कर्णालीमा काम नगरेर ८ स्वास्थ्य संरचना भवन अधुरै


सुर्खेत । वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान भवनको निर्माण ०७८ असार ३० गतेबाट सुरु भएको हो । तर अहिलेसम्म उक्त भवनको काम ३० प्रतिशत पनि सम्पन्न भएको छैन । १८ करोड २२ लाख लागत सम्झौता रहेको भवन निर्माणको काम कौशल जगदम्बा सुपरस्टार निर्माण कम्पनीले ०७९ फागुन ३ गतेसम्म सम्पन्न गर्ने भनेर जिम्मेवारी लिएको थियो । उक्त कम्पनीको ठेकेदार हुन् कालिकोटकी तारा शाही ।  अस्पतालका कर्मचारीका अनुसार ठेकेदार शाही पछिल्लो समय भवन निर्माणस्थलमै आउन छाडेकी छन् । तर पनि उनले म्याद थप गराइसकिन् । निर्माण सम्पन्नका लागि ०८१ फागुन २९ गतेसम्म म्याद थप गरिएको छ । यद्यपि उक्त समयसम्म भवन निर्माण हुनेमा आयुर्वेद औषधालयका कर्मचारीलाई विश्वास छैन । १५ शय्याको भवन निर्माण गर्ने उद्देश्यसहित यहाँ सङ्घीय आयोजना ईकाइबाट बजेट व्यवस्थापन गरिएको हो । आयुर्वेद औषधालयका प्रमुख डा। शंकर रिजाल निर्माण कम्पनीको लापरबाहीका कारण भवन बन्न नसकेको बताउँछन् । यिनै ठेकेदार तारा शाहीले लिएका अन्य स्वास्थ्यका संरचनाको काम पनि अलपत्र अवस्थामै छ ।

उनले अन्य कम्पनीसँग मिलेर जिल्ला अस्पताल दैलेखको भवन निर्माण, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणको काम लिएकोमा ती पनि अलपत्र छन् । आपूर्ति केन्द्र अहिले भाडाको घरमा छ । ०७९ फागुन ३ गते नै आपूर्ति केन्द्रको भवन निर्माण सम्पन्न गर्नुपर्ने हो तर, अहिलेसम्म जम्मा ६० प्रतिशतमात्रै काम भएको छ । ठेकेदार शाहीले ०७८ असोज २४ गतेदेखि निर्माण कार्य सुरु गरेकी थिइन् । तर बिचमा काम नगर्दा भवन निर्माणको काम अधुरै रह्यो । उक्त भवन निर्माणको म्याद पनि ०८१ चैत ३० गतेसम्मका लागि थप गरिएको छ । यस्तै जिल्ला अस्पताल दैलेखको भवन निर्माणमा अहिलेसम्म ४० प्रतिशतमात्रै काम भएको छ । ०७८ जेठ १० गतेबाट निर्माण कार्य सुरु गरेको उक्त भवन ०८१ जेठ ३० गते सम्पन्न गर्नुपर्ने हो । तर म्याद सकिँदा जम्मा ४० प्रतिशतमात्रै काम भएको छ ।यी बाहेक ठेकेदारका कारण स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम, सल्यान अस्पताल भवन, स्वास्थ्य सेवा कार्यालय हुम्लाको भवन, सुर्खेतको मेहलकुना अस्पताल भवन निर्माण, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणको काम अधुरै छ । यी सबै स्वास्थ्य संरचना निर्माणका लागि म्याद गर्ने काम भए पनि ठेकेदारले कामको गति बढाएका छैनन् ।

कर्णालीमा काम नगरेर स्वास्थ्य संरचना अधुरै राख्ने ठेकेदारहरुलाई बुधबार कर्णालीका नवनियुक्त सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालयमै बोलाएर चाँडो काम सम्पन्न निर्देशन दिएका छन् । ठेकेदारलाई मन्त्री भण्डारीले भने, ‘म्याद थप भए अनुसार समयमै काम सम्पन्न गर्नुहोस्, अबका दिनमा कुनै पनि बाहनाबाजी गर्न पाइने छैन ।’ अहिले मन्त्रालय अन्तर्गत विभिन्न जिल्लामा १४ वटा योजना सञ्चालनमा छन् । तीमध्ये पाँच वटा योजनाको म्याद सकिएका छन् । उनीहरूका लागि मन्त्रालयले अन्तिम पटक म्याद थप गर्न समन्वय गरिदिने तर त्यसभित्र काम सम्पन्न गरिनुपर्ने मन्त्री भण्डारीले बताए । ठाउँ–ठाउँका संरचना अलपत्र पारेकी सुपरस्टार कन्स्ट्रक्सनकी सञ्चालक तारा शाहीले मन्त्री भण्डारी समक्ष समयमा काम गर्न नसकिएको स्वीकार गरिन् । तर उनले कोभिडलाई दोष दिइन् । जबकि त्यो बेला कोभिड करिब नियन्त्रणमा आइसकेको थियो । चालु आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता उनले मन्त्रीसमक्ष जनाएकी छन् । सल्यान अस्पतालको भवन निर्माणको जिम्मा लिएको आरोव्य सुवेदी जेभीका अनुसार ६५ प्रतिशत काम सकिएको छ । भुक्तानी समयमा नपाएको कारण ढिलाइ भएको कम्पनीका प्रतिनिधि जितेन्द्र महतोले बताए । यदि समयमा भुक्तानी पाए ३–४ महिनामै बाँकी काम सम्पन्न गर्ने उनको भनाइ छ । रुकुम प्रदेश अस्पतालको काम अबको ४–५ महिनामा सम्पन्न गरिने कम्पनीका प्रतिनिधिले बताए । कम्पनीले गत असार मसान्तमा कार्य सम्पन्न गर्नुपर्ने थियो । उनले पानीको अभावका कारण समयमा काम गर्न ढिलाइ भएको बताए ।

तपाईको प्रतिक्रिया