दिवसमा मात्रै गुन्जिन्छन् महिला अधिकारका नाराहरु, उस्तै छन् दुर्गममा दुःख..

दिवसमा तातिने सरोकारवालाहरु अन्य समय किन मौन ? महिला माथि हुने विभेद कम किन भएको छैन् ? दिवसमा मात्र चहलपहल बढाएर महिला अधिकारको सम्मान हुन सक्दैन् ।

अन्तर्राष्ट्रिय महिला दिवस: महिलाको क्षेत्रमा उल्लेख्य काम

जाजरकोट । प्रत्येक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाईन्छ । नारी दिवसको पूर्वसन्ध्या बाट शुरु हुन्छ महिला अधिकारका वहसहरु । संविधानका पाना पल्टाईन्छ, अधिकारका कितावहरुमा सरोकारवालाहरुको ध्यान पुग्छ ।
महिलाहरुले पनि पुरुष सरह बाँच्न पाउनुपर्छ भन्दै नारा लगाउने महिलाहरु नै श्रीमान बाट घरेलु हिंसाको शिकार हुने गरेका छन् । मार्च ८ मा मनाईने अन्तर्राष्ट्रिय नारी दिवस र महिला हिंसा विरुद्धको १६ दिने अभियानको समयमा मात्र महिला अधिकारका कुरा चल्छन् ।

गैर सरकारी संस्था र सरकारी निकायलाई बजेट सक्न चटारो हुन्छ । छेडागाड नगरपालिका १२ कि नाम परिवर्तित दिलमाया न्यायको प्रखाईमा छन् । उनी सँग एक जना प्रहरी जवानले अनैतिक सम्बन्ध राखी, दुई महिनाको छोरी हुक्याईरहेकी छन् । अहिले प्रहरी जवान सम्पर्कमै छैनन् ।

उनले भनिन्, ‘म कहाँ गएर न्याय पाउने, न्यायका लागि धेरै प्रयास गरे, अहिले केही दिन पर्खनुहोस् हामी बोलाउँछौ भनेर प्रहरी कार्यालयले भनेको छ ।’ भाडाको घरमा बसेकी दिलमाया अहिले कहाँ गएर न्याय पाउँछु भन्दै सरकारी कार्यालयको ढोका ढकढक्याई रहेकी छन् । उनी जस्तै बारेकोट गाउँपालिका २ रोकायगाउँकी तोल्मीसरा नेपालीका श्रीमानले दोस्रो विहे गरेर फरार छन् ।

न्यायका लागि प्रहरी चौकी धाईरहेकी छन् । तर कसैले उनको पीडा सुनेका छैनन् । उनले भनिन्, ‘खै कसलाई छुन्छ महिला दिवसले हामी जस्ता पीडामा रहेका महिलालाई छुने कहिल्यै होइन् ।’ उनीहरु त केही उदाहरण पात्र मात्र हुन् ।
अधिकांश महिलाहरु न्यायको प्रखाईमा रहेका छन् । उनीहरु आफनै आफन्त, छरछिमेक र श्रीमान बाटै हिंसाको शिकार भईरहेका छन् । प्रत्येक वर्ष दिवसका दिन मात्र महिला अधिकारका नाराहरु गुन्जिने गरेको र अन्य दिनहरुमा महिला अधिकारकर्मीहरु नै मौन बसेको पीडित महिलाहरुको गुनासो छ ।

प्रत्येक बर्ष महिला दिवसको अवसरमा पालिका केन्द्र र सदरमुकाममा नारा गुन्जिन्छन्, तर विकट वस्तीका महिलाहरुलाई दिवसले छुदैन् । उनीहरु उल्टै घरेलु हिंसा, श्रीमानको यातना, बलात्कार जस्ता जघन्य अपराधका शिकार भईरहेका छन् । दिवसका दिन मात्र महिला अधिकारका कुरा नभई अन्य दिनहरुमा समेत महिलाका सवालहरु उठ्नुपर्ने भेरी नगरपालिका ०१ रावतगाउँकी पुतली विकले बताईन् । ग्रामीण भेगमा मादक पदार्थ सेवन गरी श्रीमानले धेरै महिलाहरुलाई कुटेर घाईते बनाएका छन् ।

