डिभिजन वन कार्यालय प्रमुखमाथि कुटपिटकाे विरोधमा कर्मचारी ट्रेड यूनियनहरूको संयुक्त ज्ञापनपत्र, दाेषीलाइ कार्वाहीकाे माग

जाजरकोट— डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख अमरप्रसाद साहमाथि कार्यकक्षमै भएको सांघातिक आक्रमणको घटनाप्रति जाजरकोट जिल्लामा क्रियाशील कर्मचारी ट्रेड यूनियनहरूले संयुक्त रूपमा विरोध जनाएका छन्।

२०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात मुलुकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीहरू संविधान, कानुन र नागरिक प्रतिको उत्तरदायित्व बोक्दै सेवा दिइरहेका छन्। तर, भद्रता, विधि र शिष्टाचार विपरीत हालैको आक्रमणले सम्पूर्ण कर्मचारी वर्ग आक्रोशित भएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।

ज्ञापन पत्रमा भनिएको छ, “प्राकृतिक न्यायको सिद्धान्त र कानुन विपरीत कुनै पनि कर्मचारीमाथि सेवा सुरक्षामा हस्तक्षेप गरिँदा हामी मूकदर्शक बस्न सक्दैनौं।” ज्ञापन पत्रमा दोषी व्यक्तिहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ।

सम्बन्धित संघ संस्थाहरूले सरकारी कर्मचारीहरू नागरिक सेवा प्रवाहको मेरुदण्ड भएको भन्दै यस्ता घटना दोहोरिन नदिन सरोकारवाला निकायलाई जिम्मेवारीपूर्वक ध्यान दिन आग्रह गरेका छन्।

ज्ञापनमा हस्ताक्षर गर्नेहरूमध्ये प्रमुख रूपमा नेपाल निजामती कर्मचारी यूनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन लगायतका ट्रेड यूनियनका जिल्ला अध्यक्षहरूको नाम उल्लेख छ।

उक्त घटनाले कर्मचारीहरूको मनोबल गिराउन सक्ने भन्दै घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।

तपाईको प्रतिक्रिया