जाजरकोट । जाजरकोटका केही सरकारी कार्यालयहरुको भवन भूकम्पले भत्काईदिएपछि अहिले पनि सेवा प्रवाहमा निकै समस्या भईरहेको छ । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी कार्यालय सहित एक दर्जन कार्यालयको भवनमा क्षति पुगेको थियो ।
गत कात्तिक १७ गते गएको भूकम्पबाट जाजरकोट दरवारमा क्षति भएपछि जिल्ला प्रशासन कार्यालयले त्रिपालबाटै सेवा प्रवाह गरिरहेको छ । प्रशासन कार्यालयमा रहेको खुला चौरमा त्रिपाल टाँगेर सेवा सुरु भइरहेको प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए । हाल सेतो दरबारबाट परिचित दुई वटा ठूला दरबार भूकम्पले छियाछिया भएपछि खुला आकाशमा सेवा प्रवाह गर्नुपरेको छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारीको आवास पनि भत्किएका कारण जिल्ला कारगारमा बसाइँ सरेको छ । प्रशासनको कामलाई सहजता ल्याउनका लागि खुला चौरमा अस्थायी टहरा निर्माणको कामसमेत जारी छ । विभिन्न संघ संस्थाको सहयोगमा उक्त संरचना निर्माण हुन लागेको हो । अहिले त्रिपालमा सेवा दिँदा पानी, हावाका कारण भारी समस्य थपिएपछि अस्थायी संरचना निर्माण गर्न लागिएको हो । दैनिक सेवाग्राहीको भीड हुने प्रशासनमा सेवा लिनका लागि ठाउँको भारी अभाव हुँदै आएको छ ।
साँघुरो ठाउँमा त्रिपालमा बसेर काम गर्दा आफू समस्यमा रहेको कर्मचारी बताउँछन् । तत्कालीन राजाले ६० हजार रुपैयाँमा उक्त दरबार सरकारलाई बिक्री गरेका थिए । वि.सं १९९० माघ २ गते गएको भूकम्पबाट क्षति बेहोरेको जाजरकोट दरबारले फेरि गत कात्तिक १७ गते शुक्रबार फेरि भूकम्पमा परी क्षति बेहोर्नु परेको हो । हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार वि.सं १८५२ मा निर्माण गरिएको थियो ।
‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो । यस अघिका दुईवटा भुइँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवैपटक दरबार पुनर्निर्माण गरिएको थियो । केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि परेको छ । पर्यटकीय गन्तव्यका रूपमा रहेको जिल्लाको इतिहासमा भूकम्पले फेरि जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।
यसभन्दा ९० वर्षअघि १९९० माघ २ गते नेपाल र भारत केन्द्रबिन्दु भएर गएको ८ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्णरूपमा भत्किएको थियो । उक्त भुइँचालोबाट आठ हजार पाँच सयभन्दा बढी नागरिकको ज्यान गएको थियो । जाजरकोटमा भएको मानवीय क्षतिको भने तथ्यांक छैन । ९० वर्षअघिको उक्त भुइँचालोलाई दरबारमा क्षति पु¥याउने शक्तिशाली विपद्का रूपमा जाजरकोटबासीले लिन्छन् । सेतो दरबार भनिने जाजरकोट दरबार १९९० को भूकम्प जानुभन्दा अघि १८५२ सालमा निर्माण गरिएको हो ।
तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलंगा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर यो दरबार निर्माण गरिएको थियो । त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो । जसलाई १८२५ सालमा राजा हरि शाहले बनाएका थिए । यो दरबार पनि अहिले सरकारी निकायको कार्यालयका रूपमा छ । यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंकका कामकाज हुने रातो दरबारमा संघीयतापछि जिल्ला समन्वय समितिको कार्यालय छ ।
रातो दरबार बनेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर अर्को दरबार बनाएको जाजरकोट दरबार इतिहासका जानकार राजेन्द्रविक्रम शाहले बताए । जाजरकोट दरबारले दोस्रोपटक भूकम्पीय क्षति भोगेको २०४५ सालमा हो । उदयपुर केन्द्रबिन्दु रहेको उक्त वर्षको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पले दरबारको पश्चिम भाग (जसलाई पश्चिम नाल भनिन्थ्यो) मा क्षति पुगेको थियो । यसलाई २०५१ सालमा पुनःनिर्माण गरिएको हो । त्यो भूकम्पले दरबारमा क्षति पुगे पनि मानवीय क्षति भने जाजरकोटमा नभएको शाहले बताए ।
