
सुर्खेत । कर्णाली प्रदेश सरकारले गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षति भएका विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण गर्न ठेक्का लगाउने तयारी गरेको छ । कर्णालीमा ७० वटा विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण गर्नुपर्ने विवरण यसअघि नै संकलन गरिसकेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले विद्यालय भवन र स्वास्थ्य संस्था निर्माणका लागि चालु आर्थिक वर्षमा ५० करोड रूपैयाँ छुट्ट्याएको छ। विद्यालय भवन र स्वास्थ्य संस्था पुनर्निर्माणका लागि जाजरकोटमा २५ करोड, रुकुम पश्चिममा २२ करोड र सल्यानमा तीन करोड रूपैयाँ विनियोजित गरेको थियो ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले जाजरकोटमा २२ विद्यालय र ११ स्वास्थ्य चौकी, रुकुम पश्चिममा २७ विद्यालय र पाँचवटा स्वास्थ्य चौकी, सल्यानमा दुई विद्यालय र तीन स्वास्थ्य चौकी निर्माण गरिने बताए । उनले भूकम्प गएका जिल्लाका जिल्ला समन्वय समितिको सिफारिसका आधारमा विद्यालय र स्वास्थ्य संस्थाहरू छनोट गरिएको बताए । उनले भने, ‘छनोट भएका विद्यालय र स्वास्थ्य संस्था निर्माणका लागि जाजरकोटमा टेन्डर प्रक्रिया सुरु भइसकेको छ ।’ रुकुम पश्चिम र सल्यानमा पनि ठेक्काको तयारी भइरहेको उनको भनाइ छ ।
विद्यालय भवन चार कोठा र स्वास्थ्य चौकी तीन कोठाको बनाउने तयारी प्रदेश सरकारले गरेको छ । संघीय सरकारको अनुमतिसँगै प्रभावित क्षेत्रमा विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक भवन निर्माण कार्य सुरु गरेको छ । जिल्ला समन्वय समिति जाजरकोटका समन्वय प्रमुख कालीबहादुर खत्रीका अनुसार भूकम्पका कारण झन्डै तीन सय विद्यालय भवनमा क्षति पुगे पनि प्राथमिकताका आधारमामात्र विद्यालय छनोट गरिएको बताए।
















































हाम्रो पहुँच संवाददाता । ६ माघ २०८१, आईतवार