
कुशे । कुशे गाउँपालिकामा कुशन तथा गुडिया बुनाइ तालिम सम्पन्न भएको छ।
‘सीप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने मूल नारासहित महिलाहरूको सीप, क्षमता अभिवृद्धि तथा आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले शुरु भएको तालिम सम्पन्न भएको हो ।
गरिबी निवारणका लागि सञ्चालन गरिएको लघु उद्यम कार्यक्रम अन्तर्गत कुशे गाउँपालिकाको आर्थिक सहयोग र उद्यम विकास शाखाको आयोजनामा तालिम असार ३ गतेदेखि सुरु भई असार १५ गतेसम्म सञ्चालन गरिएको थियो।
कुशे गाउँपालिकाको थर्पु भार्मामा आयोजित सो तालिममा गाउँपालिकाका विभिन्न वडाबाट १५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।
उक्त तालिममा सहभागी महिलाहरूले विभिन्न डिजाइनका कुशन र गुडिया बनाउने सीप सिकेका छ्न् । तालिमको प्रशिक्षण अनुभवी प्रशिक्षिका राधा शाही थापाले दिनुभएको थियो।
तालिम अवधिमा महिलाहरूले घरमै उपलब्ध सामग्री प्रयोग गरी कसरी आकर्षक तथा बजारमुखी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक ज्ञान हासिल गरेका छन्।
सीप प्रस्फुटन र आत्मनिर्भरता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको उक्त तालिमले घरभित्र लुकेर रहेका प्रतिभा र सीपलाई बाहिर ल्याउने प्रयास गरेको आयोजकको भनाइ छ। सहभागी महिलाहरूले तालिमबाट आफूहरू आत्मनिर्भर बन्ने बाटोतर्फ अग्रसर भएको महसुस गरेका छन्।
उनीहरूले तालिमपछि आवश्यक सामग्री खरिद गर्न सके आयआर्जनका लागि गुडिया र कुशन उत्पादन सुरु गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
तालिममा सहभागी एक महिलाले भनिन्, “हामीले विभिन्न डिजाइनमा कुशन र गुडिया बुन्न सिक्यौँ। अब यसलाई व्यवसायिक रूपमा अघि बढाउनेछौँ। यस्तो उपयोगी तालिम दिएकोमा गाउँपालिका र उद्यम विकास शाखाप्रति आभारी छौँ।”
कुशे गाउँपालिकाले आगामी दिनमा यस्ता सीपमूलक तालिमहरू अझ विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।
















































सरू बस्नेत, । १४ असार २०८२, शनिबार