जाजरकोट । छेडागाड नगरपालिका — ०८ घोगी पजारुमा रहेका चैत्य गुम्वा अर्थात प्राचिन देवलहरु संरक्षणको अभावमा जिर्ण बन्दै गएका छन् । निकै आकर्षक र ऐतिहासिक ति देवल संरक्षणमा सरकारले चासो नदिदा ओझेलमा परेका हुन् । १३ औ शताव्दीमा जाजरकोटमा भोटेहरुले शासन गरेको र उनीहरुले नै यी देवल बनाएको जाजरकोटको ईतिहास बारे जानकारहरु बताउँछन् । ढुंगा कुदेर बनाईएका ती कलात्मक चैत्य गुम्वा अर्थात देवलहरु संरक्षणको अभावमा मासिने खतरा बढेको छ । यी देवलको खोज अनुसन्धान गरी प्रचार गर्न सके पर्यटकीय आर्कषणको केन्द्र बन्न सक्ने स्थानीयको भनाई छ ।
तीन रोपनी जग्गामा फैलिएको देवल क्षेत्र स्थानीय सरोकारवाला, सरकार र पर्यटन क्षेत्रसंग सम्वद्ध निकायहरुको वेवास्ताका कारण ओझेलमा परेको छ । स्थानीयले देवल क्षेत्र अतिक्रमण गदै गईरहेका छन् । देवल क्षेत्र ओझेल परेपछि यसको मौलिकता र महत्व पनि हराउने खतरामा पुगेको स्थानीयवासीको चिन्ता छ ।
सदरमुकाम खलंगा र अन्य सहरी क्षेत्रवाट देवल क्षेत्रमा पुग्नका लागि सहज पहुँच मार्ग नहुन र देवल क्षेत्रको पुर्ननिर्माणका लागि सरोकारवालाहरुले कुनै पहल नगरेका कारण देवल क्षेत्र ओझेलमा परेको स्थानीय भुपेन्द्र बुढाले बताए । करिव ७ सय वर्ष अघि निर्माण भएका ती चैत्य गुम्वा अर्थात देवलहरुको उचित संरक्षण र प्रचारको अभाव हुदाँ वाहिरी जिल्लाका मात्र होइन जाजरकोटवासीहरु नै देवलको महत्व र ऐतिहासिकता वारे वेखवर भएका छन् ।
सडक पहुँच र अन्य आवश्यक पुर्वाधारहरुको निर्माण नहुँदा महत्व हिन जस्तै वनेको उक्त देवल क्षेत्रको संरक्षण र प्रचार प्रचारमा सरोकावालाहरुले उचित ध्यान र चासो दिए जाजरकोट जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य वन्न सक्ने स्थानीय गोरखवहादुर वुढाले वताए । जाजरकोट जिल्लाका अन्य पर्यटकीय क्षेत्रहरु भन्दा वढी सुन्दरता, कला , सामाजिक महत्व र ऐतिहासिकता झल्काउने यी देवलहरु रहेको क्षेत्रमा पर्यटकहरु पुग्न आवश्यक पुर्वाधारहरु तयार नभएको उनले वताए । जताततै पर्यटकीय क्षेत्रहरुको चर्चा भइरहे पनि स्थानीय सरकार र अन्य निकायले देवल क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्य वनाउन नसकेको उनले गुनासो गरे ।
पटक पटक गरी स्थानीय सरकार र पर्यटन वोर्डले १० लाख जति रकम विनियोजन गरेको भएपनि रकम खासै सदुपयोग हुन सकेको छैन । सामान्य घेरावार, मन्दिर वनाउने काम बाहेक अन्य पुर्वाधारका काम हुन सकेको छैन । ३ रोपनी जग्गा भित्र रहेका १३ वटा देवलहरुको कलात्मक आकार, प्राचिनता र आकर्षक वनावटले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित पार्ने गरेको छ । तर उचित व्यवस्थापन र संरक्षण नभएको प्रति स्थानीय सरकार र सम्वद्ध निकाय प्रति जनताले असन्तुष्टि पोख्ने गरेका