खेल क्षेत्रमा स्थानीय तहको शुन्य लगानी : प्राथमिकतामा न खेल न खेलाडी !


जाजरकोट । जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी नगरपालिका मै छैन खेलमैदान । खेलमैदान नहुँदा खेल क्षेत्रले फड्को मार्न सकेको छैन् । भेरी नगरपालिका मात्र होइन् जाजरकोटका सात वटै स्थानीय तहमा खेल क्षेत्र प्राथमिकतामा परेको देखिदैन् । खेल क्षेत्रको पूर्वाधार, जनशक्ति व्यवस्थापनमा सरकारहरुले ध्यान नदिँदा कर्णालीका अन्य जिल्लाको तुलनामा जाजरकोट निकै पछि छ । भलिवल, फुटवल, कवड्डी, ब्याटमिन्टन खेल्ने मैदान नभएपछि यहाँको खेलक्षेत्रले फड्को मार्न नसकेको खेलाडीको गुनासो छ । खेलकुदमा जिल्लाले राम्रो सम्भावना बोकेको छ । खेलकुदप्रतिको आकर्षण बढ्दै जाँदा खेलाडी पनि उत्पादन हुन थालेका छन् ।

पूर्वाधार अभाव भएपनि खेलकुदप्रतिको मोह बढ्दै गएको छ । खेल जिल्लालाई चिनाउने माध्यम पनि हो । धेरै जिल्लाहरु खेलबाटै चिनिएका उदाहरण पनि छन् । खेलकुदले जिल्लाको मात्रै होइन् देशको पहिचान, व्यक्तिको प्रतिष्ठालाई उच्च बनाउँदछ । खेल र खेलाडी राष्ट्रको गहना हुन् । तर जिल्लामा अझै पनि खेलकुदप्रतिको लगानी निकै कम छ ।

यहाँका स्थानीय तहहरुले खेलकुदमा लगानी गर्न धेरै चासो दिएको पाइदैन् । खेलकुद प्राथमिकतामा पर्न नसक्नु नै जिल्लाका लागि दुखद् कुरा हो । विगतको तुलनामा खेल क्षेत्रमा केही सुधार भएता पनि खेलाडीको जीवनस्तर भने खासै परिवर्तन आउन नसकेको भलिवल खेलाडी भीमबहादुर विकले बताए ।

‘खेलाडीले आफ्नो जिउज्यान लगाएर खेल खेल्छन्, उनले भने, ‘आफ्नो जीवन नै खेलकुदमा समर्पण गर्ने गरेका छन्, तर सरकारको तर्फबाट खेलाडीको मनोबल बढाउने खेलाडीको ऊर्जा कायम राख्न प्रोत्साहन गर्ने र जीवनस्तर सुधारका निम्ति कुनै पनि नीति कार्यक्रम ल्याउन सकेका छैनन् ।’

स्थानीय तहहरुले ल्याएका नीति कार्यक्रम पनि प्रभावकारी रूपमा भएका कार्यान्वयन छैनन् । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने खेलकुदको मूलनारा रहेको छ । यो नाराले समेत साथ सच्चिन जरूरी छ । स्वास्थ्य र राष्ट्रका लागि मात्र होइन्, अब खेलकुद रोजगारीको क्षेत्र पनि बन्नुपर्छ । अहिले स्वास्थ्यका लागि खेलकुद पनि बनेको छ । राष्ट्रका लागि पनि खेलकुद बनेको छ । तर खेलाडीको लागि चाहिँ खेलकुद बन्न नसकेको खेल क्षेत्रमा लामो सयम विताएका खेलाडी सुदाम गौतमले बताए ।

खेल खेल्नका लागि खेल मैदान र राम्रो पूर्वाधार विकासको विकास हुनुपर्छ । खेलाडीको जीवनस्तरमा सुधार गर्न राज्यको लगानी बढ्न आवश्यक छ । पछिल्लो समय स्थानीय सरकारले ल्याएको एक स्थानीय तह, एक खेल मैदान, प्रादेशिक रंगशाला जस्ता नीति पनि प्रभावकारी छैन् । खेलकुदमा आमूल परिवर्तन ल्याउन खेलकुदको दिर्घकालीन विकासका निम्ति खेलाडीको विकासमा पनि ध्यान जान जरूरी छ । नयाँ खेलाडीको उत्पादनदेखि पुराना खेलाडीलाई बाँच्ने आधार खेल क्षेत्रमा हुनुपर्छ । खेलाडीको उर्वरक्षेत्र विद्यालयलाई नै बनाउन जरूरी छ भने खेलकुदलाई शिक्षासँग जोड्न जरूरी छ ।

प्रत्येक वडा–वडा, स्थानीय तह र प्रदेशमै अनिवार्य रूपमा खेल प्रशिक्षक नियुक्त गरी स्थानीय स्तरबाटै खेलको विकास गर्न जरूरी रहेको जिल्ला खेलकुद विकास समिति जाजरकोटका प्रमुख जयप्रसाद आचार्यले बताए । ‘यहाँका स्थानीय तहहरुको लगानी कमै छ, न जनशक्ति छन् न पूर्वाधार छन्, उनले भने, ‘स्थानीय तहहरुको लगानी खासै देखिदैन् ।’

जिल्ला खेलकुद विकास समितिमा अहिले एक जना कार्यालय सहयोगी र आफु मात्रै रहेको उनको भनाई छ । भेरी नगरपालिकाले वडा नं. १३ कुदुमा रंगशाला बनाउँदै छ । बारेकोट गाउँपालिकाले वडा नं. २ को सुगुरखालामा रंगशाला बनाउन थालेको छ तर अहिले अलपत्र जस्तै बनेको छ । खेलकुद क्षेत्रमा आफु आईसकेपछि राष्ट्रपति रनिङ्ग शिल्ड खेलाउन सुरु गरेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

स्थानीय तहहरुले एक जना प्रशिक्षक राख्न सक्ने अधिकार छ तर कुनै पनि स्थानीय तहले राख्न सकेको छैनन् । खेलक्षेत्रमा राम्रो सम्भावना भएका खेलाडीहरु नै खेल क्षेत्र बाट पलायन भईरहेका छन् । खेल क्षेत्रमा स्थानीय सरकारको लगानी शुन्य जस्तै भएको बारेकोटका स्थानीय विर प्रकाश रोकायले बताए । एक स्थानीय तह एक रंगशालाको नीति कागजमा सीमित छ । खेलाडीहरुलाई न प्रोत्साहन छ न प्राथमिकता छन् । खेल क्षेत्र ओझेलमा पर्नुको विकल्प छैन् । यसको अन्त्यका लागि स्थानीय सरकारहरुले खेल क्षेत्रमा पर्याप्त लगानी गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया