सल्यान । जिल्लामै उच्च शिक्षा हासिल गर्न सहज होस् भनेर शारदा नगरपालिका २ लुहापिङ्गमा २०३७ मा सल्यान बहुमुखी क्याम्पस स्थापना भयो । प्रमाणपत्र तह, स्नातक हुँदै स्नातकोत्तरसम्म पढाइ हुने उक्त क्याम्पसमा विद्यार्थीको अत्यधिक चाप हुन्थ्यो । यो वर्ष शिक्षा, मानविकी, व्यवस्थापन विषयमा पठनपाठन भइरहेको उक्त क्याम्पसमा स्नातकोत्तर तहमा ३५ र स्नातकमा २ सय ६५ गरी जम्मा ३ सय विद्यार्थी छन् । विद्यार्थी नहुँदा सुनसान देखिएको २०३७ सालमा स्थापना गरिएको सल्यान बहुमुखी क्याम्पस । २०६३ देखि ६७ सम्ममा शारदा–२ सितलपार्टीमा शिवजन, छत्रेश्वरी गाउँपालिकाको शंखमुलमा शारदा, कपुरकोटमा कपुरकोट, बाग्चौर नगरपालिकाको थारमारेमा जनकल्याण, बन्गाड कुपिण्डे नगरपालिकामा बन्गाड र दार्मा गाउँपालिकामा फारुला क्याम्पस गरी अहिलेसम्म सात क्याम्पस सञ्चालनमा छन् । सल्यान बहुमुखी, शिवजन, जनकल्याण र शारदा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह नै सञ्चालनमा आएको छ । स्नातकदेखि स्नातकोत्तर सञ्चालन हुँदै आएका जिल्लाका सात क्याम्पस पछिल्ला केही वर्ष यता सुनसान हुँदै गएका छन् ।
१२ कक्षा सकेर पढ्दै कमाउँदै गर्ने उद्देश्यले विद्यार्थीहरू विदेशिनुका साथै भर्ना भएका आधाजसो बीचैमा छाडेर बाहिर जाने र केहीले सहरतिर गएर पढ्ने भएपछि जिल्लाका क्याम्पस सुनसान बन्दै गएका हुन् । यहाँबाट १२ कक्षा सकेर विदेसिने विद्यार्थी बाहेक माथिल्लो कक्षा पढ्न अधिकांश काठमाडौं, नेपालगन्ज, दाङ, सुर्खेततिर जान्छन् । विगतमा १५ सयसम्म विद्यार्थी हुने एउटै क्याम्पस अहिले जेनतेन चलेका छन् । २०६९ मा स्थापना भएको बन्गाड क्याम्पसमा १ सय ५०, फारुला क्याम्पसमा १ सय ६०, २०६७ मा स्थापना भएको कपुरकोट क्याम्पसमा ८०, २०६४ मा स्थापना भएको शारदा क्याम्पसमा स्नातकोत्तरमा १२ र स्नातकमा अन्य गरी ४ सय, शिवजन क्याम्पसमा स्नातकोत्तरमा ८५ र स्नातकमा अन्य गरी ७ सय र २०६३ मा स्थापना भएको जनकल्याण क्याम्पसमा स्नातकोत्तरमा ७५ र अन्य स्नातकमा गरी ७ सय ७५ गरी सात क्याम्पसमा अहिले जम्मा २ हजार ४ सय विद्यार्थी छन् । विद्यार्थी पाउन नसक्दा क्याम्पसको सञ्चालन खर्च धान्न कठिनाइ आएको छ । सल्यान बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक भए पनि विद्यार्थी नपाउँदा सञ्चालनमा कठिनाइ भएको प्रमुख विनोद ओलीले बताए । ‘केही वर्षअघि ५ सयसम्म विद्यार्थी पुगेका थिए । अहिले जम्मा ३ सय छन् । बीचैमा छाड्ने समस्याले गर्दा परीक्षा दिँदासम्म त्यत्ति पनि हुँदैनन्,’ उनले भने, ‘विद्यार्थी पाउने मुस्किल भएपछि गत वर्षसम्म प्राध्यापकलाई तलब खुवाउन गाह्रो हुन्थ्यो । आंगिक भएपछि तलबको संकट नभए पनि समस्या भने टरेको छैन ।’