छन् । जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलहरु यतिवेला गुमनाम छन् । पर्यटन प्रर्वद्धनको सम्भावना भोकेका थुप्रै महत्वपूर्ण पर्यटकीय स्थलहरु प्रचारप्रसार अभावमा गुमनाम भएका हुन् । जिल्लाको पर्यटन विकास र प्रव्द्र्धनका लागि एकीकृत योजना नहुँदा पर्यटकीय गन्तव्यहरु संरक्षणविहीन बनेको आम नागरिकको गुनासो छ ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका सूची जिल्लाले निर्माण गर्न सकेको छैन् । सात वटै स्थानीय तहले आ –आफ्नो क्षेत्र भित्रका पर्यटकीय गन्तव्यको सूची बनाई पर्यटन विकास र प्रबद्र्धनका लागि एकीकृत योजना बनाउनुपर्ने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् । पछिल्लो केही समय यता भौतिक विकास भएपनि प्राकृति,सांस्कृतिक, ऐतिहासिक परिचय माथि उठाउनका लागि पहल भएको छैन । जिल्लाको पर्यटन विकास र प्रबद्र्धनका लागि स्थानीय सरकारले बजेट विनियोजन र कार्यक्रम निर्माण गर्न असफल भएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए । उनले भने, ‘नेपालका हरेक पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रबद्र्धन तिब्र रुपमा भईरहेको छ, तर यहाँका थुप्रै मनोरम प्राकृतिक दृश्य,धार्मिक शक्ति पिठ,झरना लगायतका पर्यटकिय स्थल गुमनाम छन् ।’
नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा जाजरकोटको ऐतिहासिक दरबार छ । त्यस्तै, प्रदेश सरकारले सूचिकृत गरेको पर्यटकीय गन्तव्य भित्र जाजरकोटका थुप्रै स्थान परेका छन् । भेरी नगरपालिकाको ऐतिहासिक जाजरकोट दरबार, कुशे गाउँपालिकाको नदाइडाब झरना, बारेकोट गाउँपालिकाको साइक्वारी तिर्थ , छेडागाड नगरपालिकाको प्राचिन बौद्ध स्तुप, भेरी नगरपालिकाको मालिका मन्दिर, शिबालय,जुनीचाँदे गाउँपालिकाको भैरबनाथ मन्दिर, बारेकोटको चाखुरे पाटन आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य हुन् । तर यी क्षेत्रको प्रचार प्रसार प्रबद्र्धनमा कसैको चासो छैन् । स्थानीय सरकारका प्रमुखहरुले भने पर्यटन गुरु योजना बनाउने भन्न छाडेका छैनन् ।
पर्यटन विकासको गुरु योजना बनाएर नगरपालिका तथा गाउँपालिकाको पर्यटन प्रबद्र्धन गर्ने सात वटै स्थानीय तहले जारी गरेको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । भौतिक विकास र मानवीय विकाससंग पर्यटन विकास जोड्ने गरी योजना बनाएको संम्बन्धित निकायको दावी छ । मानव विकास सुचांकमा ६८ औं स्थानमा रहेको जाजरकोटको विकास लागि पर्यटन विकास र प्रबद्र्धन एक महत्वपूर्ण पाटो हो । जिल्लाका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र संरक्षण सम्बद्र्धन गर्न जरुरी छ । प्राकृतिक, सामाजिक, ऐतिहासिक धार्मिक तथा साँस्कृतिक सुन्दरता र महत्व भल्काउने दर्जन वढी जिल्लाका पर्यटकीय क्षेत्रहरु सुनसान देखिन्छन् ।
यी हुन् यहाँका मुख्य पर्यटकीयस्थल ?
सुन्दरता, कला, सँस्कृति र विविध महत्व वोकेका खलंगाको जाजरकोट दरवार, मछाइनाको मालिका मन्दिर क्षेत्र, खलंगाकै कालेगाउँको शिवालय मन्दिर क्षेत्र, वाहुनथानको अचम्मको साङट गुफा, कुदुको भुमेश्वर गुफा, वारेकोटको ठाकुरजी दह, साइक्ँवारी क्षेत्र, खलंगा रानागाउँकै कालिका मन्दिर, सानीमालिका मन्दिर क्षेत्र, थाप्लेका चारनाल दरवारहरु, रिम्नाको सहिद पार्क, मैदेको गुफा, जगतिपुर दरवार क्षेत्र, पैंकको मष्टा मन्दिर क्षेत्र, वारेकोट रामीडाँडाको सिर्पाचौर उपत्यका, लहँको खानटाकुरा क्षेत्र, कुसे गाउँपालिकाको पाँचकटिया तथा गाईखुर क्षेत्र, कुशेकै कुशे हिमाल, वारेकोटको कराइचुली हिमाल, च्याखुरे पाटन,विभिन्न भरनाहरु, झन्डै शताब्ती पुरानो मटेलाको पुल, वुदवुदीको भुमिगत टयांकी, काफलचौरवाट देखिने सुन्दर हिमशृङखलाहरुको दृश्यहरु र नलगाड र भेरी नगरपालिकाको सीमानामा पर्ने वडालेख क्षेत्र, छेडागाड नगरपालिकाको पजारु डाँडागाउँमा रहेका १३ औं शताव्दीमा निर्माण भएका चैत्य गुम्वा क्षेत्र अनि भेरी नदीको जलयात्रा अर्थात रयाफिटङ जाजरकोटमा पर्यटक तान्ने मुख्य सम्पदा र आधारहरु यति वेला सुनसान देखिन्छन । यहाँ उल्लेख गरिएका मध्य अधिकांश पर्यटकीय स्थलहरु प्रचारप्रसारको अभावमा अस्तव्यत रहेको देखिन्छ ।
स्थानीय तहको नीतिमा मात्रै सीमित
यहाँका सात वटै स्थानीय तहहरुले आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा पर्यटनलाई समेत प्राथमिकता राखेर सार्वजनिक हुन्छ । तर स्थानीय तहहरुले पर्यटन प्रवद्र्धनका लागि केके काम गरे भन्ने थाहा हुदैन् । स्थानीय तहको कागजमा मात्र पर्यटन प्रवद्र्धन सीमित भएको यहाँका जानकारहरु बताउँछन् ।
पर्यटनको राम्रो सम्भावना बोकेको जाजरकोटका स्थानीय तहले प्रभावकारी काम गर्न नसक्दा पर्यटकीय क्षेत्र ओझेलमा परेको नलगाड नगरपालिका स्थानीय प्रविन विकले बताए । स्थानीय तहका नीति तथा कार्यक्रममा मात्रै समावेश हुने पर्यटन प्रर्वद्धन कहिले व्यहारमा उर्ताछन् भन्ने सबैलाई चासोको विषय बनेको छ ।
भेरी नगरपालिका, नलगाड नगरपालिका,छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका, कुशे र बारेकोट गाउँपालिकाको नीति तथा कार्यक्रममा पर्यटन प्रवर्दनका लागि रकम विनियोजन गरेको देखिन्छ । कहाँ भएको छ पर्यटन प्रर्वद्धन भन्दै स्थानीय बासीन्दाहरुले प्रश्न समेत गरिरहेका छन् । पर्यटन प्रर्वद्धनका नाममा यहाँका स्थानीय तहहरुले बजेटको दुरुपयोग गरिरहेको पर्यटन संग सम्बन्धित व्यक्तिहरुको भनाई छ ।
भूकम्पले पर्यटकीय स्थलमा क्षति
गत कार्तिक १७ गते बारेकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले १ सय १ जना नागरिकको ज्यान लियो । ४२ हजार ५ सय २४ घरधुरीमा क्षति पु¥यायो । जनधनको क्षति मात्रै गरेन् । पुरात्वात्तिक एवं ऐतिहासिक सम्पदाहरुमा समेत क्षति ग¥र्याे । विसं १९९० माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत कार्तिक १७ भूकम्पमा परी क्षति व्यहोरेको छ । हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार विसं १८५२ मा निर्माण गरिएको थियो । ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो । यसपटक दरबार चर्किएको मात्र छ ।
