
जाजरकोट । देशव्यापी रूपमा बढ्दो भ्रष्टाचार, विकृति र सरकारी संयन्त्रको दुरुपयोगको चपेटामा जुनीचाँदे गाउँपालिका पनि परेको खुलेको छ । गाउँपालिकाको छाप र लेटरप्याडको दुरुपयोग गरी अवैध राजस्व संकलन गरिएको विषय बाहिर आएपछि जनप्रतिनिधिहरूमाथि छानबिन र कारबाहीको माग गरिएको छ ।
नेकपा (विप्लव) जाजरकोटका सेक्रेटरी बिराजन सीले एक विज्ञप्ती सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीका छोरा महिनौंदेखि गाउँपालिकाको आधिकारिक छाप र लेटरप्याड प्रयोग गरेर अवैध रूपमा राजस्व संकलन गरिरहेका छन् । यस्तो कार्य अध्यक्षको जानकारी र सहमतिबिना सम्भव नहुने भन्दै उनले अध्यक्षकै संलग्नतामा शंका व्यक्त गरेका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जनताको करबाट सञ्चालन हुने गाउँपालिकाको स्रोत साधन अध्यक्षकै छोराले मनपरी तरिकाले प्रयोग गर्नु गम्भीर अपराध हो । यसमा अध्यक्षको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता देखिएको हुँदा गम्भीर छानबिन हुनुपर्छ ।”
यससँगै उपाध्यक्ष बिरेन्द्र शाहीमाथि पनि कार्यालयमा मदिरा सेवन गरी कर्मचारी र सेवाग्राहीहरूलाई धम्क्याउने, त्रास सिर्जना गर्ने र अमर्यादित गतिविधि गर्ने आरोप लगाइएको छ । यस्ता गतिविधिले सम्पूर्ण संस्थागत मर्यादा र जनताको भरोसामा आँच पु¥याएको भन्दै कानुनी कारबाहीको माग गरिएको छ ।
सेक्रेटरी बिराजन सीले भने, “यदि यस्ता अराजक र गैरकानुनी गतिविधिमा संलग्न जनप्रतिनिधिहरूलाई तत्काल छानबिन गरी कारबाही प्रक्रिया अघि नबढाइएमा हाम्रो पार्टी बाध्यात्मक रूपमा जनस्तरबाट प्रतिकार गर्नेछ ।”
उनले देशभर फैलिरहेको भ्रष्टाचार, सत्ता संरक्षणमा चलिरहेका आपराधिक गतिविधि, र जनअपेक्षाविपरीत देखिएको अराजकता विरुद्ध अब जनताले आँखा खोल्नुपर्ने अवस्था आएको बताए ।

















































हाम्रो पहुँच संवाददाता । १२ जेष्ठ २०८२, आईतवार