विद्यार्थी घट्दा क्याम्पस सञ्चालनमा कठिनाई मात्र नभई पूर्णकालीन प्राध्यापक समेत राख्न कठिनाइ भएको जनकल्याण क्याम्पस थारमारेका प्रमुख पोखरराज भण्डारीले बताए । ‘मानविकी, शिक्षा र व्यवस्थापन विषय पढाइ भइरहेको क्याम्पसमा पहिले १ हजार ६ सय विद्यार्थी थिए । अहिले आधा घटेका छन् । ‘ड्रप आउटको समस्या झन्डै ६० प्रतिशत छ । अन्तिम परीक्षा दिँदासम्म विद्यार्थी ३ सय बढी पुग्दैनन् ।’ क्याम्पसमा ६ अस्थायी र अन्य पार्टटाइमर गरी २६ जना प्राध्यापक छन् । ‘विद्यार्थीबाट लिएको शुल्कले प्राध्यापकलाई तलब खुवाउन पुग्दैन । सरकारले अनुदान दिँदैन । क्याम्पस चलाउन धेरै गाह्रो भएको छ,’ उनले भने ।
विद्यार्थीको संख्या घटेकै कारण रकम नजुटेर असारदेखि १४ जना प्राध्यापकले तलब खान नपाएको फारुला क्याम्पस दार्माका प्रमुख शिव हमालले बताए । विद्यार्थी नपाउँदा क्याम्पस बन्द हुने अवस्था देखिन थालेको उनले बताए ।‘एसईई तथा प्लस टु पास गरेर विद्यार्थी राम्रो विषय खोज्दै सहरी क्षेत्रका क्याम्पस तथा काठमाडौं जाने गरेका छन्,’ उनले भने, ‘गाउँमा पढ्ने भनेकै आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरी हुन् । उनीहरु पनि ऋण साहु गरेर रोजगारीका लागि खाडीमुलुक गइरहेका छन् ।’ २०६९ मा स्थापना भएको क्याम्पसमा चार वर्षे स्नातकमा १ सय ६० विद्यार्थी रहेकामा नियमित पढ्न आउने ८र१० मात्रै हुने उनले बताए । माध्यमिक तह तथा प्लस टु पढाउँदै आएका शिक्षकले कक्षा धानिरहेकाले मात्र क्याम्पस टिकेको उनले बताए ।
‘पालिकाभित्र किशोरकिशोरी नै देखिन छाडेपछि क्याम्पसले विद्यार्थी पाउने कुरै छैन । प्रदेश र स्थानीय सरकारले गम्भीर नभए क्याम्पस बन्द नहोलान् भन्न सकिन्न ।’ प्लस टु पढ्दासम्म विद्यालयमा उल्लेखनीय विद्यार्थी हुने भए पनि बाहिर जाने ट्रेनले नै क्याम्पसले केही बर्षयता स्नातक तहमा विद्यार्थी पाउन नसकेको २०६७ सालमा स्थापना भएर विविएस पढाइरहेको कपुरकोट क्याम्पसमा एक सय विद्यार्थी पनि नपुग्दा प्राध्यापक भर्ना गर्न नसकिएको क्याम्पस प्रमुख रुपलाल यरीले बताए । ‘अहिलेसम्म पार्टटाईमर प्राध्यापकबाट काम चलाइरहेका छौं । तलब खुवाउन नसक्ने भएकैले फुलटाईमर प्राध्यापक भर्ना गर्न सकिएको छैन,’ उनले भने ।
१२ कक्षा पढेर विदेसिने क्रम क्रम नरोकिए क्याम्पसमा अझै विद्यार्थी घट्ने उनले बताए । क्याम्पसको आफ्नो भौतिक संरचना नभएकाले अहिले पठनपाठनका लागि नेरामावि किमुचौरको भवन प्रयोग गर्दै आएको उनले बताए । राजनीतिक फाइदाका लागि नेताहरुले जबरजस्ती क्याम्पस सञ्चालन गर्न लगाए पनि सरकारले अहिलेसम्म लगानी नगरेको र विद्यार्थी शुल्कबाटै प्राध्यापकको तलब तथा अन्य खर्च जुटाउनु पर्ने समस्याले सञ्चालनमा कठिनाइ आएको शारदा क्याम्पस शुखमुलका प्रमुख यज्ञ चन्दले बताए । स्नातक तहमा केही विद्यार्थी पाए पनि स्नातकोत्तरमा त मुस्किल भएको उनले बताए । ‘हाम्रो क्याम्पसमा ४ सय विद्यार्थी छन् । स्नातकोत्तरमा जम्मा १२ जना छन् । भर्ना भएका विद्यार्थी पनि पढ्न आउदैनन् । त्यसले गर्दा सधैं सुनसान जस्तै हुने गर्छ,’ उनले भने । विद्यार्थीबाट उठाएको शुल्कले तलब खुवाउनै नपुग्ने भएकाले क्याम्पसमा चाहिने अन्य शैक्षिक सामग्री जुटाउन कठिनाई भएको र उनको भनाइ छ ।
हाम्रो पहुँच संवाददाता । ३० श्रावण २०८१, बुधबार