भेरी नगरपालिका १३ वडा जिल्लाकै पहिलो पोषणमैत्री वडा घोषित

जाजरकोट । जिल्लाको भेरी नगरपालिका–१३ लाई जिल्लाकै पहिलो पोषणमैत्री वडा घोषित गरिएको छ। नेपाल सरकारले तोकेको ४९ वटा पोषण सूचकहरू पूरा गरेपछि सो वडालाई पोषणमैत्री वडा घोषणा गरिएको हो।

सो अवसरमा भेरी नगरपालिका–१३ मा आयोजित एक औपचारिक कार्यक्रममा पोषणमैत्री वडाको घोषणा गरिनुका साथै वडाको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन पनि गरिएको छ।

वडा कार्यालय भवन ७० लाख ७९ हजार ६ सय १७ रूपैया लागतमा निर्माण गरिएको हो । नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि खत्रीले स्थानीय तहको सेवा प्रवाह जनमुखी र प्रभावकारी बनाउन भौतिक पूर्वाधारको निर्माण अपरिहार्य भएको उल्लेख गरे ।

वडा नम्बर १३ को कार्यालय संघीयता कार्यान्वयन भएयता भाडाको घरबाट संचालन हुँदै आएकोमा अब आफ्नै भवनबाट सेवा दिन थालिएको छ। भवन निर्माणसँगै सेवा प्रवाहमा थप सहजता हुने वडा अध्यक्ष यज्ञबहादुर बटालाले बताए । उनले पोषणका सबै सूचक पूरा गर्न वडाबासीको सक्रिय सहभागिता मुख्य रहेको भन्दै आभार व्यक्त गरे ।

पोषणमैत्री वडा घोषणा र नयाँ भवनको उद्घाटनले सो वडालाई समावेशी, स्वस्थ र उत्तरदायी स्थानीय शासनतर्फ उन्मुख गराउने अध्यक्ष बटालाले बताए ।

तपाईको प्रतिक्रिया