तीनपटक भूकम्पीय क्षति भोगेको जाजरकोट दरबारबाट इन्द्रनारायणपछिका सात जना राजाले शासन गरेका थिए । यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाशविक्रम शाह थिए । इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए । जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत २०१७ सालदेखि नै सरकारी कामकाज हुँदै आएका थिए ।
प्रकाशविक्रमदेखि पछिका राजा २०१७ देखि नै ती दरबारमा बस्न छोडेका थिए । २०१७ सालमै जाजरकोटी राजा प्रकाशविक्रम शाहले नेपाल सरकारलाई ६० हजारमा जाजरकोट दरबार बेचेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको शाह बताउँछन् । यस्तै, जिल्ला मालपोत र नापी कार्यालयले जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटको भवन बाट सेवा प्रवाह गरिरहेका छन् । ‘आफ्नो भवन बनेको छैन, भाडामा रहेको भवन भत्किएपछि हामी शिक्षाको शरणमा पुगेका छौं ।’ मालपोत कार्यालय जाजरकोटका प्रमुख डिल्लीबहादुर केसीले भने । शिक्षा कार्यालयको तल्लो तला बाट सेवा प्रवाह भईरहेको छ । नापी कार्यालय समेत त्यही स्थानमा छ । भूकम्प गएको चार महिना वित्दा पनि इन्टरनेट जोड्न नसक्दा सेवा प्रवाह प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन् ।
पुनर्निर्माणको पर्खाइमा दरबार
भूकम्पबाट क्षतिग्रस्त जाजरकोटी राजदरबार पुनर्निर्माणको कुनै पहल हुन सकेको छैन । सेतो दरबारका रूपमा परिचित सो दरबार जाजरकोटी राजा इन्द्रनारायण शाहका पालामा १८५२ सालमा निर्माण गरिएको बताइन्छ । सेतो दरबारभन्दा अघि पश्चिमतर्फ रातो दरबार १८०० देखि १८११ सालमा निर्माण गरिएको भनाइ छ । सो दरबारबाट जाजरकोट राज्यको राजकाज सञ्चालन गरिन्थ्यो । १९९० साल माघ २ गतेको महाभूकम्पले समेत सो दरबार क्षतिग्रस्त भएको बताइन्छ । त्यसपछि पुनर्निर्माण गरिएको सो दरबार २०५१ सालमा मर्मत गरिएको थियो । कसैले सात तला कसैले पाँच तलाको भन्ने गरिए पनि सो पाँच तलाको भएको बुझिन्छ । भूकम्पले बस्न नमिल्ने बनाएपछि पुनर्निर्माण गर्दा तीन तलाको बनाइएको पाइन्छ ।
नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा परेको जाजरकोटी दरबार पुनर्निर्माणमा राज्यले खासै चासो दिएको पाइन्न । कात्तिक १७ को जाजरकोट भूकम्पले सो दरबार क्षतिग्रस्त भएको छ । जाजरकोटका राजेन्द्रविक्रम शाहका अनुसार सेतो दरबारबाट सात जना राजाले राज्य गरेको पाइन्छ । जाजरकोटी अन्तिम राजा प्रकाशविक्रम शाहले २०२४ सालमा नेपाल सरकारलाई ६० हजार रुपियाँमा बिक्री गरेका थिए । त्यसपछि सो दरबार सरकारी सम्पत्तिका रूपमा प्रयोग गरिँदै आएको छ । विसं २०१७ देखि सो दरबारमा जाजरकोटी राजाका परिवार बस्न छोडेको स्थानीय पाका व्यक्तित्व बताउँछन् । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाइमा दरबार सङ्ग्रहालय बनाउने अभियान सुरु गरिएको छ । रातो दरबारमा जिल्ला समन्वय समिति र सेतो दरबारमा जिल्ला प्रशासन कार्यालय सञ्चालनमा छन् ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीका अनुसार दरबारका दुई वटै भागमा भूकम्पले क्षति पुगेको छ । दरबारमा प्रयोग भएको झ्यालको कला तथा रूपरेखा हेर्दा सुरुकै स्वरूपमा निर्माण गरिएको देखिन्छ । सरकारले संरक्षण तथा हेरविचार नगर्दा मौलिक स्वरूपको अस्तित्व गुम्दै गएको बताइन्छ । रातो दरबारमा मन्दिर शाहदेखि गजेन्द्रनारायण शाह गरी चार जना राजा र सेतो दरबारमा इन्द्रनारायण शाहदेखि अन्तिममा प्रकाशविक्रम शाहले शासन गरेको पाइन्छ । अन्तिम भनिएका राजा प्रकाशविक्रम शाह जाजरकोटमा बसेनन् । त्यस समय मुलुकबाट राजारजौटा उन्मूलन भइसकेको थियो ।