दिवसका दिनमा मात्र महिलाका कुरा उठाउने सरोकारवालाहरुले अन्य समयमा चुप लागेर बस्नु महिला अधिकारको सफल पक्ष नभएको कुशे गाउँपालिका — ४ समाईलाकी पार्वती विकले बताईन् । प्रहरी कार्यालयको तथ्यांकमा महिला हिंसा तथा घरेलु हिंसाका घटनाहरु बढिरहेका छन् । दिवसका दिनमा मात्र नभई अन्य वेला पनि महिला अधिकारका कुरा उठाउनु, उनीहरुको समस्या समाधानका लागि पहल गर्नु आजको आवश्यकता देखिन्छ । सरकारी तथा गैरसकारी संस्थाहरुले महिला माथि हुने हरेक खाले विभेदको चिरफार गरे सभ्य समाजको कल्पना गर्न सकिन्छ ।

दिवसले छुदैन् ग्रामीण बस्तीका महिलालाई
बारेकोट गाउँपालिका —२ रोकायगाउँकी चन्दाकला नेपालीलाई महिला अधिकार केहो भन्ने थाहा छैन् । महिला हिंसा भएपछि कहाँ जाने, कसलाई भन्ने समेत थाहा छैन् । गाउँमा मादकपदार्थ सेवन गरी पतिले पत्नीलाई पटक पटक धम्काउने, दाउराले कुट्ने, श्रीमति माइतीमा बस्ने,बालबालिकाहरुको विचल्ली भएको थुप्रै उदाहरण छन् । सानै उमेरमा हुने बालविवाहले समेत महिलाहरु घरेलु हिसांको शिकार बनिरहेका छन् । सोही गाउँकी धनकला नेपालीका श्रीमानले माद्यक पदार्थ सेवन गरी टाउकोमा हिक्र्याउँदा अहिले पनि पूर्णरुपमा निको भएको छैन् ।

उनले भनिन्, ‘म घरमा एक्लै बसिरहेकी थिए, उहाँले माद्यकपदार्थ सेवन गरी आउनुभएको रहेछ, एक्कासी टाउकोमा हिक्र्याउनुभयो, अहिले पनि मेरो स्वास्थ्यमा सुधार भएको छैन् ।’ गाउँघरमा चाडपर्वहरुमा समेत बढी महिला हिंसाका घटनाहरु हुने गरेको स्थानीयहरु बताउँछन् । गाउँमा प्रहरी चौकी छैन्, गाउँभरिका पुरुषहरु जम्मा हुने जुवातास खेल्ने, मादकपदार्थ सेवन गरी वेलुका महिलाहरुलाई मानसिक, शारीरिक, सामाजिक हस्तक्षेप गरिरहने उनको भनाई छ ।

नेपाल सरकारले पनि यस मार्च ८ लाई प्रत्येक बर्ष दिवसमा रुपमा मनाउने गरेको छ । विभिन्न एनजिओ,आई.एनजिओ तथा सरकारी निकायले लाखौ बजेट छुट्याएर दिवसलाई मनाउने गरेका छन् । तर चन्दकला र धनकला जस्ता हजारौ महिलाहरुलाई दिवसको समेत थाहा छैन् । गाउँका अगुवा तथा पढेलेखेका महिलाहरुले मात्र दिवस मनाउने गरेका उनीहरुको गुनासो छ । ‘हामी विहानै उठी वनजंगल जानुपर्छ, दिनमा खान खाने गरी आउँछौ, फेरी जंगलतिर धाउनुपर्छ, हामीलाई कुनै थाहा नै हुदैन् ।’

जाजरकोटका अधिकांश ग्रामीण क्षेत्रका दिवसले नछुने महिला अधिकारकर्मीहरु बताउँछन् । यहाँका महिलाहरु काम गर्न नेपालका अधिकांश जिल्ला सहित भारतका ठाउँठाउँमा जान वाध्य छन् । अशिक्षा, गरिवी, पछौटेपनका कारण यहाँका महिलाहरु माथि हुने हिंसा समेत रोकिएको छैन् । प्रत्येक बर्ष जिल्ला प्रहरी कार्यालयमा महिला हिंसाका उजुरीको बढ्ने गरेको प्रहरी कार्यालयको तथ्यांकमा छ । महिलामाथि हुने हिंसा रोकिएका छैनन् । बरु प्रत्येक वर्ष बढ्दै गएका छन् । पछिल्ला वर्षहरूमा यो समस्या थप जटिल बन्दै गएको छ ।

