
जाजरकोट । भेरी नगरपालिका वडा नं–९ लाई औपचारिक रूपमा पोषणमैत्री वडा घोषणा गरिएको छ।
नेपाल सरकारले तोकेको ४९ वटा पोषण सूचकहरू पूरा गरेपछि यो वडा जिल्लामै दोस्रो पोषणमैत्री वडा बन्न सफल भएको हो।

वडाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाहरू, महिला समूह, समुदायका अगुवा तथा विभिन्न संघसंस्थाको समन्वय र सक्रियताले यो उपलब्धि हासिल भएको हो।
वडाध्यक्ष हिराप्रसाद शर्माका अनुसार पोषण क्षेत्रमा देखिएका कमजोरीहरू पहिचान गरी निरन्तर अनुगमन, सचेतना कार्यक्रम र सेवाको पहुँच विस्तारसँगै परिणाममुखी कार्यान्वयन गरिएको थियो।
“बालबालिकाको वृद्धि विकास, गर्भवती तथा सुत्केरी महिलाको अवस्था सुधार, पोषणयुक्त खाना तथा सरसफाइको प्रवर्धन जस्ता क्षेत्रमा वडाले प्राथमिकता दिएको थियो,” शर्माले बताए।
ओ
पोषणमैत्री वडा बन्नका लागि सूनिश्चित गरिनुपर्ने सूचकहरूमा बालबालिकाको तौल र उचाइ अनुसारको अवस्था, नियमित खोप सेवा, स्तनपान, आयोडिनयुक्त नुन प्रयोग, सरसफाइ, विद्यालयमा पोषण शिक्षा, कुपोषणको पहिचान र उपचार, किशोरी तथा महिलामा रगतको कमी न्यूनीकरण लगायतका सूचकहरू पर्दछन्।
यो घोषणापछि वडामा थप योजनाबद्ध रुपमा पोषण सुधारका कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको वडाध्यक्ष शर्माले जानकारी दिए। कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, स्वास्थ्य शाखा, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।
यसअघि भेरी नगरपालिका–१३ कुदु पोषणमैत्री वडा घोषणा भइसकेको छ। वडा नं–९ को सफलताको सराहना गर्दै अन्य वडाहरूले पनि यही बाटो अवलम्बन गर्नुपर्ने सुझाव सरोकारवालाहरूले दिएका छन्।
















































हाम्रो पहुँच संवाददाता । २० असार २०८२, शुक्रबार