ऐतिहासिक तथा पुरातात्त्विकले महत्वपूर्ण कर्णाली प्रदेशको पर्यटकीय गन्तव्यका रूपमा रहेको दरबार पुनर्निर्माणमा सरकारले ध्यान दिनुपर्ने प्रतिष्ठानका अध्यक्ष केसीको माग छ । प्रतिष्ठानले तीन वटै सरकारलाई जाजरकोटका जनप्रतिनिधि मार्फत दरबार पुनर्निर्माण गरी ऐतिहासिक दरबार सङ्ग्रहालय निर्माण गर्न अनुरोधपत्र बुझाएको छ ।
भूकम्प प्रभावित बालबालिकामा कुपोषण
भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुम पश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुम पश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।
भूकम्प प्रभावित क्षेत्रमा तीन महिनासम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट उक्त कुरा पत्ता लागेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ । सङ्घकाअनुसार महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको छ । गत मङ्सिरदेखि माघसम्म परिवार नियोजन सङ्घले सञ्चालन गरेको ‘आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’ शिविरमा सेवा लिन आएका अधिकांश महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको पाइएको कार्यक्रमका संयोजक वसन्त खनालले बताए ।
उनका अनुसार कार्यक्रम अन्तर्गत जाजरकोट र रुकुम पश्चिममा ४६ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । विपद्का समयमा पोषिलो खानेकुरा खान नपाएकाले पनि कुपोषणको जोखिम बढेको उनको भनाइ छ ।
उक्त शिविरमा सात हजार तीन सयभन्दा बढी भूकम्प प्रभावितलाई सेवा दिइएको खनालले जानकारी बताए । सेवा लिनेमा पुरुष नौ सय ४४, महिला छ हजार तीन सय ५५ महिला छन् । संयोजक खनालले चार हजार एक सय नौ पाठेघरको मुखको क्यान्सरको जाँच गरिएकामा एक सय छ जनामा क्यान्सरको सुरुआती अवस्था पत्ता लागेको जानकारी दिए । पाँच सय ४५ महिलालाई गर्भपतन सेवा उपलब्ध गराएको थियो । भूकम्पपछि महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको उनले बताए । भूकम्पपछि यौन हिंसा कम गर्न, परिवार नियोजनको सेवा, एचआइभीबारे सचेतना अभिवृद्धि गर्न, अनिच्छुक गर्भधारण घटाउन सङ्घ कार्यक्रम गरेको संयोजक खनालले बताए ।
कार्यक्रम जाजरकोटको भेरी र नलगाड नगरपालिका तथा बारेकोट र कुसे गाउँपालिकाका साथै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकामा सञ्चालन गरिएको थियो । प्रभावित जिल्लामा बाह्रै महिना खान नपुग्ने, भूकम्पपछि खाना र बस्नको समस्या, सन्तुलित खानाको अभावले यहाँका महिला र बालबालिकामा कुपोषणको जोखिम बढेको कार्यक्रम संयोजक खनालको भनाइ छ ।
जाजरकोटको कुशे र बारेकोट गाउँपालिकामा कुपोषणको समस्या सबैभन्दा बढी पाइएको छ । त्यस्तै प्रभावित जिल्लामा अनिच्छुक गर्भधारणको समस्या पनि बढ्दै गएकाले सुरक्षित परिवार नियोजनका बारेमा जनचेतना जगाउनुपर्ने खनालले बताए । नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले पालिकामा अझै लगानी बढाएर प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको बताए ।
“उत्पादनशील क्षेत्रमा घरटहरा निर्माण भएका छन् । खाद्यान्नको पनि समस्या भएकाले स्वास्थ्य समस्या देखिएको हो”, उनले भने । बारेकोट गाउँपालिकामा स्वास्थ्य, खाद्यान्नको समस्या रहेको भन्दै साझेदार निकायले सहयोग गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले विपद्का समयमा सबैले एकजुट भएर काममा लाग्नुपर्नेमा जोड दिए ।
हाम्रो पहुँच संवाददाता । २६ फाल्गुन २०८०, शनिबार