जाजरकोट । नलगाड नगरपालिका वडा नं. १ पाली गाउँ । गाउँ माथि ठूलो पहाड । मिलेको वस्ती । त्यही वस्तीमा बस्छन् ६१ बर्षिय सेते पुन । पुनलाई आजभन्दा ५÷६ बर्ष अघि जति पहिरोको चिन्ता हुन्थ्यो, त्यो भन्दा अहिले तेब्बर पहिरोको चिन्ता छ । गत कार्तिक १७ जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ म्याग्नेच्यूडको भूकम्पले गाउँ माथिको पहाड चिराचिरा परेको छ ।
‘पहाड कतिवेला खस्छ भन्ने चिन्ता लाग्छ, पानी परेपछि मन कापेरै हामी बस्छौं, उनले भने, ‘अहिले अस्थायी टहराको बसाई छ, टहरा भित्र बस्छौं, कतिवेला मरिने हो थाहा नै छैन् ।’ भुकम्पले घर भत्किएपछि अहिले अस्थायी आवासमा बस्दै आएका छन् । तर त्यही आवासमा पनि उनले चैनले सुत्न सक्दैनन् । पूर्व वडाध्यक्ष हिरालाल पुन बस्ती स्थान्तरणको पहल हुन नसकेको बताउँछन् । एकातिर घर भत्किएको छ, अर्कोतिर गाउँ माथि अजंगको पहाड छ ।
पाली गाउँको सिरानमा रहेका राता पर र थुम्केवाजा भन्ने पहाडका थुम्का चिरा परेका छन् । ति पहाड जतिवेला पनि खस्न सक्छन् भन्ने डर लाग्छ उनले भने ‘रातभर निदाउनै सकिदैन । सुतेको बेला पहाड खस्छ कि भन्ने चिन्ताले सताईरहेको छ , अहिले पछिल्लो समय राम्रो सँग सुत्न सकेको छैन । आफ्नो भन्दा छोरा नातीको चिन्ता लाग्छ । निन्द्रा नै हरायो ।’
भुकम्पले लेक, औल र गाँउमा रहेका ६ वटा घर भत्किएका छन् । उनले सरकारलाई विज्ञ पठाएर स्थलगत अध्ययन गर्न माग गरे ।
पाली गाँउको सिरानका थुम्का र बस्ती चिराचिरा परेको छ । पहाडको काखमा रहेको पाली गाँउ भुकम्प पछि निकै असुरक्षित छ । ‘सवै त्रासमा छौ, स्थानीय नरजीत रानाले भने, ‘भुकम्प पछि हाम्रो भोक निन्द्रा सवै हरायो । गाउँ तल छ माथि डाँडो भाँसिएको छ चिराचिरा परेको छ । बर्षात हुन थालेको छ । चिरा परेको भागमा पानी परेपछि पहिरो आउन सक्ने त्रासमा छौ । करिव ६० घरधुरी रहेको पाली गाँउका सवै त्रासमै रहेको उनले सुनाए ।
अस्थायी आवासमा बसेर पनि हामी सुरक्षित हुने अवस्था छैन । माथिबाट पहाड खस्ने डर छ उनले भने ‘यो बस्ती यहाँ बस्न मिल्छ कि मिल्दैन । यस ठाँउको भौगर्भिक अध्ययन गर्न आवश्यक छ । यदि जोखिम यसरी कायमै रहने हो भने बस्ती नै सार्नु पर्ने हुन्छ । यसको लागि सरकारले बेलैमा केही पहल गरोस ।’ जाजरकोट भूकम्पका पराकम्पन आईरहेका छन् । जमीन हल्लिरहेको छ । जमीन हल्लिदा माथी पहाडबाट माटो खसेको देखिन्छ त्यही भएर पनि झन स्थानीय आत्तिने गरेको उनले सुनाए ।
त्यस्तै, नलगाड नगरपालिका १ चिउरी गाँउ जहाँ भुकम्पले १३ जनाको ज्यान लिएको थियो । त्यो बस्ती पनि निकै जोखिममा रहेको स्थानीयको भनाई छ । यस अघि बर्षातको बेला यो गाँउ केही भासिएको थियो । अहिले पनि ठाँउठाँउमा चिरा परेको छ । सडक छेउछाउमा पनि चिरा परेका छन् । माथि पहाड छ तल गाँउ छ । पहाडको टुप्पो पनि चिरा परेको छ । भुकम्पको सानो धक्का जाँदा पनि ढुङ्गा खस्ने गरेका छन् । जसले गर्दा हामी निकै असुरक्षित भएको महसुस गरिरहेका छौ स्थानीय विमल विकले भने, ‘ अस्थायी आवासमा बसेर पनि सुरक्षित छैनौ ।
फेरी भुकम्प गयो भने पहाड नै खस्छ कि भन्ने डर लाग्छ । चिन्ताले रातको निन्द्रा नै हरायो ।’ यस अघि पनि बर्षातको बेला गाँउ भासिन थालेको भन्दै बस्ती नै स्थानान्तरणका लागि आवश्यक पहल गर्न भन्दै स्थानीय तह बाट जिल्ला विपद व्यवस्थापन समिति हुँदै गृह मन्त्रालयमा माग गरिएको थियो । तर सुनुवाई नहुँदा स्थानीय जोखिम मोलेर बस्न बाध्य भएका छन् । करिव दुई सय घरधुरी रहेको चिउरी गाउँमा पहिरो खस्ने र गाउँ नै बगाउने डर उत्तिकै रहेको उनले बताए ।
त्यसैगरी, नलगाड नगरपालिका ७ खेतगैरी गाँउ पनि निकै जोखिममा रहेको स्थानीयको भनाई छ । बस्ती तल छ । माथि भिरालो ठाँउ छ । भुकम्पले जमीन फुटेर चिरा परेको छ । ढुङ्गा र माटो अहिले पनि झरिरहेको छ अस्थायी शेर बहादुर वलीले भने ‘चिन्ताले राती निन्द्रा नै लाग्दैन । पालो गरेर दिउँसो सुत्ने गरेका छौ । कार्तिक १७ को भुकम्पले बचाएपनि जमीन हल्लिदा चिन्ता लाग्ने गरेको छ । अस्थायी आवासको बसाई छ माथिबाट पहाड खस्ने हो कि भन्ने चिन्ता लाग्छ ।’
उनले सरकारले भुकम्पले गर्दा जोखिममा रहेका गाँउहरुको भौगर्भिक अध्ययन गर्नुपर्ने बताए । विज्ञ सहितको टोलीले यस्तो जोखिम पुर्ण गाँउको स्थलगत अनुसन्धान गरेर बस्न नमिल्ने भए बस्ती स्थानान्तरण गरि पुर्नवासको ब्यवस्था गर्नुपर्ने माग गरे ।
वडाध्यक्ष धर्मेन्द्र महरले केही दिन अघि भौगर्भिक अध्ययनका लागि विज्ञ सहितको टोली आएको र उनीहरुको प्रतिवेदन नआएको बताए । प्रतिवेदन आएपछि मात्रै बस्न मिल्ने र बस्न नमिल्ने भन्न सकिने बताए । वडा भित्रका पाली, चिउरी, करुवा, कट्के, खेतगैरी लगायतका गाउँ भुकम्पपछि थप जोखिममा रहेकाले भौगर्भिक अध्ययनका लागि आवश्यक ब्यवस्था मिलाई दिन संघीय सरकार सँग माग गरिएको बताए । ‘म आफै काठमाडौं पुगेर प्रधानमन्त्रीलाई ध्यानाआकर्षण पत्र बुझाएको छु, उनले भने, ‘वस्तीमा निकै जोखिम छ भनेर नगरप्रमुख सहितको टोलीले बुझाएको हो, भौगर्भिक विज्ञ सहितको टोली आएको छ पहल भईरहेको छ ।’
हाम्रो पहुँच संवाददाता । २२ फाल्गुन २०८०, मंगलवार