सामाजिक विकास कार्यालय जाजरकोटको वार्षिक समीक्षा : ९१ प्रतिशत पुँजीगत खर्च

८२.८९ प्रतिशत चालू र ९१.३८ प्रतिशत पुँजीगत बजेट खर्च

शान्तिचौतारा । सामाजिक विकास कार्यालय, जाजरकोटको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आज (शनिवार) जाजरकोट खलंगामा सरोकारवालाहरुको उपस्थितिमा बार्षिक प्रगति समीक्षा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रदेशसभा सदस्य वेदराज सिंहले प्रारम्भमै कार्यालयलाई प्रगति सार्वजनिक गरेकामा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ जनमुखी र प्रभावकारी ढंगले काम गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा कार्यालयले गत आर्थिक वर्षमा गरेको समग्र प्रगति विवरण सार्वजनिक गरिएको थियो । कार्यालय प्रमुख दशरथ लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राविधिक सहायक जगदिश न्यौपानेले प्रस्तुत गरेको तथ्यांकअनुसार, चालूतर्फ ८२.८९ प्रतिशत र पुँजीगततर्फ ९१.३८ प्रतिशत बजेट खर्च गरिएको गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्री, भेरी नगरपालिका उपप्रमुख सीता जैसी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।

समीक्षात्मक छलफलका क्रममा सहभागीहरूले बजेट कार्यान्वयन, सेवा प्रवाह, समन्वय र जनसरोकारका कार्यक्रमहरूको प्रभावकारिताप्रति सन्तोष व्यक्त गर्दै आगामी वर्षमा अझ स्पष्ट रणनीति, सहभागी योजना निर्माण र नतिजामुखी कार्ययोजनाको खाँचो औंल्याएका थिए ।

कार्यक्रमले जिल्ला स्तरमा सामाजिक विकास क्षेत्रका योजनाहरूको सुदृढीकरण र समावेशी दृष्टिकोणबाट कार्यान्वयनको अपेक्षा बढाएको सहभागीहरूको भनाइ थियो ।

तपाईको प्रतिक्रिया