सबै खाले महिला हिंसा अन्त्यका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले अभियानकै रूपमा थुप्रै कार्यक्रम गर्दै आएपनि यसको न्यूनीकरणमा चुनौती देखिएको छ । प्रहरीमा आएका हिंसाका घटनाको संख्या हेर्दा अवस्था भयावह छ । समाज दिन प्रतिदिन आधुनिकतातर्फ उन्मुख भइरहेका बेला अनेक बहानामा महिलाहरू हिंसाको सिकार बन्दै आएका छन् ।

भूकम्पपछि झनै असुरक्षित महिला
भुकम्पले घर भत्किएपछि नलगाड नगरपालिका ७ कि नाम परिवर्तित राधिकाको परिवार घर नजिकै त्रिपालमा बस्दै आएको थियो । त्यस दिन श्रीमान घरमा थिएनन् । कामको सिलसिलामा बाहिर गएका थिए । सोही मौका छोपी नलगाड नगरपालिका ७ कि २१ बर्षिया एक महिला गत कार्तिक २६ गते त्रिपालमा सुतिरहेको बेला राती बलात्कृत भईन् । बलात्कार गरेको आरोपमा स्थानीय गोपाल बादीलाई घटनाको भोली पल्टै प्रहरीले पक्राउ ग¥र्याे । जर्वजस्ती करणी गरेको अभियोग सहित प्रहरीले जिल्ला अदालतमा मुद्धा दर्ता गराएको छ ।

उनी अहिले पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा रहेका छन् । छेडागाड नगरपालिका ५ की १३ बर्षिया एक बालिका गत मंसिर २३ गते बलात्कारमा परिन् । गोठालो गएको बेला जंगलमा उनी दिउसै बलात्कृत भईन् । बलात्कार गरेको अभियोगमा छेडागाड नगरपालिका ४ का २२ बर्षिय दीपक बुढा पक्राउ परेका छन् । जर्वजस्ती करणी गरेको अभियोगमा उनी विरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । उनी पुर्पक्षका लागि थुनामा छन् ।

घटना पछि जिल्ला अस्पताल जाजरकोटमा रहेको एक द्धार संकट ब्यवस्थापन केन्द्र (ओसीएमसी)ले उनलाई मनोपरामर्श सेवा प्रदान गरिरहेको छ । शिवालय गाँउपालिका ५ की १७ बर्षिया एक बालिका आफन्तबाटै बलात्कृत भईन् । ७१ बर्षिय हजुर बुवा नाता पर्ने जेष्ठ नागरिकबाट पटक पटक बलत्कृत हुँदै आएकी ति बालिकाको पेटमा १५ हप्ताको गर्भ रहेको पत्ता लाग्यो । राम्रो सँग बोल्न नसक्ने सुस्त मनस्थितिकी ति बालिकाको हाल गर्भपतन गरिएको छ । उनी अहिले स्वास्थ्यकर्मीको निगरानीमा छन् । ओसिएमसीका मनोपरामर्शकर्ताले परामर्श सेवा दिईरहेका छन् । जर्वजस्ती करणी गरेको अभियोगमा ७१ बर्षिय ति जेष्ठ नागरिक गत कार्तिक ३० गते पक्राउ गरि पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष रोकाले जानकारी दिए ।

उनी विरुद्ध जजक सम्बन्धी मुद्धा जिल्ला अदालतमा दर्ता भैसकेको छ । बारेकोट गाँउपालिका ४ कि ३० बर्षिय एक महिला स्थानीय धामीबाट बलात्कृत भईन् । सञ्चो नभएपछि झारफुकका लागि धामी काहाँ गएकी महिलालाई धामीले भोली फेरी आउनु भनेर बोलाए । ति महिला भोलीपल्ट फेरी धामीको घर (अस्थायी टहरामा) गएको बेला बलत्कृत भईन् । गत मंसिर १७ गते भएको उक्त घटना गाउँमै मिलाउन निकै कोशिस गरियो तर गाउँमै केही रकम लेनदनेमा गाँउमै मिल्ने दवावका विच प्रहरीमा उजुरी परेपछि प्रहरीले मंसिर २४ गते स्थानीय ५२ बर्षका जसे तिरुवालाई पक्राउ गरेर जर्वजस्ती करणमा मुद्धा दर्ता गराएको छ । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । यी केही उदाहरण मात्र हुन् ।

जाजरकोटमा भुकम्प पछि यस्ता घटना बढ्दै गएका छन् । प्रहरीका अनुसार जिल्लामा भुकम्प पछि ८ ओटा जर्वजस्ती करणीका मुद्धा र ७ ओटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । तर जिल्ला अस्पतालमा रहेको एकद्धार संकट ब्यवस्थापन केन्द्र (ओसिएमसी) का अनुसार भुकम्प पछि ११ वटा जर्वजस्ती करणी, ३ वटा यौन दुब्र्यवहार, १० वटा कुटपिटका, २४ वटा खानलगाउन नदिएको (स्रोतसाधनबाट बञ्चित गरेको) र १६ वटा मानसिंक हिंसा सम्बन्धी घटना दर्ता भएका छन् । शारीरिक तथा मानसिक हिंसामा परेका, यौन दुब्र्यवहारमा परेका र जर्वजस्ती करणीमा परेका महिला तथा बालबालिकाहरुको सहायतका लागि स्थापना भएको ओसिएमसीमा भुकम्प पछि आउनेको संख्या बढ्दै गएको मनोपरामर्शकर्ता प्रमिला आरसीले बताइन ।

ओसिएमसीमा आउने पीडितलाई परामर्श सेवा, उपचारको ब्यवस्था, आतेजाते यातायात खर्च लगायतका सेवा उपलब्ध भैरहेको उनको भनाई छ । भुकम्प पछि महिला तथा बालबालिका थप असुरक्षित हुँदै गएको अधिकारकर्मी शोभा सिंहले बताईन । भुकम्प पछि संरक्षणको पाटो कमजोर हुँदा बालबालिका र महिलाहरु शारीरिक तथा मानसिक हिंसाको शिकारमा परेको उनको भनाई छ । भुकम्पले आर्थिक सामाजिक अवस्था र जनजीविकाका क्षेत्रमा गंभिर असर पारेको छ । त्यसको प्रभाव महिला र बालबालिकाको सुरक्षामा समेत चुनौतिको रुपमा देखापरेको छ उनले भनिन–‘यस विषयमा सरोकारवाला निकाय गंभिर हुन जरुरी छ ।’

अरु बेला भन्दा विपद र त्यसपछिको अवस्थामा जर्वजस्ती करणी, यौनदुब्यर्वहार, घरेलु हिंसा, लुटपाट लगायतका घटना घटन सक्ने भन्दै सुरक्षाकर्मीलाई चनाखो रहन निर्देशन दिईएको जिल्ला प्रहरी प्रमुख रोकामगरले जानकारी दिए । उनले जर्वजस्ती करणी र घरेलु हिंसाका घटना बढ्दै जान थालेपछि प्रहरीलाई गस्तीमा समेत पठाउने गरिएको बताए । भौगोलिक विकटता, प्रहरी युनिट र दरबन्दीको अभाव लगायतका चुनौतिका कारण समस्या भएको उनको भनाई छ ।

अझै पाउँदैनन् महिलाले समान ज्याला
जिल्लामा मजदुरी गर्ने महिलाको संख्या बढेको छ । अधिकांश पुरुष कामको खोजीमा भारत तथा खाडी मुलुक जाने भएकाले मजदुरी गर्ने काममा महिलाहरू नै अग्रसर हुन थालेका हुन् । यहाँ विकास निर्माणका कामका पनि महिलाहरु सहभागी हुने गरेका छन् ।

घरभित्रको काममा सीमित महिलाहरू पछिल्लो समय दैनिक ज्यालादारी मजदुरीमा काम गर्ने व्यस्त छन् । तर पुरुष जतिकै काम गरेपनि महिलाहरुले श्रम गरे बापत पाउने ज्यालामा भने एकरुपता छैन । भनिन्छ, नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् ।

नारी विनाको समाजको कल्पना गर्न सकिँदैन् । संविधानमा पनि महिला र पुरुष बराबर भनि लेखिएको छ । संविधानमा लेखिएको भएपनि महिलाहरु प्रत्यक्ष होस् या अप्रत्यक्ष रुपमा अहिले पनि पछाडि नै पारिएको छ । घरायसी काम होस् या विकास निर्माणको काम होस् महिलाहरु अहिले पनि पछाडि नै पारिएका छन् । श्रमको ज्यालामा महिलाहरुलाई विभेद छ । महिलाहरुले पनि पुरुष जत्तिकै समान काम गरेपनि पुरुषको तुलनामा ठेकेदारहरुले पारिश्रमिक कम दिने गरेका महिलाहरुले गुनासो गरेका छन् । रोजगारदाता कम्पनीहरूले महिलालाई दोस्रो प्राथमिकतामा राख्छन् । पुरुष जत्तिकै दैनिक आठ घन्टा काम गर्दा पनि पारिश्रमिक पाउँदा भने पुरुषको तुलनामा २ सय रुपैयाँ सम्म कम पारिश्रमिक पाउँदै आएको बारेकोट गाउँपालिका २ रोकायगाउँकी मिना विकले दुखेसो पोखिन् ।

बढ्दो शहरीकरण र श्रमबजारमा पुरुषसँगै महिलाहरूको संख्या बढिरहेको अवस्थामा ज्यालामा हुने भेद फरक हुन नहुने श्रमिक महिलाहरूको भनाई छ । मिस्त्रीभन्दा मजदुरको पारिश्रमिक कम हुने र आफूहरुलाई पनि उनीहरु बराबरकै पारिश्रमिक हुनु पर्ने अर्की स्थानीय कालिका रोकायको भनाई छ । ‘काम गर्ने बेला पुरुषको भन्दा बढि गर्छौ, तर ज्यालामा भने हामीलाई विभेद ग¥यो,’ उनले भनिन्, ‘मजदुरी गरेर साँझ बिहान खानाको जोहो गर्छौ, मजदुरी गरेर नै परिवारको खर्च र छोराछोरीको पढाई खर्च यसैबाट धानिरहेका छौं तर, पुरुषको तुलनामा कम पैसा पाउँदा निराश छन् ।

दैनिक ज्यालामजदुरी गरेर जीविको पार्जन महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका उनीहरुको छ । लैङ्गिक समानताका लागि नियमहरू बनेका भए पनि तिनको कार्यान्वयन प्रभावकारी नभएको विज्ञहरू बताउँछन् । महिला सशक्तिकरणबारे जति चर्चा भएपनि यथार्थमा भने महिलाका लागि खासै धेरै परिवर्तन नभएको भन्दै महिलाहरूको भनाई छ । महिलाहरू शारीरिक रूपमा कमजोर हुने र त्यसैले कम ज्याला दिइने तर्क गलत रहेको उनीहरू बताउँछन् । ज्याला विभेदमा पनि पहिलेको तुलनामा अहिले धेरै परिर्वतन भइसकेको अवस्था छ ।

ठेकेदारमा भने पहिलेदेखि नै चलेको चलन भएको भन्दै महिला मजदुरलाई पुरुषको तुलनामा कम पारिश्रमिक दिँदै आएको स्वीकार गर्दछन् । ज्यालामा समानता, महिला भेदभाव न्यूनीकरण, आवश्यक कानुन निर्माणमा सरकारले काम गरिरहेको सरकारी निकायहरु बताउँने गरेका छन् । महिलाले गर्न नसक्ने काम मात्र भने कहिकतै भेदभाव त्यो पनि श्रमिकहरूकै मञ्जुरीमा रहेको पाइएको छ ।

सैद्धान्तिक र व्यवहारिकमा केही फरक पाइएमा मन्त्रालयले उजुरीको आधारमा न्याय दिलाउन तयार रहेको श्रम तथा रोजगार मन्त्रालय बताउँदै आएको छ । ज्यालामा हुने विभेद हटाउन सरकारको श्रम प्रशासन प्रभावकारी हुन आवश्यक रहेको श्रम अधिकारकर्मीहरू बताउँछन् यसका लागि उचित कानुन निर्माण हुन जरुरी रहेको छ । अहिलेको कानुनले अनौपचारिक क्षेत्रलाई नसमेटेको बताइएको छ ।

तपाईको प्रतिक्रिया