जाजरकोट । कुशे गाउँपालिका–५ दम्दालामा रहेको पशुपति माद्यामिक विद्यालयमा गएको राति आएको बाढीले पठनपाठन पूर्ण रूपमा प्रभावित पारेको छ । अविरल वर्षासँगै विद्यालयको पछाडिको पर्खाल भत्किएपछि बाढी विद्यालय परिसर हुँदै कक्षाकोठामा छिरेको हो ।
विद्यालयका शिक्षक गगन वलीका अनुसार कक्षा १० सम्म सञ्चालनमा रहेको विद्यालयका छ वटा कोठामा पानी र हिलो पसेको छ । “कोठाभित्रै हिलो भरिएको छ, यस्तो अवस्थामा कसरी पढ्ने ?” उनले चिन्ता व्यक्त गरे ।
बाढीको मूल कारण सडक विस्तारका क्रममा आवश्यक नाली निर्माण नगर्नु र विद्यालयको कमजोर पर्खाल मानिएको छ । हाल कुशे–५ मा सडक कालोपत्रे हुँदैछ, तर नालीको व्यवस्था नगरिएकाले पानी विद्यालयतर्फ बगेर आएको स्थानीयको गुनासो छ ।
विद्यालयको करिब ५० मिटर पर्खाल भत्किएको अनुमान गरिएको छ । निर्माणाधीन नयाँ भवन समेत उच्च जोखिममा परेको छ । पर्खालको संरक्षणबिना भवनमाथि सिधै जोखिम बढेको शिक्षकहरूको भनाइ छ ।
ठेकेदार शन्जु बुढाथोकीले वर्षौंअघि विद्यालयको पर्खाल पुनर्निर्माण गर्ने वाचा गरे पनि अहिलेसम्म काम सुरु नगरेको आरोप विद्यालय प्रशासनले लगाएको छ । “बनाइदिन्छु भनेर आश्वासन दिएका थिए, तर आजसम्म केही काम भएन,” एक शिक्षकले भने ।
विद्यार्थीहरू पढ्नको सट्टा हिलो सफा गर्न व्यस्त छन् । “शिक्षणको वातावरण छैन, सबै कोठामा हिलो छ,” विद्यार्थीहरूको गुनासो छ ।
स्थानीय तह र सम्बन्धित निकायले यथाशीघ्र स्थायी समाधानको पहल नगरे विद्यालय अझ ठूलो क्षतिको सामना गर्नुपर्ने अवस्था आएको छ । विद्यालय प्रशासनले तत्काल पर्खाल निर्माण र नाली व्यवस्थापनको माग गरेको छ ।
ठेकेदारको लापरबाही, निर्माणको कमी, र प्राकृतिक प्रकोपको चपेटामा परेको पशुपति माविमा पठनपाठन ठप्प भएको छ । यो केवल एउटा विद्यालयको समस्या होइन, विकासको नाममा बेवास्ता गरिएको संरचना व्यवस्थापन प्रतिको गम्भीर चिन्ताको विषय हो ।
हाम्रो पहुँच संवाददाता । २४ असार २०८२, मंगलवार