भूकम्पको पाँच महिना : अस्थायी आवास निर्माणको गति सुस्त, दुई हजार बढीको अझै भएन् सम्झौता


जाजरकोट । गत कार्तिक १७ गतेको भूकम्पबाट प्रभावित लाभग्राहीले अझै पनि दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । भूकम्पको पाँच महिना पुरा हुँदा पनि पहिलो किस्ता वितरण नै सकिएको छैन ।

जिल्ला प्रशासन कार्यालयको सोमबार सम्मको तथ्याङ्क अनुसार जिल्लामा ३८ हजार ५४२ लाभग्राहीको खातामा पहिलो किस्ता गएको छ । तर जिल्ला विपद् कोषबाट स्थानीय विपद् कोषमा ४२ हजार ५२४ लाभग्राहीका लागि पहिलो किस्ता बापत कुल एक अर्व तीन करोड ४१ लाख ७५ हजार गइसकेको छ ।
यो तथ्याङ्क अनुसार स्थानीय तहबाट अझै तीन हजार ९८२ लाभग्राहीले पहिलो किस्ताकै रकम पाउन बाँकी देखिन्छ । अहिले ३२ हजार ३४५ अस्थायी आवास बनेको र दश हजार १७९ वटा आवास बनिरहेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ । पहिलो किस्ता वितरण सक्नै समय लागिरहेको अवस्थामा दोस्रो किस्ता कहिलेबाट लाभग्राहीको खातामा जान्छ भन्नेमा सम्बन्धित निकाय नै अनविज्ञ छन् ।

प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्य दोस्रो किस्ता वितरणका लागि जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति तयारी अवस्था रहेको बताए । तर स्थानीय तहबाट विपद् पोर्टलमा लाभग्राहीको विवरण इन्ट्री नभइसकेकोले दोस्रो किस्ता वितरणमा ढिलाइ भएको उनले बताए । अस्थायी आवास, भूकम्पले भत्किएको घरको फोटो सहित अन्य विवरण पोर्टलमा इन्ट्री भएपछि मात्र दोस्रो किस्ता वितरण सुरु हुने प्रशासनले जनाएको छ ।

यस्तै, विपद् पोर्टलमा २६ हजार ४९१ जनाको नाम इन्ट्री भएको छ । भेरी नगरपालिकामा पाँच हजार ४६४ जनाको नाम इन्ट्री भएको छ । नलगाड नगरपालिकामा एक हजार ९१२, छेडागाड नगरपालिकामा छ हजार ३२४, बारेकोट गाउँपालिकामा पाँच हजार ९०, कुशे गाउँपालिकामा ५२३, जुनीचाँदे गाउँपालिकामा चार हजार १४७ र शिवालय गाउँपालिकामा तीन हजार एक जनाको इन्ट्री गरिएको छ ।

अस्थायी आवासकै अनुदान पाउन ढिलाइ भएपछि स्थायी आवास सहजै बन्नेमा भूकम्प प्रभावित विश्वस्त छैनन् । नलगाड नगरपालिका ०१ का कमल महर अस्थायी आवासको अवस्था हेर्दा सहजै र तत्कालै स्थायी आवास निर्माण हुने नदेखेको बताए । अव बर्खा आउन लागेको र अस्थायी आवासमा बर्खा काट्न मुस्किल हुने उनको भनाई छ । ३९ हजार ८२३ जनाले पहिलो किस्ताका लागि पालिका सँग सम्झौता गरेका छन् ।

बारेकोट गाउँपालिका —०२ रोकायगाउँकी सुनिता विकको घर गत कार्तिक १७ गतेको शक्तिशाली भूकम्पले चिराचिरा पारिदियो । भूकम्पले घर बस्न नमिल्ने बनाएपछि तत्काल त्रिपालमा उनको परिवार सर्याे । हिउँदे कठ्यारिदो जाडोमा उनको परिवारले आधा हिउँद काटे ।

त्यसपछि गत माघ पहिलो साता लाभग्राही कायम गरी स्थानीय सरकारले अस्थायी आवास वापतको पहिलो किस्ता २५ हजार रुपैयाँ उनको खातामा हालिदियो । त्यही २५ हजारको साहारामा उनले जस्तापाता खरिद गरिन् । ‘मैले ३० वटा जस्तापाता खरिद गरेकी थिए, त्यसको मुल्य ३७ हजार बढी भयो, उनले भनिन्, ‘खरिद वापतको भाडा र जस्ताको मुल्य त्यति प¥र्याे, स्थानीय साहुलाई दोस्रो किस्ता आएपछि बाँकी दिउँला भने अहिले पैसा आउने सुरसार छैन् ।’

‘साहुले अहिले पैसा दिनुहोस् भनेर हैरान पारेका छन्, चामल खाने पैसा छैन्, कहाँ बाट दिने ? उनले थपिन्, ‘हिजो मात्रै साहु आएर पैसा दिनुहोस्, चेक काट्नुहोस् भन्दै थर्काएर गए ।’ सोही गाउँका दानबहादुर कामीको घर पनि भुकम्पले भत्कायो । लामो समय त्रिपालमा बसेको उनको परिवारलाई माघमा सरकारले पहिलो किस्ता हालिदियो ।

पहिलो किस्तामा बाँकी साहु सँग उधारो राखेर अस्थायी आवास निर्माण गरे । पुरै जस्ताले अस्थायी आवास बनाएका उनले ६० हजार बराबरको आवास निर्माण गरेका छन् । उनले भने, ‘हामी सँग एउटा पैसा पनि थिएन्, सरकारले पठाएको २५ हजारमा ३५ हजार ऋण काढेर आवास बनायौं, साहुलाई दोस्रो किस्ता आएपछि पैसा दिउँला भनेर चेक समेत काटिदिएको छु । तर खातामा पैसा आएको छैन् साहुले पैसा माग्दै फोन गरिरहेका छन् ।’

गाउँमा फैलिएको अनिवार्य जस्ता खरिद गर्ने अफवाहले जस्ता खरिद गरे । गोजीमा सुक्को पैसा नभएका उनले ऋण काढेर समेत अस्थायी आवास बनाए । अहिले उनी साहुको चपेटामा छन् । पैसा कहिले दिनुहुन्छ भन्दै साहुले फोन गरिरहने गरेको उनले बताए । उनीहरु त उदाहरण पात्र मात्रै हुन् ।

जाजरकोटका अधिकांश भूकम्प पीडितहरुमा यो समस्या थपिएको छ । ऋण काढेर अस्थायी आवास निर्माण गरेका पीडितहरुलाई साहुले पैसा मागेपछि समस्या भएको हो । छिट्टै दोस्रो किस्ता पाईहाल्ने आशामा उनीहरुले जस्तापाताहरु पसलहरु उधारो खरिद गरे । साहुहरुले पनि दिए । तर अहिले भूकम्पको पाँच महिना पुग्दा समेत दोस्रो किस्ता पाउन सकेका छैनन् । दोस्रो किस्ता नआउँदा साहुको धम्की समेत सहनुपरेको कुशे गाउँपालिका —०४ का कालीबहादुर शाहीले बताए । दोस्रो किस्ताका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण कार्यविधि २०८० बमोजिम विपद् पोर्टलमा इन्ट्री गर्नुपर्छ । अहिले यहाँका स्थानीय तहहरु विपद् पोर्टलमा भूकम्प पीडितको नाम सवमिट गर्न व्यस्त छन् ।

तपाईको प्रतिक्रिया