महेशलाई प्रश्न : तपाईको उम्मेदवारी किन ? (अन्तर्वाता)


माघ १२ गते नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको २३ औं सम्मेलन हुदैछ । सम्मेलन बाट नयाँ नेतृत्व समेत चयन हुनेछ । विद्यार्थी नेताहरुले आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन् । केन्द्रीय उपाध्यक्षमा खसआर्य तर्फ विद्यार्थी नेता महेश अधिकारी ले उम्मेदवारी दर्ता गरेका छन् । उनी विद्यार्थीको हक अधिकारका लागि विभिन्न आन्दोलन, मञ्च, सभा र क्याम्पसहरुमा खरो रुपमा उत्र्ने नेता हुन् । उनै अधिकारी सँग हाम्रो पहुँच डटकमले संक्षिप्त कुराकानी गरेको छ ।

तपाईंले विद्यार्थी राजनीति कसरी सुरु गर्नुभयो ?
मैले विद्यार्थी राजनीतिको सुरुवात २०६३ साल तिर कक्षा सातमा पढ्दा इकाई कमिटी अध्यक्ष हुँदै सुरु गरेको हो । हाल अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य र अहिले हुन गइरहेको हाम्रो संगठनको पदाधिकारीको निर्वाचनमा केन्द्रीय उपाध्यक्ष खसआर्य तर्फ उम्मेदवारी दिएको छु ।

तपाईंको उम्मेदवारीको किन ? जित्ने आधारहरु केके हुन् ?
पहिलो कुरा त म आफै स्वयंम पनि नियमित विद्यार्थी हुँ । हालमा त्रिभुवन विश्वविद्यालयको राजनीतिक शास्त्रको केन्द्रीय विभागमा एम.फिल. पीएचडीको विद्यार्थी हुँ । म आफै विद्यार्थी हुनुको नाताले विद्यार्थीका समस्या र विद्यार्थीले भोग्नुपरेका विभिन्न सङ्घर्षका विषयमा म आफैं अवगत छु । लामो समय विद्यार्थी राजनीतिमा भएको अनुभवबाट विद्यार्थी संगठनलाई कस्तो बनाउनुपर्छ, विद्यार्थी संगठनका आजका मुद्दाहरू आन्दोलनका विषयवस्तुहरू के हुन् भन्ने कुरा मैले नजिकैबाट अनुभूति गरेको छु ।
मेरा जित्ने आधारहरू
विद्यार्थी आन्दोलनको लामो अनुभव छ र संगठनलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने पर्याप्त अनुभव छ । समाजवादी शिक्षा प्रणालीको बहसलाई अघि बढाउने प्रतिबद्धता छ । जसमा न्यायपूर्ण र समान शिक्षा प्रणालीको पक्षमा मेरो दृढ अडान रहने छ । अन्याय, भेदभाव, गरिबी, र अशिक्षाविरुद्ध दृढता छ । विद्यार्थीहरूलाई नेतृत्व गर्न र समाधान खोज्न उत्प्रेरित गर्ने क्षमता राख्दछु । मेरो इमानदार र अनुशासित छवि हो भनेर दावा गर्दछु । व्यक्तिगत इमान्दारी र संगठनप्रतिको निष्ठा मेरो प्राथमिकता हो ।

विद्यार्थीहरूको नवीन सोच र क्षमताको विकासमा प्राथमिकता रहने छ, सिर्जनशील, सक्षम, र जिम्मेवार नेतृत्व दिने योजना म सँग छ । डिजिटल युगसँग अनुकूल संगठन आजको आवश्यकता हो । डिजिटल प्रविधि उपयोग गरेर संगठनलाई गतिशील बनाउने म सँग अनुभव र योजना छ । प्रतिस्पर्धी संगठनलाई चुनौती दिन सक्ने प्रभावकारीताका साथ जुझारू र प्रभावशाली नेतृत्व प्रदर्शन गर्ने क्षमता छ । जुन गएको स्ववियू निर्वाचनमा पनि हामीले प्रयोग गरिसकेका छौं ।

विद्यार्थीहरूले मलाई विश्वास गर्छन किनकी म नामले भन्दा कामले हल्ला गरेको रुचाउने मान्छे हुँ । विद्यार्थीहरूको विश्वास र समर्थनमा आधारित उम्मेदवारी हो । संगठनको गौरवशाली इतिहास र नयाँ ऊर्जा दिने क्षमता म राख्दछु । अखिल (क्रान्तिकारी) लाई अझ प्रभावशाली र गतिशील बनाउने मेरो प्रतिबद्धता सदैव रहनेछ । सामाजिक न्याय र समानतामा अडिग दृष्टिकोण सबै विद्यार्थीहरूको हक र अधिकार सुनिश्चित गर्न दृढ संकल्प गरेको छु ।

संगठनलाई अगाडि बढाउन तपाईंको योजना ?

विद्यार्थी संगठनलाई अगाडि बढाउन मेरो योजनाहरू
सबै विद्यार्थीका लागि गुणस्तरीय र सर्वसुलभ शिक्षा सुनिश्चित गर्न पहल गर्नेछु । ग्रामीण र शहरी क्षेत्रमा रहेको शैक्षिक असमानता हटाउन विशेष कार्यक्रम चलाउन अति आवश्यक रहेको छ । विभेदकारी शिक्षा प्रणाली, मनपरी शुल्क, र असमानताको अन्त्यका लागि अखिल क्रान्तिकारीले सशक्त खबरदारी र आन्दोलन गर्नेछ । गरिबी, भेदभाव, र अशिक्षा विरुद्ध विद्यार्थी आन्दोलनलाई सशक्त बनाउने छ । संगठनलाई प्रविधिमैत्री र पारदर्शी बनाउँदै डिजिटल प्रविधिको प्रयोग गरि अखिल क्रान्तिकारीलाई थप डिजिटल प्रविधिमा लगिने छ । सबै तहका विद्यार्थीहरूमा सिर्जनशीलता, नेतृत्व क्षमता, र नवीन सोचको विकासका लागि तालिम र कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने । समाजवादी, न्यायपूर्ण, र सर्वसुलभ शिक्षा प्रणाली निर्माणका लागि अभियान चलाउने । निजीकरणको अन्त्य र सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि प्रभावकारी पहल गर्ने, संगठनलाई इमान्दार, अनुशासित, र प्रभावकारी बनाउँदै गौरवशाली इतिहासलाई निरन्तरता दिने, प्रतिस्पर्धालाई चुनौती दिन सक्ने जुझारू र गतिशील संगठनको विकास गर्ने ।

अहिले विद्यार्थी संगठन कमजोर देखिए नि ? बलियो बनाउने के गर्नुपर्ला ?

आज विद्यार्थी आन्दोलन माथि चौतर्फी आलोचना भइरहेको छ । किनभने विद्यार्थी नै विद्यार्थी आन्दोलनको मुद्दा र एजेन्डाबाट विमुख भएको हुनाले यो समस्या आएको हो । तसर्थ विद्यार्थी संगठन विद्यार्थी तिर फर्किएको संगठन बनाउनुपर्ने आजको अपरिहार्यता हो । जसमा हामीले शिक्षा क्षेत्रमा नवीनतम खोज र अनुसन्धान गरेर समयसापेक्ष शिक्षा प्रणालीको विकासका लागि अगाडि बढ्ने समाजवादी शिक्षा प्रणालीको बहसलाई मुखरित गर्दै आन्दोलनलाई शक्तिशाली बनाउने ।

हो, अहिलेको विद्यार्थी संगठन कमजोर देखिएको जस्तो लाग्न सक्छ । यसको कारण धेरै हुन सक्छन्, जस्तै विचारधारात्मक अस्पष्टता, नेतृत्वमा अनुभवी र युवा पुस्ताको सही समन्वयको अभाव, प्रविधि र नयाँ युगको चुनौतीसँग अनुकूलन गर्न नसक्नु, र विद्यार्थीहरूको वास्तविक मुद्दा सम्बोधन गर्न असफलता । विद्यार्थी संगठन बलियो बनाउनका लागि निम्न कुरा गर्नुपर्छः

विचारधारात्मक स्पष्टता र प्रशिक्षण,विद्यार्थीका वास्तविक मुद्दामा केन्द्रित हुने, सामाजिक संजाल र प्रविधिको उपयोग,युवा नेतृत्वलाई प्रोत्साहन गर्ने, दैनिक विद्यार्थी जीवनमा समस्या समाधान गने जातीय, वर्गीय, र क्षेत्रीय विभाजनभन्दा माथि उठेर सबै विद्यार्थीहरूलाई समेट्ने रणनीति अपनाउनुपर्छ । शैक्षिक, सांस्कृतिक, र सामाजिक गतिविधिहरू नियमित रूपमा आयोजना गरेर विद्यार्थीहरूलाई संगठनसँग संलग्न गराउनुपर्छ । स्थानीय तहमा इकाइ समिति बलियो बनाएर विद्यार्थीहरूसँग सिधा सम्पर्क राख्ने र उनीहरूको समस्या उठाउने काम गर्नुपर्छ ।

 

विद्यार्थी संगठन दलको प्रचारक मात्रै बनेको गुनासो सुनिन्छ, शैक्षिक मुद्दा किन प्राथमिकतामा पढ्दैनन् ?
सतहमा देख्दा त्यस्तो देखिए पनि वास्तवमा त्यस्तो होइन । किनभने राजनीतिले सबै क्षेत्रलाई चौतर्फी रुपमा गाँजेको छ । राजनीतिबाट चाहेर पनि कोही बाहिरीन सक्ने अवस्था हुँदैन र छैन पनि । राजनीतिले सिंगो समाजलाई नेतृत्व गर्दछ देशलाई नेतृत्व गर्दछ भने विद्यार्थीले सडकमा विद्यालयमा विश्वविद्यालयमा सशक्त रूपमा विद्यार्थी र राष्ट्र स्वाधीनताका लागि सदैव खबरदारी गरिरहका छौं ।

चाहे त्यो अफगानिस्तानको पुस्तना आन्दोलन, पछिल्लो समय भर्खरै मात्र बङ्गलादेशको विद्यार्थी आन्दोलन नेपालको सिङ्गो राज्य व्यवस्थामा आजको यो समाज निर्माणमा विद्यार्थीको महत्वपूर्ण भूमिका र योगदान छ । स्वभावैले विद्यार्थी संगठनहरू स्वतन्त्र भएपनि पार्टीका जनवर्गीय संगठनहरु हुन् र समाज विकास र निर्माणको चरणमा राजनीतिले जसरी भूमिका निर्वाह गर्छ विद्यार्थी संगठनले पनि आफ्नो भूमिका निर्वाह गर्ने हुँदा पार्टीसँग बढी झुकाव देखे जस्तो तर त्यस्तो होइन । खास नियमित पढिरहेका विद्यार्थीहरूले नेतृत्व नगर्दा विद्यार्थीहरूका शैक्षिक मुद्दाहरू प्राथमिकता नपरेका हुन् । यसको क्रमभङ्गता आवश्यक छ । अब यसको नेतृत्व अखिल क्रान्तिकारीले गर्नेछ ।

तपाईको प्रतिक्रिया