गीकृत गरिएको छ।
यसअघि नेपालमा साइबेरियन मलसाँप्रो गौरिशंकर संरक्षण क्षेत्र, लाङटाङ राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, अपी–नम्पा संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, मकालु–बारुण राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्र बाहिर हुम्ला र मुगु जिल्लामा मात्रै सुचीकृत भएको थियो।
अब भने, त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित वैज्ञानिक लेखमार्फत जाजरकोटमा यसको औपचारिक सूचीकृतले यो क्षेत्र वन्यजन्तु विविधताको दृष्टिले महत्वपूर्ण रहेको पुष्टि भएको छ।
















































हाम्रो पहुँच संवाददाता । ५ श्रावण २०८२, आईतवार