जाजरकोट भूकम्पको चार महिना : भूकम्प पीडितको प्रश्न, ‘अस्थायी आवासको दोस्रो किस्ता कहिले पाउँछौं ?’

No description available.
जाजरकोट । जाजरकोट भूकम्प गएको चार महिना वित्यो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ५७ जनाले ज्यान गुमाए । सयौंको संख्यामा घाइते भए । ६ दशमलव ४ म्याग्नेच्यूडको भूकम्प भूकम्पीय क्षमताको हिसावले सानै भएपनि ढुङ्गा र माटोले बनेका अधिकांश घर भत्किएपछि क्षति धेरै भयो ।

भूकम्प गएको चार महिना वितेपनि भूकम्प पीडितले अस्थायी आवासको पहिलो किस्ता पाउन सकेका छैनन् दोस्रो किस्ताका लागि प्रखाईमा छन् । भेरी नगरपालिका — ०३ का मोहन जंग खत्रीले अस्थायी आवासको दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । भुकम्पले घर भत्किएका उनले अस्थायी आवास वापतको २५ हजार पाएर टहरा पनि बनाईसके ।

तर अहिले सम्म दोस्रो किस्ताको थप २५ हजार रकम पाउन सकेका छैनन् । साहु ऋण गरेर टहरा बनायौ तर अहिले सम्म दोस्रो किस्ताको रकम पाईएन उनले भने ‘रकम नआउँदा साह्रै समस्या भयो ।’ अहिले सम्म स्थायी पुर्नसंरचनाका लागि काम सुरु गर्नु पर्नेमा अस्थायी आवासकै रकम पाउन नसकेको उनको गुनासो छ ।

भेरी नगरपालिका— २ का विर्खबहादुर कार्कीले पनि पहिलो किस्ता पाए तर दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । कहिले आउँछ भनेर बारम्बार नगरपालिकामा धाउने गरेपनि रकम नपाएको उनको गुनासो छ । उनले अस्थायी आवासमै यति ढिला भयो । गर्मी र बर्षात आउँदैछ । टिनको टहरामा कसरी बस्ने हो । स्थायी पुर्ननिर्माणको प्रक्रिया कहिले थालनी हुने हो । आफुहरु अन्यौलमा रहेको उनको भनाई छ । उनले छिटो पुर्ननिर्माणको प्रक्रिया थाल्न सरकारलाई आग्रह गरे । उनीहरु जस्तै हजारौ भुकम्प पिडित दोस्रो किस्ता नपाएर हैरान छन् ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण कार्यविधि २०८० मा दोस्रो किस्ता निकासा दिनुभन्दा पहिले स्थानीय तहलाई विपद पोर्टलमा लाभग्राहीको भत्काएको घर र अस्थायी आवासको फोटो सहितको विवरण अपलोड गरि सवमिट गर्नुपर्ने प्रावधान राखेको छ तर जाजरकोटका भेरी नगरपालिका बाहेक कुनै पनि स्थानीय तहले उक्त काम सुरु नै नगरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । भेरीले करिब ३ हजार बढी लाभग्राहीको विपद पार्टलमा विवरण अपलोड गर्ने काम गरिसकेको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए । नेपाल रेडक्रसको सहयोगमा विपद पोर्टलमा विवरण अपलोड गर्ने काम भैरहेको उनले बताए ।

तर अन्य ६ ओटा पालिकाले अहिले सम्म काम नै सुरु गरेका छैनन् । कार्यविधि अनुसार विपद पार्टल नामक एपमा लाभग्राहीको आवश्यक विवरण अद्यावधिक गरेर दोस्रो किस्ताको रकम माग गर्न आग्रह गरेपनि हाल सम्म कुनै पनि पालिकाले रकम माग गरेका छ्रैनन् । सवै पालिकाका प्राधिविकहरुलाई उक्त एप्स सम्बन्धि तालिम समेत दिईएको छ ।

भेरीले विपद पोर्टलमा विवरण भर्ने काम गरिरहेको जानकारी पाएको छु तर अन्य पालिका कसैले पनि काम नथाल्दा दोस्रो किस्ता वितरणमा ढिलाई भएको प्रजिअ सुनारको भनाई छ । जिल्लाका सात वटै पालिकामा गरि ३६ हजार ८ सय ५५ परिवारले पहिलो किस्ताको रकम पाईसकेका छन् । २७ हजार अस्थायी आवास समेत बनिसकेका छन् तर उनीहरुले स्थानीय सरकारको लापरवाहीले दोस्रो किस्ता पाउन सकेका छैनन् ।

