भूकम्पको छ महिना : थन्कियो जिल्लामै दोस्रो किस्ता, विपद् पोर्टलमा २८ हजार ५५० इन्ट्री


जाजरकोट । बारेकोट गाउँपालिका —०१ रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ महिना पुग्यो । भूकम्प पीडितहरुले अस्थायी आवास निर्माणको पहिलो किस्ता नै पाउन सकेका छैनन् । दोस्रो किस्ताका लागि २८ हजार ५५० जनाको नाम विपद् पोर्टलमा इन्ट्री गरिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटको सोमबार सम्मको तथ्यांक अनुसार भेरी नगरपालिकामा पाँच हजार ५०३ भूकम्प पीडितको नाम विपद् पोर्टलमा इन्ट्री गरिएको छ । नगरपालिकामा छ हजार ६३१ जना लाभग्राही कायम गरिएको छ ।

यस्तै, नलगाड नगरपालिकामा आठ हजार ९७ लाभग्राही कायम गरिएकोमा दुई हजार ६८७ जनाको नाम विपद् पोर्टलमा समावेश गरिएको छ । छेडागाड नगरपालिकामा सात हजार ५१ जनाको सवमिट गरिएको छ । बारेकोट गाउँपालिकामा पाँच हजार ९०, कुशे गाउँपालिकामा एक हजार ४४, जुनीचाँदे गाउँपालिकामा चार हजार १७४ र शिवालय गाउँपालिकामा तीन हजार एक भूकम्प पीडितको दोस्रो किस्ताका लागि विपद् पोर्टलमा समावेश गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले बताए । कुल ४२ हजार ५२४ लाभग्राही रहेकोमा हाल सम्म ३३ हजार ३६० अस्थायी आवास निर्माण गरिएको छ । पालिका तथा सरकारबाट ३१ हजार ३०६ र संघसस्थाहरु बाट एक हजार ९५४ अस्थायी आवास निर्माण भएका छन् । अस्थायी आवास निर्माण गरेका भूकम्प पीडितहरु दोस्रो किस्ताको प्रखाईमा छन् । दोस्रो किस्ताको पैसा जिल्ला विपद् व्यवस्थापन समितिको खातामा खन्किएको छ ।

स्थानीय तहको ढिलाईका कारण भूकम्प पीडितहरुले दोस्रो किस्ता पाउन सकेका छैनन् । दुई हजार ७०१ जनाले पहिलो किस्ताका लागि सम्झौता गर्न सकेका छैनन् । जिल्ला विपद् व्यवस्थापन समितिले एक अर्व तीन करोड ४१ लख ७५ हजार रुपैयाँ स्थानीय विपद् व्यवस्थापन समितिको खातामा पठाईसकेको छ । ९६ करोड ३५ लाख ५० हजार रुपैयाँ भूकम्प पीडितको खातामा पठाईएको छ । स्थानीय तहमा इन्टरनेटको समस्या, कर्मचारीको ढिलासुस्ती, भौगोलिक विकटताका कारण अझै भुकम्प पीडितहरुले पालिका सँग सम्झौता गर्न सकेका छैनन् ।

गुजरा चलाउन गिट्टी कुट्दै भूकम्प पीडित
भूकम्पपीडित महिला गिट्टी कुटेर परिवार पाल्न थालेका छन् । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका महिला घरखर्च जोह गर्न गिट्टी कुट्न थालेका हुन् । कतिपयले सदरमुकाममा आवास निर्माण गर्न थालेपछि घर निर्माणका लागि चाहिने गिट्टी कुट्न पीडित महिला खटिएका हुन् । भूकम्पले घर भत्किएर महिला, बालबालिका तथा वृद्धवृद्धा बढी जोखिममा परेका छन् ।

श्रम गरेर कमाएको पैसाले छाक टार्नुका साथै घरखर्च चलाउँदै आएका छन्  । आम्दानीको अन्य स्रोत नभएपछि गिट्टी कुटेर परिवार पाल्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । त्रिपाल तथा टेन्टको अस्थायी आवासमा रात काट्दै आएका भूकम्पपीडित महिला खानाका लागि गिट्टी कुटेर पैसा कमाई परिवारलाई गास, बासको जोहो गरेका छन्  ।

भेरी नगरपालिका–१, तिमिलेकी रामकला खड्काले गाउँको घर भूकम्पले भत्किएको र घर बनाउने रकम नहुँदा समस्या भएको बताए  । सरकारले अस्थायी आवास बनाउन दिएको २५ हजार रुपियाँ पाए पनि त्यसपछि रकम नपाउँदा समस्या भएको उनको गुनासो छ । छ महिना बित्दासमेत सरकारले रकम नदिँदा ऋण तिर्न, परिवार पाल्नका लागि बजारमा गिट्टी कुट्न थालेको भनाइ पीडित महिलाको छ । अरूले घर बनाउन लागेका बेला गिट्टीको माग बढेको थाहा पाएपछि आफूहरूले कुट्न थालेको उनको भनाई छ ।
उनी सहित अहिले १० जना महिलाले चर्को गर्मीमा पनि गिट्टी कुट्ने काम गरिरहेका छन्  । भेरी नगरपालिका–१, डौरीकाडाँकी सीता सुनारले गाउँमा कृषि पेसाका लागि पर्याप्त जमिन नहुँदा श्रम गरी बिहान बेलुका खानाको जोहो गर्न सदरमुकाममा गिट्टी कुट्ने गरेको बताईन् ।

दिनभरि गिट्टी कुटेर बेलुका त्रिपालमुनि बस्नु परेको उहाँको अनुभव छ । एक हप्तामा एक ट्याक्टर गिट्टी बनाउने गरेको भन्दै उहाँले त्यही बेचेर रोजीरोटी चलाएको उल्लेख गरे ।

सरकारले उचित व्यवस्थापन नगर्दा गरिब, दलित, आर्थिक अवस्था कमजोर भएका महिलाले दुःख पाएका छन् । एक कट्ठा चामल, लत्ताकपडा दिनुभन्दा सरकारले सिपमूलक कार्यक्रम सञ्चालन गरी महिलालाई आत्मनिर्भर बनाइदिए खुसी उनको भनाई छ । सदरमुकाम खलङ्गामा १२ जनाभन्दा बढी महिला गिट्टी कुट्न थालेका छन् । घर निर्माणका लागि बजारमा गिट्टीको माग बढ्दै गएपछि बेरोजगार महिला दिनभरको गर्मीमा खुला आकाशमा बसी गिट्टी कुट्न बाध्य भएका छन् ।

पहिलो किस्ता वितरण सक्नै समय लागिरहेको अवस्थामा दोस्रो किस्ता कहिलेबाट लाभग्राहीको खातामा जान्छ भन्नेमा सम्बन्धित निकाय नै अनविज्ञ छन् । प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्य दोस्रो किस्ता वितरणका लागि जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति तयारी अवस्था रहेको बताए । तर स्थानीय तहबाट विपद् पोर्टलमा लाभग्राहीको विवरण इन्ट्री नभइसकेकोले दोस्रो किस्ता वितरणमा ढिलाइ भएको उनले बताए । अस्थायी आवास, भूकम्पले भत्किएको घरको फोटो सहित अन्य विवरण पोर्टलमा इन्ट्री भएपछि मात्र दोस्रो किस्ता वितरण सुरु हुने प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया