
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनबाट जाजरकोटका युवा विद्यार्थी नेता प्रकाशमान सिंह भारी मतका साथ केन्द्रिय सदस्यमा निर्वाचित भएका छन्। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा जेठ २५ देखि २९ गतेसम्म सम्पन्न महाधिवेशनमा कर्णाली भूगोल खुल्ला क्लस्टरबाट तेस्रो सबैभन्दा बढी मत ल्याउँदै सिंह केन्द्रमा चुनिएका हुन्।
२०६९ सालमा नेपालगञ्ज बहुमुखी क्याम्पसको अध्यक्षबाट अनेरास्ववियु राजनीतिमा प्रवेश गरेका सिंहले बाँके जिल्लामा दुई कार्यकाल जिल्ला समिति सदस्यको रूपमा काम गरिसकेका छन्। उनी २०७२ सालमा कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न २२ औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिसमेत थिए।
२०७७ मा नेकपा विभाजनको बेला ऐन महर संयोजक हुँदा सिंह स्रोहखुट्टेमा सम्पन्न भेलाबाट केन्द्रिय सदस्य मनोनित भएका थिए। त्यसपछि पार्टी एकता पुनःस्थापना भएसँगै २०७८ मा अनेरास्ववियु जाजरकोटको १२ औं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका उनी २०८० असोज १९ गते १३ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष बने।
सिंहको नेतृत्वमा अनेरास्ववियु जाजरकोटले जिल्लामा रचनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। अनेरास्ववियुको स्थापना दिवसका अवसरमा अस्पतालमा बिरामीहरूलाई फलफूल वितरणदेखि वृक्षारोपण अभियानसम्मका कार्यक्रम उनले अगुवाई गरेका थिए।
२०८१ सालको स्ववियु निर्वाचनमा सिंहको नेतृत्वमा जनज्ञान कुञ्ज क्याम्पस दशेरा, मालिका बहुमुखी क्याम्पस कुशे, नलगाड बहुमुखी क्याम्पस दल्ली र भेरी ज्ञानोदय क्याम्पस लगायतका क्याम्पसहरूमा अनेरास्ववियुका उम्मेदवारहरू निर्वाचित भएका थिए।
बारेकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पपछिको उद्धार, राहत वितरण र टहरा निर्माणमा समेत सिंहको नेतृत्व उल्लेखनीय रह्यो।
करिब १२ वर्षको अनुभव बोकेका सिंह अनेरास्ववियु भित्र जिम्मेवारीका क्रमिक तह चढ्दै आज केन्द्रिय सदस्यमा भारी मतसहित निर्वाचित हुन सफल भएका छन्। विद्यार्थी राजनीति मार्फत जिल्लाबाट केन्द्रसम्म पुगेका सिंहप्रति अनेरास्ववियुका कार्यकर्ता तथा समर्थकले शुभकामना व्यक्त गरिरहेका छन् ।
















































हाम्रो पहुँच संवाददाता । ८ असार २०८२, आईतवार