दोस्रो किस्ता मात्र होइन केही भूकम्पपीडितहरुले अझै अस्थायी आवासको पहिलो किस्ता समेत पाउन सकेका छैनन् । पुनर्निर्माणका काम अघि बढ्नुपर्ने बेलासम्म समेत अस्थायी आवासका लागि पाँच हजार छ सय ६९ लाभग्राहीले पहिलो किस्ताको रकम पाउन नसकेका हुन् । स्थानीय तहको ढिलासुस्तीका कारण सरकारले अस्थायी आवास निर्माणका लागि पठाएको दोस्रो किस्ताको रकम जिल्ला प्रशासन कार्यालयमा थन्किएको छ भने पहिलो किस्ता रकम वितरण नगर्दा पालिकाको खातामै थन्किएको छ ।

भूकम्पले घरवारविहीन पीडितलाई अस्थायी आवासमा तत्काल सार्न सरकारबाट प्राप्त रकम वितरण प्रक्रियामा स्थानीय तहको ढिलासुस्तीका कारण भूकम्पपीडित थप बिचल्लीमा परेका छन्  । हिउँदको चिसो त्रिपाल र टेन्टमुनि बस्दै आएका भूकम्पपीडित चिसो थेग्न नसकेपछि चर्किएका घरमा सर्न थाले पनि स्थानीय तहको वितरण प्रव्रिmया कछुवा गति हुँदा भूकम्पपीडितको बिजोग भएको छ ।

४२ हजार पाँच सय २४ लाभग्राहीका अस्थायी आवास निर्माणका लागि जिल्ला विपत् व्यवस्थापन समितिको कोषमा पठाएको एक अर्ब ५३ करोड ४१ लाख ७५ हजारमध्ये सात वटा पालिकाको खातामा एक अर्ब ३ करोड ४१ लाख ७५ हजार निकासा भएको छ । पालिकाले ३६ हजार ८ सय ५५ लाभग्राहीलाई ९२ करोड १३ लाख ७५ हजार पहिलो किस्ता २५ हजारका दरले वितरण गरेका छन्  । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार फागुन महिना बित्न लाग्दासमेत अझै पाँच हजार छ सय ६९ जना लाभग्राहीले पहिलो किस्ता रकम पाउन सकेका छैनन् ।

स्थायी पुनर्निर्माणको काम अहिलेसम्म थालनी हुन नसक्दा पीडितहरूको निकै बिजोग अवस्था छ । भूकम्पपीडित अस्थायी टहरामा टिनले पोल्न थालेपछि चर्किएका घरमा बस्न छन् । जेनतेन चिसो छलेका भूकम्पपीडितलाई वर्षा छेक्न निकै मुस्किल पर्ने देखिन्छ । बाढी पहिरोको जोखिम पनि उत्तिकै छ । अन्य संक्रामक रोग फैलन सक्ने त्यत्तिकै खतरा छ भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भने ‘हजारौ निजी घर, सयौ विद्यालय, दर्जनौ सरकारी कार्यालय, प्राकृतिक सम्पदा, मन्दिर, ऐतिहासिक दरबारमा क्षति पुगेको छ ।

सडक, खानेपानी, सिञ्चाइलगायतका पूर्वाधार ध्वस्त भएका छन् । यी सबैको यथाशीघ्र पुनर्निर्माण गर्न सकेनौ भने अवस्था निकै जटिल हुन सक्नेछ । पुनर्निर्माणमा हामी निकैपछि परेका छौं । त्यसैले तत्काल पुनर्निर्माण थाल्नुको विकल्प छैन ।’ अहिले पनि जिल्ला प्रशासन कार्यालय लगायत दर्जन बढी कार्यालय अस्थायी भवनबाट सेवा प्रवाह गरिरहेका छन् । विद्यालयहरु अस्थायी सिकाई केन्द्रबाट संचालन भैरहेका छन् ।

तर प्राधिकरणले अहिले सम्म विस्तृत क्षतिको लेखाजोखा(डीडीए) गर्न सुरु नै गरेको छैन । चिसोका कारण तीन दर्जन बढी भुकम्प पिडीतको ज्यान गैसकेको छ । गर्मी र बर्षातमा थप जोखिम हुन सक्ने स्वास्थ्यकर्मीको भनाई छ । स्थानीय सरकारले लाभग्राही पहिचान गर्न ढिलासुस्ती गरेको स्थानीयको आरोप छ ।

तपाईको प्रतिक्रिया