लागुऔषध नियन्त्रण तथा व्यस्थित मदिरा विक्रि–वितरणमा होटल व्यवसायीसँग भेरी नगरपालिकाको छलफल

जाजरकाेट । लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानलाई प्रभावकारी बनाउन भेरी नगरपालिकाले होटल व्यवसायीसँग विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ। शनिबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका होटल व्यवसायीहरूसँग लागुऔषध नियन्त्रण र मदिराको व्यस्थित विक्रि–वितरणका विषयमा विस्तृत छलफल गरिएको हो।

कार्यक्रममा भेरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख अमृत पुनले होटल व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने भन्दै, उनीहरूबाट लागुऔषध दुव्र्यसनीको श्रृङ्खला तोड्न योगदानको अपेक्षा गरिएको बताए। “२५ वर्षभन्दा बढी समय लाग्ने यो संकट रोक्नका लागि होटल व्यवसायीहरूले सचेत रहनु अत्यावश्यक छ”, उनले भने। सामाजिक न्याय र आर्थिक समृद्धिको आधार तयार पार्न भावी पुस्ता निर्माणमा सघाउने आजको आवश्यकता रहेको उनको भनाइ थियो।

कार्यक्रममा स्रोत शिक्षक प्रेम बहादुर खत्रीले लागुऔषधको परिचय, लक्षण, र त्यसले पार्ने सामाजिक र मानसिक प्रभावका विषयमा प्रष्ट जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी नायव निरीक्षकले लागुऔषध प्रयोग, संचितिकरण तथा ओसारपसारमा संलग्न व्यक्तिहरूलाई लाग्ने कानुनी सजायका बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए।

नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले सामाजिक अभियान्ता, अधिकारकर्मी र नागरिक समाजले लागुऔषध नियन्त्रणमा खेल्न सक्ने भूमिकाबारे प्रस्तुति राखे।

कार्यक्रमको अन्त्यतिर भेरी नगरपालिका विपद् शाखाका प्रतिनिधि यज्ञ गौतमले योग, ध्यान र सकारात्मक जीवनशैलीबारे चर्चा गर्दै सहभागीहरूलाई १० मिनेटको ध्यान अभ्यास गराएका थिए। साथै, उनीहरूले मनोरञ्जनात्मक नाचमार्फत सहभागीहरूको मनोबल उच्च बनाउने प्रयास गरेका थिए।

भेरी नगरपालिकाले सञ्चालन गरिरहेको युवा जागरण अभियानअन्तर्गत यो छलफल कार्यक्रमलाई आगामी दिनमा अन्य पेशागत समूहहरूसँग पनि निरन्तरता दिने जनाइएको छ।

तपाईको प्रतिक्रिया