
खलंगा । जाजरकोटलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । शुक्रबार सदरमुकाम खलंगामा आयोजित एक भव्य समारोहबीच जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले औपचारिक रुपमा घोषणापत्र वाचन गर्दै जाजरकोटलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमन्त्री एंव प्रदेश सभा सदस्य वेदराज सिंह प्रमुख अतिथिको रूपमा उपस्थित थिए । उनले बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह र सबै सरोकारवालाको समन्वयमा गरिएका प्रयास प्रशंसनीय रहेको बताए ।
उनले खोप अभियानमा संलग्न स्वास्थ्यकर्मी, स्थानीय सरकार, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायलाई धन्यवाद दिँदै यो उपलब्धिले जिल्लालाई संक्रमणमुक्त र सुरक्षित बनाउने आधार तय गरेको बताए ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनिल पुनले जिल्लाका सातवटै स्थानीय तह अन्तर्गत १६ देखि २३ महिनाका उमेर समूहमा पर्ने बालबालिकाले राष्ट्रिय नियमित खोप कार्यक्रमअन्तर्गत तोकिएको सम्पूर्ण खोप सेवा प्राप्त गरिसकेकाले जाजरकोटले पूर्ण खोप सुनिश्चितता हासिल गरेको जानकारी दिए ।
उनका अनुसार, पूर्ण खोप सुनिश्चितता अभियान अन्तर्गत जिल्लाका हजारौं बालबालिकालाई लक्षित गरी खोप सेवा पु¥याइएको हो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुखहरू, विभिन्न वडाका अध्यक्षहरू, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संघसंस्था, पत्रकार र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
जिल्लालाई पूर्ण खोप सुनिश्चित बनाउनुका साथै अब यसको दिगोपना कायम राख्न सबै पक्षले निरन्तर प्रतिबद्धता जनाएका छन् । कार्यक्रममार्फत बाल स्वास्थ्य र खोपको पहुँच अझ विस्तार गर्न आवश्यक रणनीति र सहयोगको खाका पनि प्रस्तुत गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयको “सबै बालबालिकालाई पूर्ण खोप“ भन्ने लक्ष्यअनुसार अगाडि बढाइएको अभियानमा जाजरकोटले उल्लेखनीय सफलता हात पारेर कर्णाली प्रदेशमै उदाहरणीय उपलब्धि हासिल गरेको छ ।
















































हाम्रो पहुँच संवाददाता । २७ असार २०८२, शुक्रबार