एकै परिवारका ९ जनालाई मुद्दा

blog  पर्वत । पर्वतमा सहकारी ठगीमा एकै परिवारका ९ जनालाई मुद्दा चलाइएको छ । एकै परिवारका सदस्यहरूमार्फत दुई सहकारी सञ्चालन गरी सर्वसाधारणको रकम दुरुपयोग गरेको पाइएपछि दुवै सहकारीमा रहेका एकाघर परिवारका ९ जनाविरुद्ध सहकारी ठगीको मुद्दा दर्ता भएको हो ।सदरमुकाम कुस्मामा रहेको तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था र माता पाथीभरा बचत तथा ऋण सहकारी संस्थामा रहेका एकै परिवारका ९ जनालाई मुद्दा चलाइएको हो । १० जना मध्ये १ जना पुर्पक्षका लागि थुनामा छन् भने अन्य २ जना धरौटीमा र बाँकी ६ जना फरार सूचीमा छन् । तपाईं हाम्रो सहकारीका सञ्चालक बालगोपाल श्रेष्ठ र माता पाथीभरा सहकारीका सञ्चालक किशोर श्रेष्ठ दाजुभाइ हुन् । उनीहरू दुवै जनाले सहकारी सञ्चालन गरेर सर्वसाधारणको पैसा अपचलन गरेको उजुरीका आधारमा प्रहरीले मुद्दा चलाएको हो । दाजुभाइमध्ये दाजु बालगोपाल श्रेष्ठ फरार छन् भने भाइ किशोर श्रेष्ठलाई पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।तपाईँ हाम्रो सहकारीमा मुद्दा चलाइएकाहरूमा अध्यक्ष बालगोपाल श्रेष्ठसहित बाबु कर्णबहादुर श्रेष्ठ, आमा शकुन्तला श्रेष्ठ, भाइ किशोर श्रेष्ठ, बुहारी विनीता श्रेष्ठ, दिदी बिन्दु श्रेष्ठ र भान्जी अञ्जलि श्रेष्ठ छन् । त्यस्तै माता पाथीभरा सहकारीमा अध्यक्ष किशोर श्रेष्ठ, भाउजू सत्या श्रेष्ठ, दिदी बिन्दु श्रेष्ठ र भिनाजु राजेन्द्र श्रेष्ठ रहेको जिल्ला अदालतले जनाएको छ ।

दुई सहकारीमध्ये तपाईँ हाम्रो सहकारीका २२ जनालाई मुद्दा दर्ता गरेकोमा २ जनालाई पुर्पक्षका लागि थुनामा र २ जनालाई रु।३०÷३० लाख धरौटीमा रिहा गरेको छ । साथै अध्यक्ष श्रेष्ठका बाबुआमालाई समेत जनही १ लाख पचास हजार धरौटीमा रिहा गरेको छ । साथै माता पाथीभराका २२ जनालाई ठगी मुद्दा दर्ता गरेकोमा १ जनालाई मात्रै पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालतको फैसलामा उल्लेख छ ।उनीहरूले २ वटा सहकारी सञ्चालन गर्दा अधिकांश आफ्ना परिवारका राखेका थिए । दुवै सहकारी नाम मात्रै फरक भएको तर कारोबार भने मिलेर गर्ने गरेको पाइएको हो । दुवै सहकारीका सञ्चालन गर्ने खाताहरू समेत गोप्य र खुला रहेका कारण गोप्य फाइल अनुसन्धान गर्दा मिलेमतो भेटिएको जिल्ला प्रहरी कार्यालयले पेस गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ । तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारीमा रु।२९ करोड ९८ लाख अध्यक्ष बालगोपाल श्रेष्ठले हिनामिना गरेको र माता पाथीभरा सहकारीमा अध्यक्ष किशोर श्रेष्ठले रु।११ करोड ११ लाख नब्बे हजार हिनामिना गरेको पाइएको हो । निजहरूलाई दुवै सहकारीका बचतकर्ताहरूले उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको हो । अध्यक्ष श्रेष्ठले योजनाबद्ध तरिकाले रकम हिनामिना गरेको पाइएको छ । उहाँले बाबुआमाबाट अचल सम्पत्तिको अंशसमेत नलिई अंशस्वरूप रकम लिएको कागजात बनाएको पाइएको प्रहरीले जनाएको छ । फरार सूचीमा रहेको भए पनि बालगोपाल श्रेष्ठ बाहेक सबै सदरमुकाममै रहेको र प्रहरीले अदालतमा फाइल बुझाएपछि आफूहरुले गिरफ्तार नगरेको बताएको छ ।

‘समयमा अदालतमा उपस्थित भएर बयान नदिनेहरूको घरमा पुगेर म्याद तामिल गरेका छौँ ।’ पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले भन्नुभयो–‘अदालतमा गएर बयान दिने र आफ्नो कसुरको बारेमा सफाइ लिनुपर्ने मौका भएकाले आफैँ उपस्थित हुँदा राम्रो हुन्छ ।’ छिमेकीका अनुसार बालगोपाल श्रेष्ठ सहकारीको रकम हिनामिनापछि अस्ट्रेलिया पुगेका छन् । यस्तै पर्वत सदरमुकाम कुस्मामा रहेको ग्रामीण कृषि विकास सहकारीमा समेत सञ्चालकहरूले ठगी गरेको आरोपमा ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । उक्त सहकारीमा अध्यक्ष लेखनाथ शर्मासहितको मिलेमतोमा १० करोड हिनामिना गरेको पाइएको छ । सहकारीमा आर्थिक कारोबारमा संलग्न रहेको आरोपमा सफ्टवेयर डेभलपर समेत तानिएका छन् । सफ्टवेयरमा फर्जी हिसाब गरेर कारोबार मिलाएको सर्वसाधारणको रकम अपचलन गर्न सहयोग गरेको आरोपमा पर्वतको कुस्मा नगरपालिका ३का प्रतिमान पौडेल ३ वटै सहकारीमा संलग्न रहेका कारण हाल पुर्पक्षका लागि थुनामा रहनुभएको छ ।

तपाईको प्रतिक्रिया