यसअघिका दुईवटा भुइँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवैपटक दरबार पुनःनिर्माण गरिएको थियो । केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि परेको छ । पर्यटकीय गन्तव्यका रूपमा रहेको जिल्लाको इतिहासमा भूकम्पले फेरि जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।
“दुईपटक भत्किसकेको दरबारमा अहिले पनि उस्तै जोखिम निम्तिएको छ, जिल्लाको इतिहासलाई जोगाउन यसलाई जोगाउनैपर्ने हुन्छ”, उनले भने, “जाजरकोट राज्य हुँदा जनताको श्रमबाट पुनःनिर्माण गरिएको थियो, अब यसरी समयमै पुनःनिर्माण गर्न पनि सहज छैन ।”
यसभन्दा ९० वर्षअघि १९९० माघ २ गते नेपाल र भारत केन्द्रबिन्दु भएर गएको ८ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्णरूपमा भत्किएको थियो । उक्त भुइँचालोबाट आठ हजार पाँच सयभन्दा बढी नागरिकको ज्यान गएको थियो । जाजरकोटमा भएको मानवीय क्षतिको भने तथ्याङ्क छैन । नब्बे वर्षअघिको उक्त भुइँचालोलाई दरबारमा क्षति पुर्याउने शक्तिशाली विपद्का रूपमा जाजरकोटवासीले लिन्छन् ।
सेतो दरबार भनिने जाजरकोट दरबार १९९० को भूकम्प जानुभन्दा अघि १८५२ सालमा निर्माण गरिएको हो । तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलङ्गा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर यो दरबार निर्माण गरिएको थियो । त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो । जसलाई १८२५ सालमा राजा हरि शाहले बनाएका थिए । यो दरबार पनि अहिले सरकारी निकायको कार्यालयका रूपमा छ । यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंकका कामकाज हुने रातो दरबारमा सङ्घीयतापछि जिल्ला समन्वय समितिको कार्यालय छ । रातो दरबार बनेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर अर्को दरबार बनाएको जाजरकोट दरबार इतिहासका जानकार राजेन्द्रविक्रम शाहले बताए । यो दरबार सुरुमा बनाउँदा पनि जाजरकोटी राजाको आदेशमा जनश्रमदान गरिएको थियो । यसका लागि राजाले जनताले श्रमदान गर्ने निश्चित दिन तोकिदिएका थिए ।
राजा इन्द्रनारायणका पालामा यो दरबार कति तलाको थियो भन्ने एकीन जानकारी भने छैन । “कसैले सात तलाको भन्छन्, धेरैजसोले पाँच तलाको मात्र हो भनेर दाबी गरेका छन”, शाहले भने, “जे होस् अहिलेको भन्दा अग्लो थियो, भूकम्पको क्षतिपछि पुनःनिर्माण गर्दा भने तीन तलामा झारिएको हो ।” जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले भूकम्पले क्षति पुर्याएको जाजरकोट दरबारलाई पुरानै शैलीमा निर्माण गर्नुपर्ने बताए । भूकम्पले क्षति गरेका जाजरकोट दरबार, शिवालय मन्दिरलाई पुरानैशैलीमा ऐतिहासिकता झल्किने गरी निर्माण गर्नुपर्ने अध्यक्ष केसीको भनाई छ ।
हाम्रो पहुँच संवाददाता । ३० फाल्गुन २०८०, बुधबार