कुशे गाउँपालिकामा स्थानीय पाठ्यपुस्तक वितरण सुरु


सरु बस्नेत
कुशे । कुशे गाउँपालिकाले स्थानीय भाषा, भूगोल, संस्कृति तथा सामाजिक परिवेश समेटेर निर्माण गरिएको स्थानीय पाठ्यपुस्तक विद्यालयहरूमा वितरण गर्न सुरु गरेको छ।

‘मातृभाषा तथा स्थानीय पाठ्यपुस्तक सन्दर्भअनुसार’ भन्ने अवधारणालाई आत्मसात् गर्दै गाउँपालिकाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि यो महत्वपूर्ण प्रयास थालेको हो।
शिक्षा शाखाका अनुसार, कुशे गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो भाषा, समाज र भौगोलिक परिवेशप्रति नजिक्याउने उद्देश्यले यो पाठ्यक्रम विकास गरिएको हो।

पाठ्यपुस्तकमा नेपालीसँगै स्थानीय समुदायको भाषा, लोककथा, रहनसहन, भौगोलिक चिनारी तथा सांस्कृतिक विशेषताहरू समावेश गरिएको छ। यसले बालबालिकाको पहिचान, चेतना र स्थानीयपनमा गर्व महसुस गराउने अपेक्षा गरिएको छ।

शिक्षा शाखामा कार्यरत श्रोत व्यक्ती कृष्ण राज गिरीले भने , “हामीले अबको शिक्षा प्रणाली स्थानीय आवश्यकतासँग जोड्ने संकल्प लिएका छौँ। हाम्रा बालबालिकाले पहिला आफू र आफ्ना ठाउँ बुझून् भन्ने चाहना हो।” पाँच हजार पाठ्यपुस्तक वितरण गर्ने तयारी गरिएको छ ।


पाठ्यपुस्तक वितरणसँगै शिक्षकहरूलाई आवश्यक तालिम र अभिमुखीकरण पनि दिइने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको यो प्रयासले अन्य स्थानीय तहलाई समेत स्थानीय पाठ्यक्रम निर्माणतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ। कुशे गाउँपालिकाले हाम्रो कुशे, हाम्रो खुशी नामक पाठयक्रम निर्माण गरेको छ ।

तपाईको प्रतिक्रिया