भूमि आयोग जाजरकोटको प्रगति : छ हजार २४२ लगत संकलन,कतै निस्सा वितरण

No description available.

जाजरकोट । राष्ट्रिय भूमि आयोग जिल्ला समिति जाजरकोटले हालसम्म भएका काम सार्वजनिक गरेको छ । समितिले सदरमुकाम खलंगामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी हालसम्म भएका प्रगति सार्वजनिक गरेको हो ।

जिल्ला अध्यक्ष सर्पराज रावतले हालसम्म जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासी र अधुरा अपूरा कामको लगत संकलन भएको जानकारी दिए । हालसम्म जिल्लामा भूमिहीन दलित १४८ जना, सुकुम्वासी ५६ जना, अव्यवस्थित बसोबासी ६ हजार ४२ जना गरी कुल छ हजार २ सय ४६ जना रहेका छन् ।

अध्यक्ष रावतका अनुसार, बारेकोट गाउँपालिकामा भूमिहीन दलित १३, भूमिहीन सुकुम्बासी छ र अव्यवस्थित बसोबासी ४ सय छ जनाको लगत संकलन गरिएको छ । शिवालय गाउँपालिकामा भूमिहीन दलित ११, भूमिहीन सुकुम्बासी पाँच, अव्यवस्थित बसोबासी ३ सय ३६ जनाको लगत संकलन गरिएको छ । छेडागाड नगरपालिकामा ३९ भूमिहीन दलित, १३ भूमिहीन सुकुम्बासी र १ हजार ९ सय ७५ अव्यवस्थित बसोबासीको नाम दर्ता गरिएको छ ।

भेरी नगरपालिकामा ४१ भूमिहीन दलित, १७ भूमिहीन सुकुम्बासी, एक हजार ६ सय ७१ अव्यवस्थित बसोबासीको लगत संकलन गरिएको छ । जुनीचाँदे गाउँपालिका भूमिहीन दलित एक, अव्यवस्थित बसोबासी ७५ जना, कुशे गाउँपालिकामा भूमिहीन दलित चार, भूमिहीन सुकुम्बासी एक र अव्यवस्थित बसोबासी २४ जनाको संकलन गरिएको अध्यक्ष रावतले बताए । यस्तै, नलगाड नगरपालिकामा भूमिहीन दलित ३९, भूमिहीन सुकुम्बासी १४ र अव्यवस्थित बसोबासी १ हजार ५ सय ५५ जनाको लगत संकलन गरिएको छ ।

नलगाड र शिवालयमा निस्सा वितरण
नलगाड नगरपालिकामा जग्गाको निस्सा वितरण कार्य सुरु भईसकेको छ । नलगाड नगरपालिका भित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण शुरु गरिएको हो ।

पहिलो दिन वडा नम्बर ४ ‐ साविक लहँ गाविस) मा बसोबास गरिरहेका भूमिहीन दलित,भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिएको हो । नगरपालिकामा प्राप्त निवेदनहरुलाई झण्डै २ वर्षको अवधिमा कम्प्युटरमा दर्ता गरी निस्सा वितरणको काम शुरु गरिएको हो ।

नगरपालिकाको कार्यालयमा आयोजित भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको निवेदन दर्ताको निस्सा वितरण कार्यक्रममा नगर प्रमुख डम्बर बहादुर रावत, आयोगका विज्ञ–सदस्य नबराज शाही तथा सदस्य चन्द्रा अधिकारीले संयुक्तरुपमा वलीसहित ११ जनालाई निवेदन दर्ताको निस्सा प्रदान गरेका थिए ।

लामो समय सम्म सार्वजनिक तथा ऐलानी जग्गामा बसिरहेका भूमिहीन दलित, भुमिहिन सुकुम्बासीलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति जाजरकोटको सहकार्यमा निस्सा वितरण गरिएको हो । नलगाड नगरपालिकामा रहेका र हालसम्म निवेदन पेस गरेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान गरी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको निवेदन दर्ताको निस्सा वितरण गरिएको नगर प्रमुख डम्बर बहादुर रावतले जानकारी दिए ।

निस्सा वितरणको सवै काम सम्पन्न भएपछि छिट्टै नै उनीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने नगरपालिकाले जनाएको छ । ‘पहिलो चरणमा नगरपालिकामा सबै प्रक्रिया पुगेकाले निस्सा वितरण सुरु गरेका हौं’ प्रमुख रावतले भने, ‘पुर्जा वितरणका लागि नापजाँच टोली आएर जग्गा छुट्याएपछि पुर्जा वितरण गर्छौं ।’ शुक्रबारबाट शुरु यो वितरण कार्य यहि माघ अन्तिमसम्म चल्ने छ ।

नगरपालिकाका नगर प्रमुख, कार्यपालिका सदस्यहरु,सम्बन्धित वडाका वडाध्यक्ष, वडा सदस्य, नगरपालिकाका प्रशासकीय अधिकृत दिनेश भट्टराई सहित नगरका कर्मचारी राष्ट्रिय भुमि आयोगका विज्ञ–सदस्य नबराज शाही,सदस्य चन्द्रा अधिकारी, विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा निस्सा वितरण गरिएको थियो । यस्तै, शिवालय गाउँपालिका भित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु भएको छ ।

पहिलो दिन वडा नम्बर २ कि दुर्पदा वि.क. र वडा नं. ९ का धनसिंह सुनार लगाएत शिवालय गाउँपालिकामा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिएको हो । गाउँपालिकामा प्राप्त निवेदनहरुलाई झण्डै २ वर्षको अवधिमा कम्प्युटरमा दर्ता गरी निस्सा वितरणको काम शुरु गरिएको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको निवेदन दर्ताको निस्सा वितरण कार्यक्रममा पालिका अध्यक्ष शेर बहादुर शाही, आयोगका विज्ञ सदस्य नवराज शाही तथा सदस्य चन्द्रा अधिकारीले संयुक्त रुपमा वि.क. सहित १५ जनालाई निवेदन दर्ताको निस्सा प्रदान गरेका हुन् ।

शिवालय गाउँपालिकाका ९ वटा वडामा जम्मा १२ जना भूमिहिन दलित, ५ जना भूमिहिन सुकुम्वासी र ३ सय ३३ जना अव्यवस्थित बसोवासी गरी कुल ३ सय ५० जना छन् । भने बाँकि छुटेका व्यक्तिहरुका लागी केही दिनका लागी म्याद थप गरि अनलाईन प्रविष्टको काम लाई पनि निरन्तरता दिने अध्यक्ष शेर बहादुर शाहीले बताए ।

No description available.

हामीले व्यवस्थित काम गरिरहेका छौं ः अध्यक्ष रावत
जिल्ला भूमि आयोग जाजरकोटका अध्यक्ष सर्पराज रावतले आफ्नो कार्यकालमा रहेको टीमले व्यवस्थित काम गरिरहेको बताए । आफु भन्दा अगाडि २१ वटा टीम आएको तर उनीहरुले गरेको कुनैपनि काम आफुले नभेटेको गुनासो गरे । अहिलेको टीमले सफ्टवेयर प्रणाली मार्फत काम गरेको बताए ।

‘हामी रहुँला, नरहुँला तर हाम्रो काम जो आएपनि व्यवस्थित तरिकाले देख्नेछ उनले भने, ‘सबै डाटा, नामावली सफ्टवेयरमा हेर्न सकिन्छ ।’ सरकार फेरिएपछि भूमि आयोगका पदाधिकारी हरेक पटक फेरिनाले पनि काम अघि बढ्न नसकेको रावतले गुनासो गरे ।

तपाईको प्रतिक्रिया