
खलंगा । स्वास्थ्य चौकी कुदु जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको छ । १० मापदण्ड र १६ वटा सुचक पुरा गरेपछि कुदु स्वास्थ्य चौकीलाई शुक्रबार (हिजो) पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
पोषणमैत्री स्वास्थ्य संस्था निर्देशिका–२०७९ अनुसार स्वास्थ्य चौकी कुदुलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको स्वास्थ्य चौकी कुदुका ईन्चार्ज पवन विष्ठले जानकारी दिए ।
निर्देशिकानुसार स्वास्थ्य चौकीको जनशक्ति व्यवस्थापन, उर्जा (विद्युत), खानेपानी, शौचालय तथा फोहर व्यवस्थापन, औषधीहरुको सुरक्षित प्रयोग, सामाजिक सचेतना, भौतिक संरचनाको व्यवस्थापन लगाएतका १० वटा मापदण्डलाई कुदु स्वास्थ्य चौकीले पुरा गरेको ईन्चार्ज विष्ठले बताए ।
कुदु स्वास्थ्य चौकीले नियमित गर्भजाँच, बृद्धि अनुगमन, संस्थागत जन्मेका बच्चाले एक घण्टा भित्रै स्तनपान, नियमसंगत भिटामिन ए, जुकाको औषधि, ६ महिनासम्म पूर्ण स्तनपान, ६ महिनापछि स्तनपानसंगै पुरक खाना, पूर्णखोप युक्त संस्था, नियमित बालबिटा पाएका बच्चा, फोलिक एसिड चक्की पाएका किशोरीहरु, झाडा पखाला लागेको वेला जिंक चक्की र पुनर्जलिय झोलको प्रयोग लगाएतका १६ वटा सुचक पुरा गरेको इन्चार्ज विष्ठले बताए ।
पोषणमैत्री स्वास्थ्य संस्था निर्देशिकामा १५ देखि १६ अंक प्राप्त गरेको स्वास्थ्य चौकीलाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सकिने व्यवस्था भएको जानकारी दिदै ईन्चार्ज विष्ठले १५.५० प्रतिशत अंक प्राप्त गरेपछि कुदु स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको जानकारी दिए ।
















































हाम्रो पहुँच संवाददाता । ११ जेष्ठ २०८२, शनिबार